बसन्तपुरको पुनर्निर्माण अझै अगाडि बढ्न सकेन
रवीन्द्र शाही
६ भदौ, काठमाडौं । गत वर्षको भूकम्पबाट भत्किएको विश्वसम्पदा सूचीमा सुचीकृत बसन्तपुर दरबार स्क्वायरको पुनर्निर्माणको काम अझैसम्म पनि अगाडि बढ्न सकेको छैन। दरबारको पुनर्निर्माण नहुँदा त्यहाँ रहेका महत्वपुर्ण सामानहरु कुहिएर नष्ट हुने खतरा भएपनि अझैसम्म पुननिर्माणको लागि सम्वन्धित निकायले चासो देखाएका छैनन्।
संयूक्त राष्ट्र संघीय शिक्षा तथा संस्कृत संगठन (युनेस्को)ले सम्पदाको पुर्ननिर्माण नभएको भन्दै विश्वसम्पदा सूचीबाट हटाउने चेतावनी दिइसकेको अवस्थामा पनि सरोकारावाला निकायहरुको हानथापका कारण दरबार क्षेत्रको पुनर्निर्माणको काम अझैसम्म अगाडि बढ्न नसकेको हो।
कुन मोडल, मापदण्डबाट पुनर्निर्माण गर्ने भन्ने कुराको पनि निक्र्योल नहुँदा पुरातात्वीक महत्वका समान कुहिएर जाने खतरा रहेको बसन्तपुर दरबार संग्राहलयका संस्कृतिविद् बालकृष्ण दुवालले जानकारी दिए।‘कुन प्रणालीबाट पुनर्निर्माण गरिने हो त्यो पनि अझैसम्म टुंगो लागेको छैन’ उनले सेतोपाटीसँग भने, ‘कसरी निर्माण गर्ने कुन समान काम लाग्छन् कुन लाग्दैनन् त्यसको समेत अध्ययन भएको छैन।’
भक्तपुर दरबार र पाटन दरबारको पुननिर्माणको काम अगाडि बढीसक्दा पनि बसन्तपुरको काम अगाडि नबढ्नुमा सबैको स्वार्थ बाझिएको कारणलाई बुझिएको छ । पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण जस्ता निकायले ठेकेदारमार्फत निर्माण गर्ने सोच बनाएका छन् भने, संग्राहलय तथा स्थानीय सरोकारवालाहरुले भने आफूहहरुको मातहतमा पुनर्निर्माण हुनुपर्ने माग गरेका छन्।
‘ठेकेदार मार्फत मात्र बनाइयो भने यसको पुरातात्विक तथा ऐतिहासिक महत्व हराएर जान्छ’ एकजना स्थानीयले भने, ‘पुनर्निर्माणमा स्थानीयको स्वामित्व र सहभागिता दुवै हुनुपर्छ।’ पुरातत्व विभाग भने अध्ययन पुनर्निर्माणको काम अगाडि बढीसकेको बताउँछ। ऐतिहासिक संरचनाको पुनर्निर्माण गर्दा हँचुवाको भरमा गर्न नहुने भन्दै विभागले कतिपयमा अध्ययन तथा अनुसन्धाको काम भइरहेकोले बाहिर देखिनेगरी काम नभएको विभागले जानकारी दिएको छ। ‘पुरातात्विक महत्वका संरचनाको पुनर्निर्माणको काम गर्दा अध्ययन तथा अनुसन्धान पनि उत्तिकै जरुरी हुन्छ’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘देखिनेगरी काम नदेखिएको साँचो त तर काम नै नभएको भने सत्य होइन।’
तर संस्कृतिविद तथा संग्राहलयका पुनर्निर्माण इन्चार्जको समेत जिम्मेवारी पाएका दुवालले भने, जसरी बनाएपनि संस्कृति तथा ऐतिहासिक महत्व नगुम्नेगरी छिटो पुननिर्माण हुनुपर्ने धारणा राख्छन्। एकद्वार नीतिअनुसार नै पुननिर्माण हुनुपर्ने यसले गर्दा समुदायको स्वामित्व स्थापीत हुने र छिटो हुने सस्तो हुने धारणा छ दुवालको पनि ।
सरकारी अधिकारीहरुको स्वार्थको कारण पुननिर्माणले गति लिननसकेको स्थानियहरुको आरोप रहेको छ। तर विभागका महानिर्देशक दाहाल भने युनेस्कोको दवाव आफूहरुलाई नै बढी भएको र त्यसको लागि पुननिर्माण गर्नको लागि तदारुकताका साथ अगाडि बढेको बताउँछन्।
एकद्वार नीति अन्तर्गत पुननिर्माण गर्नमा विभागको कुनै आपत्ति नभएपनि मुख्य कुरा स्रोतको भएको उनले जानकारी दिए। ‘सरकारी स्रोत परिचालन हुनेवित्तिकै त्यसका मापदण्डहरु हुन्छन् त्यसैले प्रक्रियामा जानैपर्छ’ दाहालले सेतोपाटीसँग भने,‘कसैले स्रोतको व्यवस्था गरेमा त्यसमा पनि जानसकिन्छ जस्तो पाटनमा भएको छ।’
बसन्तपुर दरबार स्क्वाएरमा धैरैवटा दरवार भएकोले तिनको निर्माणको प्रक्रिया पनि त्यही अनुसार अगाडी बढेको विभागले बताएको छ। कुनै संरचना विदेशी संस्थाले निर्माण गर्ने कुनै विभाग र कुनै महानगरपालिकाले गर्ने भएकोले तिनको काम पनि त्यही अनुसार अगाडि बढेको पुरातत्व विभागले जानकारी दिएको छ।
निर्माणको वर्गिकरण भएको र जिम्मेवारी पनि दिइएकोले जिम्मेवार निकायहरु सबैले आफ्नो काम अगाडि बढीसकेकोले छिटो भन्दा छिटो पुननिर्माणको लागि विभाग लागिपरेको दाहालले प्रष्ट पारे। ‘नौ तले दरबार चिनिया संस्थाले निर्माण गर्ने भनेर अध्ययन गरिरहेको छ, त्यस्तै आँगाछेमा रहेको मन्दिरको पुननिर्माण जाइकाले गर्ने भन्दै अध्ययन गरिहेको छ’ दाहालले भने,‘उनीहरुले अक्टोबरबाट निर्माण थाल्ने जानकारी पनि दिइसकेका छन्।’
पुरातात्विक तथा ऐतिहासिक सम्पदाको पुननिर्माण गर्दा हचुवाको भरमा नुहुने भएकोले त्यसको संवेदनशिलता अनुसार काम अगाडि बढेको दाहालले स्पष्ट पारे। संग्राहलयका संस्कृति विद् दुवाल भने शब्दमामात्र गम्भिरता देखाएपनि व्यवाहरमा त्यस्तो नदेखिएको आफूहरुले महसुस गरेको बताउँछन्।
‘हामीसँग भेट्दा पनि उहाँहरु त्यही भन्नुहुन्छ, चिन्तित छौं भन्न लागेपनि एक वर्ष भन्दा बढी भइसक्यो’दुवालले भने,‘तर त्यो गम्भिरता केवल शब्दमा मात्र सिमित भयो।’ पुननिर्माणको ठोस काम आफूहरुले चाहेको र समुदायको तर्फबाट पनि जस्तोसुकै सहयोग गर्न सँधै तत्पर रहेको भएपनि सरकारी निकायहरुकै तदारुकता नहुँदा बसन्तपुर दरबार स्क्वाएरको पुरातात्विक महत्व हराएर जाने खतरा उत्पन्न भएको दुवालको बुझाई रहेको छ।