साउदीले नेपालीभन्दा सस्तोमा बंगलादेशका कामदार लिने

उत्तम काप्री/रवीन्द्र शाही

६ वर्षदेखि साउदीले बंगलादेशबाट कामदार लिन रोक्का गरेको निर्णय पुनर्विचार गर्दै पुनः लिने प्रक्रिया थालेको छ। यो निर्णयसँगै अब नेपालभन्दा बंगलादेशबाट सस्ता कामदार साउदी अरब जाने छन्। यसबाट नेपालीले पाउँदै आएको रोजगारी  संकटमा पर्ने निश्चित भएको छ।

interiorsएक साता अगाडि मात्रै बंगलादेशका प्रधानमन्त्रीले साउदीका राजकुमारसँग भेट गरी यो प्रक्रिया सुरु गर्ने निर्णय गरेका हुन्। दुई देशको उच्चस्तरीय छलफसँगै अब साउदी अरवमा रोजगारीका लागि बंगलादेशका कामदार श्रम स्वीकृति लिएर जान पाउने छन्।  साउदीले नेपाली कामदारको सट्टा बंगलादेशबाट बढाउँदै लानेछ। साउदी अहिले नेपाली कामदारको प्रमुख गन्तब्य हो। हाल त्यहाँ ५ लाखको हाराहारीमा नेपाली कामदार छन्। यो निर्णयले अब वैदेशिक रोजगारको क्षेत्र पूर्णरुपमा ध्वस्त हुने अवस्था आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ बताउँछन्। अझै पनि सरकारले समयमै त्यसतर्फ ध्यान दिने हो भने नेपालीले पाउँदै आएको रोजगारीमा केही समस्या नआउने गुरुङले बताए।सरकारले सरोकारवालाहसँग छलफल नै नगरी हचुवाको भरमा ल्याएको फ्रि भिसा तथा टिकटकै कारण अहिलेको समस्या सिर्जना भएको म्यानपावर व्यवसायी बताउँछन्। व्यवसायीले पनि फ्रि भिसा तथा टिकटको स्वागत गर्दागर्दै सरकारले एकपक्षीय लागू गरेर नै समस्या आएको महासचिव गुरुङले सेतोपाटीसँग बताए।
नेपालले मलेसियाको रोजगारी गन्तव्य पनि लगभग गुमाइसकेको छ। साउदीले पनि बैधानिक रुपमा बंगाली कामदार लिने भएसँगै नेपालीले पाउँदै आएको रोजगार संकटमा पर्ने गुरुङको तर्क छ।‘साउदी तथा मलेसियाले बंगलादेशबाट कामदार लैजानु स्वभाविक हो’ उनले भने ‘नेपालीलाई मलेसियामा न्युनतम ३ सय डलर र साउदीमा ८ सय प्लस २ सय रियाल दिनुपर्ने अवस्थामा बंगलादेशीलाई क्रमशः २ सय ५० डलर र ७ सय रियाल दिँदा पुग्छ।’
नेपाली कामदारले साउदी अरबमा पाइरहेको रोजगारीको अवसर संकटमा पर्नसक्ने वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन्। ‘हाम्रो लागि जुनसुकै देशमा पनि अहिले बंगलादेश प्रतिस्पर्धी बनेको छ। मलेसियाले २००९ देखि बंगलादेशबाट कामदार लिन रोक लगाएको निर्णय १५ दिन अगाडि मात्रै परिर्वतन गर्दै लिने निर्णय गरिसकेको छ’ उनले भने।
यसको लागि सरकारले समयमै कदम चाल्न नसके देशले ठूलो आर्थिक संटक बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाई छ। नेपाल सरकारले प्रक्रिया पुरा नगर्दै लागू गरेको फ्रि भिसा तथा टिकट र मलेसियाको आन्तरिक समस्याले पनि गत आर्थिक वर्ष मात्रै  मलेसिया जाने नेपाली कामदारको संख्यामा ७० दशमलव ५ प्रतिशतले कमी आएको थियो। तर समग्र वैदेशिक रोजगारमा भने १८ प्रतिशतले कमी आएको थियो।
मलेसियाको गन्तव्य खुम्चिँदा गत वर्ष मात्रै नेपालबाट १ लाख ५० हजार भन्दा बढी रोजगारीको लागि साउदी पुगेका थिए। यो नै नेपाली कामदारको लागि प्रमुख गन्तब्य बनेको थियो। नेपाल सरकार र व्यवसायीका कारण बंगलादेशका कामदारले फाइदा लिएको पण्डित बताउँछन्।
नेपाल सरकारले साउदीसँग दुई पक्षीय सम्झौता (एमओयू) गर्न चाहे पनि कामदारलाई सेवा सुविधा बढी दिनुपर्ने अवस्था आएकाले उ पन्छिएको पण्डित बताउँछन्। त्यस्तै महिला घरेलू कामदारको विषयलाई पनि सँगसँगै अगाडि बढाउने नेपालको निर्णयले पनि समस्या बल्झिएको पण्डित बताउँछन्।
नेपालीलाई राम्रा सेवा सुविधा दिँदै आएको साउदीको अलमराई कम्पनीले पनि अहिले नेपालबाट कामदार लैजान छोडिसकेको उनले सेतोपाटीसँग बताए। नेपालबाट कामदार लैजाँदा रोजगारदाता कम्पनीले टिकट, भिषा शुल्क समेत बेहोर्नु पर्दा तुलनात्मक रुपमा महँगो पर्ने भएकोले बंगाली कामदार लिने निर्णय भएको हुनसक्ने उनको बुझाई छ। पछिल्लो समय साउदी आफैँ आर्थिक संकटमा फसेसँगै सस्तोमा काम गर्ने कामदार लैजाने गरी बंगलादेशसँग लिने निर्णय गरेको हो। अझै पनि काममा लगनशील भएका कारण अधिकांश देशले नेपाली कामदारको माग गर्ने भएकाले सरकारले बेलामै कदम अगाडि बढाउनु पर्ने उनको तर्क छ।
वैदेशिक रोजगारका लागि दिर्घकालीन सोचाई नहुनु र सरकारले कति हस्तक्षेप गर्ने र कतिलाई इजाजत दिने भन्ने कुरा अझै अन्यौलमा रहेको उनले बताए। अझै केही वर्ष बैदेशिक रोजगारीमा नेपालीलाई ब्यवस्थित र सुरक्षित गरेर पठाउनु पर्ने उनको तर्क छ।
‘वार्षिक करिव ५ लाख श्रम बजारमा प्रवेश गर्ने युवालाई रोजगारी दिन सक्ने अवस्था छैन’, उनले भने ‘त्यसैले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तिर लागौँ।’
जुन म्यानपावरले राम्रो काम गरेको छ त्यसलाई कायम राखेर प्रतिवर्ष इजाजत नविकरण मात्रै गर्नेलाई खारेज गर्नुपर्नेमा पनि उनले जोड दिए। विभागमा पर्ने उजुरी र प्रकृतिलाई पनि हेरेर म्यानपावर छनौट गर्न सकिने उनको भनाई छ। एकातिर गन्तव्य मुलुकसँग श्रम सम्झौता नहुनु र अर्कोतिर प्रतिस्पर्धी मुलुकहरु थपिँदै गर्दा नेपालको रोजगार गन्तव्यमा संख्यात्मक हिसाबले कमी आउन सक्ने वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुधन पुडासैनी बताउँछन्।
‘उद्देश्य जस्तोसुकै भएपनि वर्तमानमा साउदी अरब नेपालको सबैभन्दा ठूलो रोजगार गन्तव्य हो’ पुडासैनीले सेतोपाटीसँग भने, ‘त्यसैले हामीले आफ्नो पक्षलाई बलियो पार्नुको विकल्प छैन।’ श्रम बजारमा प्रतिस्पर्धी मुलुकको प्रवेश हुनेवित्तिकै स्वभाविक रुपमा प्रतिस्पर्धा बढेर बार्गेनिङ हुने भएकाले नेपालको ठूलो रोजगार गन्तव्य साउदी धरापमा पर्न लागेको उनको भनाई छ।
पुडासैनी साउदीमा नेपाली कामदारले पाएको दुःखअनुसार गन्तव्य पनि सोच्नुपर्ने भएकाले नयाँ मन्त्री आएपछि यसबारे धारणा बनाएर अगाडि बढ्ने तयारीमा आफूहरु रहेको बताउँछन्।
‘बारम्बार जसरी साउदीमा नेपाली कामदारले समस्या भोगिरहेका छन्, त्यहाँ कुन कुन कम्पनीमा कामदार पठाउने त्यो सोच्नुपर्ने समय भएको छ’ उनले भने, ‘संख्या र प्रतिस्पर्धा भन्दा पनि हाम्रा नागरिकको समस्या ठूलो हो।’
सरकारको प्राथमिकता संख्या भन्दा पनि गुणस्तरमा भएको कारण सुरक्षित र मर्यादित बैदेशिक रोजगारी सिर्जना गर्नेतर्फ प्रयास जारी रहने सरकारी अधिकारी बताउँछन्। फ्री भिसा र टिकट नीतिका कारण रोजगारीको अवसर गुम्ने जोखिम बढेको कुरामा भने उनीहरु सहमत देखिँदैनन्।
सरकारको नीति वैदेशिक रोजगारीलाई जोखिममा पार्नुभन्दा दक्ष कामदार उत्पादन गरेर सम्मानित र उच्च आय हुनेगरी कामदार पठाउने वातावरण बनाउने रहेको बताउँछन् पुडासैनी।
 ‘वैदेशिक रोजगारीलाई प्रबद्र्धन भन्दा पनि मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने हाम्रो लक्ष्य छ’ उनले भने। अब सरकारले श्रम सम्झौता नभएका मुलुकसँग सम्झौता गर्नुपर्नेमा उनको जोड छ।
साउदी सरकारले सीमा क्षेत्र र विश्वबजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण विगत ८/९ महिनादेखि आर्थिक संकट भोगिरहेको छ। आर्थिक संकटसँगै सीमा क्षेत्रको सुरक्षाकै लागि सरकार सैन्य तयारीमा जुट्दै गर्दा विकासको बजेट पनि कटौती भएको छ। संसारमा कूल ग्रार्हस्थ उत्पादनको सबैभन्दा बढी हिस्सा हतियारमा खर्च गर्ने मुलुक साउदी बनेको छ।विकास वजेट कटौती भएसँगै विनलादेन जस्ता ठूला कम्पनी पनि बन्द भइसकेका छन्। यसले गर्दा साउदीको रोजगारी संकटमा परेको हो।


Facebook Comment


No ads found for this position