भक्तपुर उपमहानगरपालिका बन्ने सम्भावना

३ भदौ, भक्तपुर । भक्तपुर सिङ्गो जिल्ला ३४ वडासहितको एउटै उपमहानगरपालिका बन्ने सम्भावना बलियो बन्दै गएको छ।  जिल्लाको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले सरोकारवालासँग परामर्श गर्दा एउटै उपमहानगरपालिका बनाउने सम्भावना अन्य विकल्पभन्दा बलियो बनेको खबर आजको गोरखापत्रमा छापिएको छ।

bhaktapur_districtविभिन्न छवटा विकल्पमा छलफल भए पनि भक्तपुर जिल्लालाई एउटै उपमहानगरपालिका बनाउँदा विकास र प्राकृतिक स्रोतसाधनको परिचालनको सम्भाव्यता राम्रो हुने मुख्य राजनीतिक दल र सरोकारवालाले सुझाव दिएका प्राविधिक सहयोग समिति भक्तपुरले जनाएको छ ।

भक्तपुरका स्थानीय विकास अधिकारी तथा प्राविधिक समितिका संयोजक ध्रुव कोइरालाका अनुसार सिङ्गो जिल्ला एउटै उपमहानगरपालिका बनाउनेबाहेक मध्यपुर थिमि र चाँगुनारायण नगरपालिका, अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिका तथा भक्तपुर र नगरकोट नगरपालिका गाभेर तीनवटा नगरपालिका बनाउने प्रस्ताव पनि आएको आएको छ ।

अर्को विकल्पमा दुईवटा उपमहानगरपालिका र एउटा नगरपालिका बनाउने प्रस्ताव छ जसमा मध्यपुर थिमि नगरपालिकाका उत्तरतर्फको केही वडा र चाँगुनारायण नगरपालिका गाभेर एउटा उपमहानगरपालिका,  अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपुर थिमिको दक्षिण भेगका वडा गाभेर अर्को उपमहानगरपालिका तथा भक्तपुर र नगरकोट नगरपालिका गाभेर नगरपालिका बनाउने प्रस्ताव सरोकारवालाहरूबीच छलफल भइरहेको छ ।

त्यस्तै अर्को विकल्पमा भक्तपुर जिल्लालाई पूर्व र पश्चिममा विभाजन गरी भक्तपुर, नगरकोट र सूर्यविनायक नगरपालिकालाई मिलाएर एउटा नगरपालिका निर्माण गर्ने तथा मध्यपुर थिमि, चाँगुनारायण र अनन्तलिङ्गेश्वर नगरपालिकालाई एउटा नगरपालिका बनाउने अर्को विकल्प तयार भएको स्थानीय विकास अधिकारी कोइरालाले जानकारी दिए।

त्यस्तै उक्त पूर्वपश्चिमका तीनतीनवटा नगरपालिका मर्ज गरी दुईवटा उपमहानगरपालिका बनाउने विकल्प खुला गरिएको छ भने अर्को विकल्पमा हाल कायम रहेको भक्तपुर र थिमि नगरपालिकालाई यथावत् राखी नयाँ बनेका चाँगु र नगरकोट नगरपालिकालाई मर्ज गरी एउटा नगरपालिका बनाउने र अनन्तलिङेश्वर र सूर्यविनायक नगरपालिकालाई मर्ज गरी चारवटा नगरपालिका बनाउने सहमति सरोकारवालाहरूसँग भएको कोइरालाले बताए।

उनका अनुसार जिल्लामा कति नगरपालिका बनाउने भन्ने सहमति दलहरूबीच नभएपछि प्राविधिक सहयोग समितिले छलफलमा आएका विभिन्न विकल्प लिपिबद्ध गरी आयोगलाई बुझाउने अन्तिम तयारी गरेको हो।

स्थानीय तह पुनःसंरचना आयोगले उपत्यकाभित्र एउटा नगरपालिका निर्माण गर्दा न्यूनतम ९५ हजार जनसङ्ख्या र १३ सय वर्गकिलोमिटर क्षेत्रफल हुनुपर्ने मापदण्ड तयार गरेको छ ।  सोही मापदण्ड अनुसार भक्तपुरमा छवटा विकल्पसहितको स्थानीय तहको पुनःसंरचना तयार गरिएको हो ।  २०६८ सालको जनगणना अनुसार भक्तपुरमा दुई लाख ९८ हजार ७०४ जनसङ्ख्या छ भने ११९ वर्गकिलोमिटर क्षेत्रफल रहेको जिविस भक्तपुरले जनाएको छ।


Facebook Comment


No ads found for this position