काे काे ? बन्दैछन् काग्रेसबाट मन्त्री

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारपछि मात्रै सरकारमा जाने नेपाली कांग्रेसका थप मन्त्रीहरुको नामावली पठाउने भएका छन्।
नेविसंघको चुनावपछि कांग्रेसका मन्त्रीहरुको टुंगो लगाउन देउवा केन्द्रित भएका छन्। मन्त्री हुन आकांक्षीको लबिङ र भेटघाटले देउवालाई अहिले भ्याइनभ्याइ छ।
देउवाका दाहिने हात गृहमन्त्री बिमलेन्द्र निधि सोमबार दिल्लीबाट फर्केपछि उनीसँग परामर्श गरेर देउवाले मन्त्रीहरुको नामावली टुंगो लगाउनेछन्। कांग्रेस र माओवादी केन्द्रबीच अझै मन्त्रालय बाँडफाँट टुंगो लागिसकेको छैन। माओवादी केन्द्रसँग निधिले नै छलफल गरिरहेकाले उनी आउन्जेल देउवाले पर्खिने उनी निकट एक नेताले बताए।
‘शिक्षा, स्वास्थ्य र खानेपानी मन्त्रालयको बाँडफाँट अझै टुंगो लागेको छैन,’ उनले भने, ‘अब चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र भारत भ्रमणबाट निधि फर्केपछि यी मन्त्रालयको विवाद टुंगो लाग्नेछ।’
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पक्षका विनाविभागीय मन्त्री धनीराम पौडेललाई शिक्षा मन्त्रालय दिनुपर्ने अडान लिएपछि प्रधानमन्त्री दाहालले कांग्रेससँग शिक्षा मन्त्रालय छाडिदिन आग्रह गर्दै आएका छन्। कांग्रेसले भने आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दाहालसँग शिक्षा मन्त्रालय आफूलाई दिएर स्वास्थ्यमा पौडेललाई पठाउन आग्रह गर्दै आएको छ।
कांग्रेसका को को नेता मन्त्री हुँदैछन्?
माओवादीसँगको सत्तासाझेदारीमा १३ मन्त्रालय लिने सहमति गरेको कांग्रेसले ११ मन्त्रालयमा पठाउने नेताहरुमध्ये केहीको नाम करिब करिब टुंगो लगाइसकेको छ।
सभापति देउवा निकट श्रोतका अनुसार, देउवाले आफ्नो पक्षबाट पार्टी नेता अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण र अम्बिका बस्नेतको नाम पठाउने छन्। उनका दुई विश्वासपात्र निधि र रमेश लेखक मन्त्री भैसकेका छन्।
साउन २० गते आफूले चाहेअनुसार मन्त्रालय नपाएको भन्दै सरकारमा सहभागी हुन तयार नभएका नेता केसी र शेखर कोइरालालाई सरकारमा सहभागी गराउने उपायबारे देउवाले गृहकार्य गरिरहेका छन्।
पार्टी अधिवेशनमा खेमा परिवर्तन गरेर देउवा प्यानलबाट महामन्त्रीका प्रत्यासी बनेका केसीले सरकारमा नेपाली कांग्रेसको नेतृत्व आफूले गर्नुपर्ने वा गृह मन्त्रालय पाउनुपर्ने माग गरेका थिए। तर देउवाले उनलाई रक्षा मन्त्री बन्न आग्रह गरेपछि साउन २० गते सपथ लिन अस्वीकार गरेका थिए।
पछिल्लो समय सभापति देउवाले केसीलाई शिक्षा वा सहरी विकास मन्त्रालयमध्ये एक रोजेर सरकारमा जान फकाइरहेका छन्। त्यस्तै, परराष्ट्रबाहेक अरु मन्त्रालयमा नजाने अडान लिँदै आएका कोइरालालाई सरकारमा सहभागी गराउन देउवाले कोशिस जारी राखेका छन्।
विद्यार्थी संघभित्रको चरम विवाद सुल्झाउँदै अधिवेशनमार्फत आफ्नो पक्षको नेतृत्व स्थापित गराउन सफल भएका देउवाका विश्वासपात्र प्रकाशशरण महतले पनि परराष्ट्र मन्त्रालयको दाबी छाडेका छैनन्।
केही महत्वपूर्ण मन्त्रालयसहित पाँच मन्त्रालय दाबी गर्दै आएको पौडेल पक्षले सम्मानजनक स्थान नभए सरकारमा नजाने घोषणा गर्दै आएको छ। त्यस अवस्थामा देउवाले उक्त समूहबाट कोइरालालाई सहभागी गराउन पनि परराष्ट्र मन्त्रालय दिन सक्ने देउवा निकट केही नेता बताउँछन्। यसका लागि देउवाले महतलाई पर्यटन मन्त्रालयमा जान मनाउन खोजिरहेका छन्।
देउवाले आफू निकट नेता बालकृष्ण खाँणलाई रक्षा मन्त्रालयको जिम्मा दिने करिब करिब टुंगो लागिसकेको छ। शिक्षामा अर्जुननरसिंह केसी जान तयार भए देउवाले फरमुल्लाह मन्सुरलाई सिँचाइ, जीवनबहादुर शाहीलाई वन र भीष्मराज आङ्दम्बेलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मा दिन सक्ने देउवानिकट नेताहरु बताउँछन्।
‘विगत तीनवटा निर्वाचनमा निरन्तर निर्वाचित भएर पनि मन्त्री बन्न नपाएका पर्वतका सांसद तथा नेता अर्जुन जोशीलाई पनि मन्त्री बनाउने विषयमा देउवा सकरात्मक देखिएका छन्,’ उनी निकट एक नेताले बताए।
देउवा पक्षकै केशवकुमार बुढाथोकी, चन्द्रकान्त भण्डारी, रामहरि खतिवडाले पनि आफूलाई बनाउन देउवालाई आग्रह गरेका  छन्।
कोषाध्यक्ष सीतादेवी यादवले महिला तथा बालबालिका मन्त्रालय माग गरिरहे पनि उनलाई सरकारमा पठाउने विषयमा पौडेल पक्षले कुनै टुंगो लगाउन सकिरहेको छैन। महामन्त्री शशांक कोइरालाले आफ्नो तर्फबाट दिपक गिरीको नाम देउवालाई दिएका छन्।
पौडेल पक्षका नेताहरु बलबहादुर केसी, नविन्द्रराज जोशी, हृदयराम थानी, आनन्दप्रसाद ढुंगाना, कमला पन्त, किरण यादवको पनि मन्त्रीमा दाबी छ।timthumb देउवा पौडेल पक्षलाई तीन वा चारभन्दा बढी मन्त्री दिने पक्षमा छैनन्। देउवाले मन्त्रीमण्डलमा एकसिट नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा भीमसेनदास प्रधान वा सुधिर सिवाकोटीमध्ये एक र अर्को एक सिटमा खुमबहादुर खड्काको सिफारिसमा मन्त्री बनाउन तयार देखिएका छन्।
त्यसैगरी देउवाले चारदेखि पाँच जनासम्म राज्य मन्त्रीका रुपमा ध्यानगोविन्द रञ्जित, अब्दुल रज्जाक, कन्चन बादेमध्येबाट पठाउनसक्ने सम्भावना रहेको पनि उनी निकट श्रोतले बतायो


Facebook Comment


No ads found for this position