उपप्रधानमन्त्री निधी के गर्दैछन् दिल्लीमा?

३ भदौ, काठमाडौं ।प्रफुल्ल मुद्रामा दिल्ली आइपुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा कुटनीतिज्ञहरुसँग बडो खुलेर कुराकानी गरिरहेका थिए। उनको हाउभाउ र चहलपहलले आजदेखि सुरु हुने उच्चस्तरीय भेटघाटको पर्याप्त तयारी छ भन्ने शन्देश दिइरहेको थियो।

nidi ‘म नेपाल सरकारको शन्देश लिएको आएको हुँ, भेटवार्ताका लागि केही महत्वपूर्ण एजेन्डा छन्, कुराकानी हुन्छ’ सरकारको विशेषदूतका रुपमा दिल्ली आएका निधिले नेपालखबर प्रतिनिधिसँग भने ‘भारतीय राष्ट्रपतिलाई निम्तो दिने र हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका विषयमा पनि कुराकानी हुन्छ।’

उपप्रम निधिको सम्मानमा दूताबासले आयोजना गरेको बिहिबार बेलुकीको रात्री भोजमा निधी पुग्नु अघि नै भारतीय पूर्व विदेश सविच श्याम शरण, नेपालका लागि पूर्वराजदूतहरु केभी राजन, शिव शंखर मुखर्जी, राकेश सुद, जयन्तप्रसाद र नेपालका लागि भारतीय राजदूत रन्जित रेलगायतका कुटनीतिज्ञहरु जम्मा भएका थिए।

त्यसैगरी काँग्रेस आईका नेता करण सिंह, विजेपी नेता तरुण विजय, राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठी र समाजवादी नेता सुरेन्द्र भदौरियासमेत रात्रीभोजमा उपस्थित थिए। रात्रीभोजमा उपस्थित डा. प्रमोद जैसवालले नेपाली दूतवासमा भारतीय नेताहरुको यस्तो भव्य उपस्थिति कहिल्यै नदेखेको नेपालखबरलाई बताए। भने, ‘यो जमघटले पनि उप्रधानमन्त्री निधिको भ्रमण कति महत्वपूर्ण हो भन्ने देखाउँछ।’

राती साढे सात बजेबाट रात्रीभोज सुरु भएर साँढे १० बजे सकिएको थियो। विशेषदूत निधि भने एक घण्टा ढिलोगरी साढे आठ बजे भोजमा पुगेका थिए। त्यसअघि भारतीय कुटनीतिज्ञहरु एक आपसमा नेपाल मामिलामा अनौपचारिक कुराकानी गरिरहेका थिए। निधिको उपस्थितिपछि भोजको माहौलले अलग प्रतित भयो। उनले एक एक गरेर भारतीय कुटनीतिज्ञहरुसँग कुराकानी गरे।

अधिकांश भारतीय नेता तथा कुटनीतिज्ञहरुले पछिल्ला दिनमा नेपालमा भारतका आलोचकहरु बढेकोमा चिन्ता प्रकट गरेका थिए। यस्ता कुराले उहिल्यैदेखिको दुई देशको सम्बन्धमा प्रभाव पार्न नहुने तर्क उनीहरुको थियो। भेटमा उप्रप्रधानमन्त्री निधिले नेपाल सरकार सम्बन्धलाई अझै प्रगाढ बनाउन तयार रहेको जनाउ पनि दिए।

‘स्वभाविक रुपमा उहाँहरुको चिन्ता आएको छ, त्यसमा हामी प्रष्ट छौं कि नेपालको राजनीतिक अवस्था फरक परिस्थितिमा आइपुगेको छ, कतिपय समस्या पनि छन्, ती समस्याहरु हामी नेपालीले नै हल गर्ने हो’ उपप्रधानमन्त्री निधिले संक्षिप्त प्रतिक्रिया दिँदै भने‘ त्यसैले मेरो भ्रमण द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउनका लागि भएको हो।’

निधिले दिल्लीमा रहँदा आफू बसेको होटल ताजमा पनि नेपाल मामिला हेर्ने भारतीय कुटनीतिज्ञहरुसँग अनौपचारिक भेटघाटको तयारी गरिरहेका छन् । तय भएको उच्चस्तरीय भेटघाटमा भने उपप्रम निधिले आज साँझ ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्नेछन्। भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा भारतीय राष्ट्रपतिलाई हस्तान्तरणसहित दुई छिमेकी देशको सम्बन्धबारे छलफल हुनेछ।

नेपालमा संविधान जारी भएको दिन ३ असोजमा आयोजना काठमाडौंमा गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रुपमा मुखर्जीलाई निमन्त्रणा गरिने छ। त्यसैगरी उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग आजै दिउँसो १ देखि ३ बजेसम्म भेटवर्ता गर्ने तय भएको छ । भेटमा नेपाल भारत सुरक्षा मामिला लगायतका विषयमा छलफल हुनेछ ।

निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको छ। मोदीलाई पनि निधिले नेपाल भ्रमणको निम्तो दिने छन्। सँगसँगै नेपालका प्रधानमन्त्री दाहालले भदौ ३० र ३१ मा गर्ने भारत भ्रमणको तयारी र त्यसबेला छलफल हुने केही एजेन्डाका विषयमा पनि निधिले मोदीसँग कुरा गर्नेछन् ।

त्यसैगरी, उप्रधानमन्त्री निधिले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको रोकिएको भारत भ्रमणका विषयमा पनि भारतीय पक्षसँग कुराकानी गर्ने छन्। बिहीबार साँझ उनले भन्दै थिए ’अकस्मात् रद्द भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अब गराउने पनि मेरो भ्रमणको एजेन्डा हो ।’

निधिले आफ्नो भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रवण मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीका अलवा विदेशमन्त्री सुष्मा स्वराज र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग पनि भेटघाट गर्नेछन्। कमै मात्र विदेशी पाहुना भेट्ने भाजपा अध्यक्ष शाहसँग निधिले दुई देशको राजनीतिक स्तरको सम्बन्धलाई प्रगाढ कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ।


Facebook Comment


No ads found for this position