यी हुन् पाैडेल पक्षबाट मन्त्री हुने

भाद्र ९ ।नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरूका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो पक्षबाट पाँच जना सदस्यको नाम पक्का गरेको छ।

timthumbपौडेलनिकट स्रोतका अनुसार मन्त्रीका लागि कोषाध्यक्ष सीतादेवी यादव, दीपक गिरी, हृदयराम थानी, नवीन्द्रराज जोशी र रोमी गौचन थकालीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको छ। उनीहरूलाई कुन मन्त्रालय दिने सभापति शेरबहादुर देउवाले तोक्न बाँकी नै छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन पौडेल पक्षले ५ मन्त्री र ४ राज्य मन्त्री दिन सभापति देउवालाई दबाब दिएको थियो। तर, देउवाले १३ मन्त्रालयमा सबै पक्षलाई मिलाएर लैजाँदा चार भन्दाबढी दिन नसक्ने जानकारी गराएपछि पौडेल पक्षले सरकारमा सहभागी नहुने धम्की दिएको थियो।

त्यसपछि बुधबार साँझ देउवा निवास बुढानिलकण्ठमा पौडेल पक्षसँग भएको वार्तापश्चात देउवाले प्रधानमन्त्री दाहालसँग थप एक मन्त्रालय माग्दै पौडेल पक्षलाई पाँच मन्त्रालय दिने आश्वासन दिएपछि पौडेल पक्षका पाँच मन्त्रीको नाम टुंगो लागेको हो।

सभापति देउवाले आफ्नो पक्षबाट परराष्ट्रमा प्रकाशशरण महत, रक्षामा बालकृष्ण खाँण, अर्जुननरसिंह केसीलाई सहरी विकासमा पठाउने पक्का भएपनि थप एक सिटका लागि फरमुल्लाह मन्सुर, केशवकुमार बुढाथोकी मध्ये टुंगो लागिसकेको छैन। जीवनबहादुर शाहीलाई संस्कृति तथा पर्यटन मन्त्रालय दिने तयारीमा देउवा रहेको स्रोतले जनाएको छ।

पार्टी नेता कृष्णप्रसाद सिटौलाको तर्फबाट गगन थापाको नाम पठाउने तयारी भएपनि उनले पनि सहरी विकास मन्त्रालयमा दाबी गरिरहेको स्रोतले बतायो। खुमबहादुर खड्काको तर्फबाट शंकर भण्डारीको सम्भावना रहेको छ।

उनीहरूको नाम सभापति देउवाले प्रधानमन्त्रीलाई बिहीबार साँझ नै बुझाउने सम्भावना रहेको छ भने सपथ ग्रहण भने शुक्रबार बिहानमात्रै हुने छ।


Facebook Comment


No ads found for this position