आकाश वर्षेपछि नुहाउने तर्खर गर्छन ठूलापोखरीका स्थानीय
गणेश पौडेल, पर्वत । ठूलीपोखरी–९ पर्वतका अर्जुन पौडेल आकाशबाट पानीका थोपा पर्न थालेपछि नुहाउनका लागि आवश्यक पर्ने सरसामान तयार गर्नुहुन्छ । कतिबेला पानी पर्ला र नुहाउन पाईएला भनेर बसेका पौडेलले आकाशबाट पानी बर्षेसँगै घरको बलेनीमा बनाईएको धारोमा भाँडा थापेर नुहाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।
घरमै किराना पसल खोलेर बसेका पौडेललाई नुहाउनका लागि एक घण्टा तलको पँधेरोमा पुग्न फुर्सद नहुँदा आकाशको पानीको भर पर्नु परेको हो । वर्षा याममा त यो हालत छ उहाँले भन्नुभयो–हिउँदमा त काकाकुल भएरै बस्नुपर्ने बाध्यता छ ।
पौडेल मात्रै होईन ठूलीपोखरी गाविसका एक सय घरका बासिन्दाहरूले वर्षौंदेखि यहि नियती भोग्दै आउनु परेको छ ।
खानेपानीको स्रोत गाउँमा नहुँदा ठूली पोखरी गाविसका चोरकाटे, भन्ज्याङ, घोराचौर लगायतका स्थानमा रहेका वासिन्दाहरु हिउँद, वर्षा नै खानेपानीका लागि एक घण्टा लगाएर खोरियापनी पुग्नुपर्ने बाध्यता रहेको छ । वर्षायाममा आकाशबाट पानी आए गाईबस्तुलाई खुवाउन प्रयोग गर्ने भएपनि लुगाधुने, नुहाउने तथा लगायतका काममा समेत एक घण्टा लगाएर हिँड्ने गरेकाछन् ।
त्यस्तै ठूली पोखरी, पैयुँस्वाँरा र रोहोटे लगायतका टोलमा वर्षाका चार महिना बाहेक अरु समय पानीको हाहाकार हुने गर्छ । नजिकमा पानीको स्रोत नभएकाले यहाँका बासिन्दाको अधिकांश समय पानी ल्याउनमै बित्ने गरेको छ । घरमा केटाकेटी र बुढाबुढी भएकाले पानी बोक्नमा कमाउने उमेर समूहका महिला र पुरुषहरू नै खट्ने गरेका छन् ।
‘घरको अरु कुनै काम गर्न भ्याईँदैन’ स्थानीय सुनिता परियारले भन्नुभयो–‘आकाशबाट पानी नआउँदा पानी बोकेरै दिन बित्ने गछ ।’ उहाँले आकाशको पानीले गाईबस्तुलाई भए पनि खानेपानी ल्याउन भने एक घण्टा लगाएर खोरियापनी मै जानुपर्ने बाध्यता भएको बताउनुहुन्छ ।
‘पानी मात्रै ओसार्दा दिन जान्छ’ स्थानीय निलकण्ठ लामिछानेले भन्नुभयो–‘अरु कुनै काम गर्ने समय नै हुँदैन ।’ अहिले गाउँका अधिकांश घरमा केटाकेटी, महिला र बुढाबुढी मात्रै छन् । ‘केटाकेटी र बुढाबुढीले पानी ल्याउन सक्दैनन्’ लामिछानेले भन्नुभयो–‘आकाशे पानी आयो भने आकाशको भर नत्र वर्षामा प्लास्टिक ट्याङ्कीमा राखेको पानी खानुपर्ने बाध्यता रहेको छ ।’
पानीको अभावका कारण घर वरिपरि रहेका ठूला ठूला बारिका ग¥हाहरु समेत बाँझो पल्टिएका छन् । ‘खानेपानी नहुँदा मुख भिजाउन समेत समस्या हुन्छ’ स्थानीय युगनाथ पौडेलले भन्नुभयो ।
पानीको चरम समस्या भएपछि २०५१ सालमा १४ किलोमिटर टाढा रहेको आर्थर गाविसको टुनीखोलाबाट पानी ल्याएको भए पनि एक महिना पानी नआई योजना अलपत्र भएको पौडेलले बताउनुभयो । करिब डेढ करोड खर्च गरेर ल्याएको पानी गाउँसम्म आईपुग्दा हराएपछि स्थानीयवासी पानी खाने आश नै मारेर बसेका छन् ।
अहिले टुनिखोला आयोजनाका पाईपहरू आर्थर र खौला गाविसका विभिन्न ठाउँमा बेवारिसे फालिएका छन् । टुनीखोलामा भएको पानी भन्दा ठूलो पाईप राखेपछि यस्तो समस्या आएको प्राविधिकहरू बताउँछन् ।
पछिल्लो समयमा जिल्लामा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले गाविसलाई पानी र सरसफाई युक्त गाविस बनाउने भनेर काम गरेको भएपनि नाउँ मात्रैको खुल्ला दिशामुक्त गाविस घोषणा ग¥यो तर पानी नै नभएपछि बनाएका शौचालयहरू समेत प्रयोग बिहीन बनेका छन् ।
अहिले पश्चिम नेपालले समेत ठूला आयोजना गर्न नसकिने भन्दै गाविसबाट उम्किने प्रयासमा रहेको छ । ‘६ वर्षदेखि पानी खुवाउने आशामा हामीलाई बेवकुफ बनायो’ स्थानीय शिवलाल परियारले भन्नुभयो–‘आशै–आशामा स्वर्गेवास जस्तो भयो ।’
पछिल्लो समयमा सबैतिरबाट पानी आउने आशा सकिए पछि स्थानीयवासीहरू जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय पर्वतमा पुगेपछि अहिले दुई करोडको लागतमा लिफ्ट प्रणालीमा खानेपानी आयोजना शुरु गरिएको छ । ३ वडाका १०२ घरलाई लिफ्ट प्रणालीमा खानेपानी वितरण गर्ने गरि योजना शुरु गरिएको हो ।
पाँच सय ६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरी स्थानीय बाटुलेचौरमा रहेको ट्यांकीमार्फत घरघरमा वितरण गरिने भएको खानेपानी तथा सरसफाई सव डिभिजिन कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलले बताउनुभयो ।
तस्बिर ः पर्वतको ठूलीपोखरीमा रहेको खानेपानीको हाँहाकार अन्त्य गर्नका लागि शुरु गरिएको लिफ्ट प्रणालीका ट्याङ्कीहरु । २ करोडको लागतमा शुरु गरिएको लिफ्ट प्रणालीबाट ५ सय ६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरि स्थानीय बाटुलेचौरमा रहेको ट्यांकीमार्फत १ सय घरधुरीमा वितरण गरिने भएको हो ।