कर्के नजरले हेर्दा ‘लेडी ग्याङ फाइट’

३ भदौ, काठमाडौं ।युवाको आपसी झगडामा ज्यान गुमेको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई कुटेर गम्भीर घाइते बनाएका छन्।

nepal policeकाठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्रभाव यतिबेला युवतीमा समेत सरेको अनुमान प्रहरीले गरेको छ। प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको छ।

आफूलाई कर्के आँखाले हेरेको विषयमा तीनजना युवती मिलेर अर्की युवतीलाई कुटेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी प्रभाग कपनले १५ वर्षीय अस्मिता राई कुटपिट गरेको आरोपमा १९ वर्षीया सितल गुरूङ र मनता शाही तथा १६ वर्षीया एन्जुम शेर्पालाई  पक्राउ गरेको हो।

प्रभागका इन्चार्ज फडिन्द्र रानाभाटका अनुसार कुटपिटमा संलग्न तीनैजना युवती साततलेमा रहेको पसलमा बस्ने र अस्मिता सोही बाटो भएर हिँडडुल गर्दा कर्के नजरले हेर्ने गरेको विवादमा घटना भएको हो।

बुधबार साँझ तीनैजना पसलमा रहेका समय अस्मितालाई आउदै गरेको देखेपछि उनीहरुले फिल्मी शैलीमा अस्मितालाई कुटपिट गरेका थिए। कुटपिट गर्दा घाइते भएकी राईलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल चावहिल लगिएकोमा अस्पतालले थप उपचारका लागि दीर्घायु अस्पताल मित्रपार्कमा रेफर गरेको थियो। अस्मिताको टाउकोमा चोट लागेको छ।

प्रभागले बुधबार नियन्त्रणमा लिएका तीनैजना र घाइतेका परिवारको आपसी सहमतिमा बिहीबार घटना मेलमिलापमा टुङगाएको छ। प्रहरी निरीक्षक रानाभाटका अनुसार घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र अब मिलेर बस्ने दुवै पक्षबीच सहमति भएको छ ।


Facebook Comment