डुम्रे क्षेत्रमा दैनिक २,५०० लिटर दूध उत्पादन

कृष्ण दर्नाल
पाल्पा, २ भदौ । सिद्धार्थ राजमार्गसँग जोडिएको पाल्पाको डुम्रे क्षेत्रबाट दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन हुन थालेको छ । जिल्लाको मदनपोखरा, मस्याम, तेल्घा र ठिमुरे क्षेत्रमा उत्पादित दूध डुम्रे क्षेत्रमा सङ्कलन गरी पोखरामा निर्यात हुन थालेपछि किसान खुसी देखिएका छन् ।

milk splashउन्नत जातका गाईभँैसीपालन गरेपछि चार गाविसमा उत्पादित दूधलाई डुम्रे दुग्ध उत्पादन सहकारीले सङ्कलन गरेर त्यहाँ पठाउन थालेको हो । यहाँबाट दैनिक दुई हजार ५०० लिटर दूध यस भेगमा उत्पादितमध्ये दैनिक ५०० लि दूध पोखराको फिस्टेल डेरीमा पठाउँदै आएको छ ।

दैनिक ४०० लि दूध सिद्धार्थ राजमार्गको दोभानदेखि प्रभाष क्षेत्रको स्थानीय बजारमा खपत हुँदै आएको छ । बाँकी एक हजार ६०० लिटर दूध जिल्ला सदरमुकाम तानसेनस्थित श्रीनगर डेरीले तानसेनमा बिक्री–वितरण गर्दै आएको डुम्रे दुग्ध उत्पादन सहकारीका अध्यक्ष रामजी घिमिरेले बताउनुभयो ।

पशुपालन गरेका २५ फर्म जिल्ला पशु सेवा कार्यालय पाल्पामा दर्ता भई सरकारी सेवा सुविधा किसानले लिएका छन् । पाँचदेखि १५ ओटा पशु पालन गर्ने किसान गाउँमा निकै कम मात्रामा रहेका छन् । १५ देखि ३० ओटासम्म गाईभैँसी पाल्ने किसान गाउँमा बढी छन् । मदनपोखराका सुकदेव रिजालले गाईभैँसी गरी ६० ओटासम्म पालेर जिल्लामा नै नमुना किसान बनेका छन् ।

गाउँमा विदेशबाट फर्केका युवाले समेत दुहुनो गाईभैँसीबाट मासिक रु २५ लाख देखि एक लाखसम्म आम्दानी लिन सफल भएका छन् । दूधबाट राम्रो आम्दानी लिन पाएपछि यहाँका युवासमेत विदेश पलायन हुन छाडेका छन् ।

सहकारीले आर्थिकरुपमा विपन्न समुदायका सदस्यलाई रु एकलाखदेखि १५ लाखसम्म पशुपालन गर्न ऋण प्रदान गर्न थालेपछि यहाँका किसान गाईभैँसीपालन गरी आम्दानी गर्न थालेको सहकारीका व्यवस्थापक तथा किसान गोपाल जिसीले बताउनुभयो ।

युवा व्यावसायिक रुपमा गाईभैँसीपालन गर्न थालेपछि यस क्षेत्र जिल्लाकै दूध हवका रुपमा विकास भएको डुम्रे दुग्ध उत्पादन सहकारीका अध्यक्ष रामजी घिमिरेले बताउनुभयो । किसानले चारदेखि ७० ओटासम्म गाईभैँसी पाल्न थालेपछि यहाँबाट दूध उत्पादन बढेको हो । गाईपालन गर्नेमा महिलाको समेत उत्साहजनक सहभागिता रहेको छ ।

सरकारले तेस्रो पशु विकास कार्यक्रमअन्तर्गत भैँसीपालन व्यवसाय सुरु गरेका किसानले दूधबाट राम्रो आम्दानी लिन थालेपनि उन्नत जातका गाईभैँसीपालनमा आकर्षित बन्न पुगेका हुन् ।

यस क्षेत्रमा सरकारले सामुदायिक पशु प्रजनन केन्द्र, पशु आहारा कार्यक्रम, घाँस विकास समितिमार्फत घाँसखेती, युवा लक्षित कार्यक्रमसमेत किसानलाई पशुपालन व्यवसाय प्रभावकारी भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख तुल्सीराम भण्डारीले बताउनुभयो ।


Facebook Comment


No ads found for this position