निकुञ्ज कर्मचारी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद

चितवन, २ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी शेषचन्द्र चौधरीको हत्यामा संलग्न भएका तीन जनालाई जिल्ला अदालत चितवनले ३४ वर्ष कैद सजायको फैसला गरेको छ ।

निकुञ्जका कर्मचारी शेषचन्द्रलाई निकुञ्जभित्रै २०७१ असोज ९ गते गोलीहानी हत्या गरिएको थियो । न्यायाधीश वासुदेव पौडेलको इजलासले कर्तव्य ज्यान मुद्दा लागेका माडी अयोध्यापुरीस्थित बाँदरझुला– ९ का २७ वर्षीय जीवन प्रजा, १७ वर्षीय गिराज प्रजा र ३५ वर्षीय मानबहादुर प्रजालाई हिजो यस्तो सजाय सुनाएको हो ।

अदालतका सूचना अधिकारी कृष्ण बरालका अनुसार उनीहरुविरुद्ध कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग, डाँका र अवैध हतियार ओसारपसारअन्तर्गत मुद्दा चलेको थियो ।

कर्तव्य ज्यान मुद्दामा प्रत्येकलाई २० वर्ष अर्थात् जन्मकैद, ज्यान मार्ने उद्योग अन्तर्गत जनही पाँच वर्ष कैद, डाँका मुद्दामा ६ वर्ष कैद र अवैध हतियार अन्तर्गत तीन वर्ष कैद गरी प्रत्येकलाई कुल ३४ वर्ष कैद सजाय भएको सूचना अधिकारी बरालले जानकारी दिनुभयो ।

घटनामा संलग्न भनिएका ६ जनामध्ये बाँकी तीन जनाले अस्वीकार गरेका थिए । कर्तव्य ज्यान मुद्दा लागेका आरोपित २०७१ साल कात्तिक १ गते बाँदरझुलाबाटै पक्राउ परेका थिए ।

उक्त घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) नै खटिएको थियो । रत्ननगर– १ सौराहाचोक निवासी चौधरी निकुञ्जको सिनियर गेम स्काउट थिए ।


Facebook Comment


No ads found for this position