यस्तो बन्दैछ प्रादेशिक संरचनामा पर्यटनको खाका
भगवान खनाल
६ भदौ, काठमाडौं । संविधानसभाबाट संघीयतासहितको नयाँ संविधान जारी भएपछि सरकारी निकायहरू त्यसैअनुसार आफ्नो संरचना बनाउन व्यस्त छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि संघीयतासँगै आफ्नो संरचना फेरबदल गर्न तल्लीन छ ।
मन्त्रालयले बनाएको राष्ट्रिय पर्यटन रणनीति योजना (सन् २०१६–२५)मा पनि प्रादेशिक संरचनामा जाँदा पर्यटन विकासका लागि चरणबद्ध योजनाको संरचना उल्लेख गरिएको छ । प्रदेशमा पर्यटन प्रवद्र्धन कसरी गर्ने भन्नेबारेमा योजनाले उल्लेख गरेको छ ।
त्यस्तै, सरकारले चालू आर्थिक वर्ष ०७३/०७४ मा सात प्रदेशमा पर्यटन गन्तव्य तोक्ने गरी कार्यक्रमसमेत ल्याएको छ । यसअनुसार प्रदेशका मुख्य पर्यटन गन्तव्यहरू तोकिनेछ र त्यहाँ पर्यटन पूर्वाधार विकास गरिनेछ । पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय भन्छन्, “प्रदेशका मुख्य पर्यटन गन्तव्य चालू आवमै तोकिनेछ र पर्यटन विकास गर्ने कार्यक्रम ल्याइनेछ ।”
संविधानले दिएको अधिकार प्रयोग गरी संघ, प्रदेश र स्थानीय तहसम्म कसरी पर्यटन विकास गर्ने भनेर कार्यक्रमहरू ल्याइने उनले जानकारी दिए । उनका अनुसार मन्त्रालयले अहिले के कति जनशक्ति छन्, सम्पत्ति कति छ, कुन–कुन प्रदेशमा थप के–के चाहिन्छ भनेर अध्ययन गरिरहेको छ ।
चालू आवमा गन्तव्य तोक्ने, सातै प्रदेशका मन्दिरको गुरुयोजना बनाउने र केही पूर्वाधार विकासका काम गर्ने प्रयोजनका लागि साढे ३ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयका उपसचिव चन्द्रप्रसाद फुयाँलले बताए । सातवटै प्रदेशमा सांस्कृतिक हिसाबले एक–एक मन्दिरको गुरुयोजना बनाउने कार्यक्रम छ ।
पर्यटन रणनीतिले पश्चिमी क्षेत्रमा पर्यटन विस्तार गर्न हालको प्रमुख प्रवेशद्वार काठमाडौं र त्यसपछिको प्रवेशद्वार भैरहवामा विशेष गतिविधि केन्द्रित रहने उल्लेख गरेको छ ।
पश्चिम नेपालका रारा, धनगढी र भैरहवालाई प्रवेशद्वार बनाई त्यो प्रदेशको नामांकन र राजधानीबारे अझै निर्णय नभएकाले पर्यटन रणनीतिमा पश्चिम, दक्षिण पश्चिम, सुदूरपश्चिम, पूर्वी, मध्यपश्चिम र मध्यमाञ्चल क्षेत्रको नाम दिएर त्यहाँका पर्यटकीय गन्तव्यलाई इंगित गरिएको छ ।
यसअनुसार पश्चिम क्षेत्रमा वृहत्तर पोखरा र दक्षिण पश्चिमी क्षेत्रमा वृहत्तर लुम्बिनीलाई यकिन गरिएको छ । यसैगरी सुदूरपश्चिम क्षेत्रमा कैलालीको सेरोफेरोलाई गन्तव्य बनाउने उल्लेख छ भने इलामको सेरोफेरो पूर्वी क्षेत्रका लागि चयन भएको छ ।
त्यस्तै, मध्यपश्चिम क्षेत्रमा कर्णालीको सेरोफेरोमा पर्यटन गन्तव्य बनाउने योजना छ । उता प्रदेश नम्बर ७ का लागि चालू वर्षको कार्यक्रमले समेटेको छ ।
पर्यटन रणनीतिमा सिफारिस भएका पर्यटकीय क्षेत्र र गन्तव्यमा पूर्वाधार, सम्भाव्यता, माग, विविधीकरण, दिगोपनलगायत सात वटा ‘म्याट्रिक्स’ र स्तर निर्धारणको तत्व बनाइएको छ । बृहत्तर पोखराले ३१.५, बृहत्तर लुम्बिनीले ३१, कैलालीको सेरोफेरोले ३०, इलामको सेरोफेराले २७.५, कर्णालीले २७ र मध्यमाञ्चल क्षेत्रले २४.५ स्तर संकेत पाएका थिए ।
मन्त्रालयले पर्यटन प्रवद्र्धन गर्नका लागि क्षेत्रगत रूपमा रहेका हिमाल, पाटनहरू, होटल, रिसोर्ट, मठमन्दिर, गुम्बा, स्मारकलगायत विविध पक्षलाई दृष्टिगत गरेको छ । रणनीति योजनाले विद्यमान सर्किट र भविष्यमा सञ्चालन हुने सम्भावना भएका दुई नयाँ सर्किटहरूलाई अल्पावधि र मध्यम गरी कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ ।
पर्यटन मन्त्रालयको मातहतमा रहेको पर्यटन विभागअन्तर्गत सातवटा पर्यटन कार्यालय, केही पर्यटन समिति र संग्रहालयहरू छन् । यी पर्यटन कार्यालयको क्षमता विस्तार गरेर पनि प्रदेशमा पर्यटन कार्यालय बनाउन सकिने सम्भावना छ ।
अहिले मन्त्रालयले बनाएको संरचना र भोलि प्रदेशले बनाउन सक्ने संरचनामा दाहोरो नहुने गरी अहिले नै काम गर्न सके रणनीतिक योजनाले अपेक्षा गरेका लक्ष्य तथा उद्देष्यहरु हासिल हुन अझै सहज हुने देखिन्छ ।