भूकम्पमा भत्केका नगरकोटका होटल पुनःनिर्माण हुँदै

२ भदौ, काठमाडौं । भूकम्पमा भत्केका तथा क्षति पुगेका नगरकोटका होटलको पुनःनिर्माण धमाधम भइरहेको छ। गतवर्षको भूकम्पले नगरकोटका दर्जनभन्दा बढी होटल माटोमा मिलेका थिए। त्यस्तै दुई दर्जनभन्दा बढी होटलमा क्षति पुगेको थियो।भूकम्पमा पूर्णरुपमा क्षति भएको ग्रिन भ्याली, भ्यू प्वाइन्ट, स्पेस माउन्टेन, स्नोम्यान, हिमालयन भिल्लाको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ।

नगरकोटमा करिब चार दर्जन होटल रहेका छन् । जसमध्ये भूकम्पमा एक दर्जनमात्रै होटल बचेका थिए। नगरकोटका धेरैजसो होटल सञ्चालनमा आएपछि अहिले यहाँआन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढेको छ। नगरकोटमा अहिले बाह्यभन्दा आन्तरिक पर्यटकको आगमन बढेको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछाने बताउँछन्। पछिल्लो समय काठमाडौँ उपत्यकामा गर्मी बढेकाले काठमाडौँ खाल्डोको गर्मी छल्न त्यहाँका बासिन्दा शुक्रबार र शनिबार नगरकोट आउने गरेका छन्।
“यहाँका होटलमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चाप थेगिनसक्नु हुन्छ” – सञ्चालक लामिछानेले भने। शुक्रबार दिउँसो नगरकोट पुग्ने आन्तरिक पर्यटक शनिबार पूरै दिन घुमफिर गर्छन्। नगरकोट सूर्योदय र सूर्यास्तका लागि प्रख्यात छ । नगरकोटस्थित टावरबाट मौसम सफा भएका बेला हिमशृङ्खलासँगै काठमाडौँ उपत्यका, साँखु, मेलम्ची, पाँचखाल, बनेपालगायतको दृश्यावलोकन गर्न सकिन्छ।