मृतक शिक्षककोे परिवारका लागि सहयोग सङ्कलन

                 खोटाङ, ७ भदौ । हेलिकोप्टर कुर्दाकुर्दै शुक्रबार साँझ ज्यान गुमाएका खोटाङका एक शिक्षकको आश्रित परिवारको सहयोगका लागि रकम सङ्कलन सुरु गरिएको छ ।

                      उच्च ज्वरोका कारण सिकिस्त बिरामी बनेपछि अस्पताल लैजान हेलिकोप्टरको प्रतिक्षा गर्दागर्दै ज्यान गुमाएका बुइपा–२ का शिक्षक दीपक राईका श्रीमतीसहित दुई नाबालिका छोरीको सहयोगका लागि रकम सङ्कलन सुरु गरिएको हो ।
सहयोग रकम सङ्कलनका लागि अमरकुमार राईको अध्यक्षतामा स्व शिक्षक दीपक राई स्मृति सहयोग समिति गठन गरिएको छ । सहयोग सङ्कलन समितिले शिक्षक राईको योगदानलाई स्मरण गर्ने वातावरण बनाउन अक्षयकोष खडा गर्ने र श्रीमतीसहित दुई आश्रित बालिकाको पठनपाठनको व्यवस्था मिलाउने जनाएको छ ।

शुभेच्छुकबाट सङ्कलन गरिने रु १० लाखमध्ये केही रकम शिक्षक राईकी ७ वर्षीया छोरी सुम्निमा र ५ वर्षीया छोरी डिम्पल राईको पठनपाठनमा खर्च गर्ने तथा बाँकी रकम अक्षयकोषमा जम्मा गरेर वार्षिकरुपमा जिल्लाका जेहेन्दार र मेहनति शिक्षकलाई पुरस्कृत गरिने सहयोग समितिका सदस्य–सचिव राजेश चाम्लिङले बताउनुभयो ।

आगामी असोज मसान्तसम्ममा रु दश लाख जम्मा गर्ने योजना बनाएको समितिले अहिलेसम्म रु दुई लाखभन्दा बढी सङ्कलन गरिसकेको जनाएको छ ।
राईकी जेठी छोरी सुम्निमा चम्पावती माविमा कक्षा–२ मा र कान्छी छोरी कक्षा–१ मा अध्ययनरत छिन् । शिक्षण पेसाले घरपरिवार धान्दै आएका ३४ वर्षीय शिक्षक राईको मृत्युले उनका छोरीहरुका साथै श्रीमतीको बिचल्ली भएको छ ।

उच्च ज्वरोले थलिएका चम्पावती उच्च मावि बुइपामा कार्यरत शिक्षक राईको प्रतिकुल मौसमका कारण हेलिकोप्टर नआउँदा गत साउन–२८ गते शुक्रबार साँझ मृत्यु भएको थियो । मृत्यु हुनुभन्दा केही दिनअघिदेखि रोगले थलिएका उनको निमोनियाका कारण मृत्यु भएको अनुमान गरिएको छ ।

ज्वरोको उपचारका लागि राजधानी काठमाडौं लैजान हेलिकोप्टरको प्रतिक्षा गरे पनि अन्तमा हेलिकोप्टर आउन नसक्दा शिक्षक राईको मृत्यु भएको व्यवस्थापन समितिका अध्यक्ष दिनेश राईले बताउनुभयो । शिक्षक राईको जिल्ला अस्पताल लैजानेक्रममा बुइपा र नुनथलाको बीचमा पर्ने महुरेडाँडामा पु¥याएपछि मृत्यु भएको थियो ।

जिल्ला अस्पतालसम्म पु¥याउन सदरमुकाम दिक्तेलबाट मगाइएको जिपसँग बाटोमा भेट भए लगत्तै राईको मृत्यु भएको आफन्तले बताएका छन् । दक्ष जनशक्तिको अभावमा जिल्लाका अधिकाँश बिरामीलाई चार्टर गरिएको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँका अस्पतालमा पु¥याउने गरिएको छ । रासस
–––––––


Facebook Comment


No ads found for this position