चितवन-काठमाडौं रुटमा युरो-४ मापदण्डको अत्याधुनिक बस सेवा सुरु

१ भदौ, चितवन । चितवन-काठमाडौं रुटमा पहिलोपटक यूरो-४ मापदण्डका बसहरु सञ्चालन हुन थालेका छन् । विशेषगरी चितवन घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी शारदा टुर्स प्रालिले बुधबारदेखि अत्याधुनिक सुविधायुक्त सुपर डिलक्स बस सञ्चालनमा ल्याएको हो ।

bussतत्कालका लागि यूरो-४ मापदण्डका दुई वटा मात्रै बस सञ्चालनमा ल्याइए पनि भविष्यमा थप बढाउँदै जाने योजना रहेको सञ्चालक सुरेन्द्रविक्रम रावलले बताए ।

भारतको पञ्जाबमा तीन महिना लगाएर बनाइएका यूरो-४ मापदण्डका बसहरु ३५ सिट क्षमताका छन् । ‘चितवनबाट काठमाडौं र काठमाडौंबाट चितवनका लागि दैनिक एक-एक बस सञ्चालन हुन्छन्,’ रावलले भने ।

शारदा टुर्स प्रालिका सुरेन्द्रविक्रम रावल र राजेन्द्र विक्रम रावल दुई दाजुभाइ हुन् । यी दुई दाजुभाइले २ करोड बढी रुपैयाँ लगानीमा पर्यटक बस सञ्चालनमा ल्याएका हुन् ।

‘पहिलो चरणमा दुईओटा सुविधासम्पन्न बसबाट सेवा सञ्चालन गर्दै छौं,’ सञ्चालक सुरेन्द्रविक्रम रावलले भने, ‘सडक मार्ग हुँदै चितवन आउने पर्यटकहरुलाई सहज र आरामदायी यात्राका लागि पर्यटकीय बस सञ्चालनमा ल्याएका हौं ।’

बुधबार बस सेवा शुभारम्भ कार्यक्रममा शारदा टुर्सले पर्यटकहरुलाई मायाको चिनोसमेत वितरण गरेको थियो ।

बसका हरेक सीटमा मोबाइल चार्ज गर्न मिल्नेसहितको एयर कन्डिसनको व्यवस्था छ । यात्रु सुविधाका लागि एयर सस्पेन्सन सिष्टम जडान गरिएको बसमा ‘एसी’ र ‘हिटर’को पनि व्यवस्था छ । साथै सिटमा डिजिटल सिट नम्बर अंकित गरिएको छ ।

बसमा निःशुल्क वाइफाई, अनलाइन टिकट बुकिङको व्यवस्था, ३२ इन्चको एलइडी टीभी र मुभी सिष्टम, प्राथमिक उपचारको व्यवस्था, बसमा आगलागी भए त्यसलाई नियन्त्रण गर्न आगो नियन्त्रण गर्ने यन्त्रको पनि राखिएको छ ।

यसका अलावा पत्रपत्रिका पढ्ने र पानीको निःशुल्क व्यवस्था समेत गरिएको छ । बसमा यात्रारत यात्रुहरुका लागि ५ लाख रुपैयाँ बराबर बीमाको समेत व्यवस्था गरिएको छ ।

चितवन र काठमाडौंसम्म ‘सुपर डिलक्स’मा सयर गर्न नेपाली ६ सय रुपैयाँ मूल्य कायम गरिएको छ ।


Facebook Comment


No ads found for this position