मन्त्री भए लगतै कुन मन्त्रीले के भने

काठमाडौँ ।  त्रिशुलीमा बिहानै भएको बस दुर्घटनासँगै शुक्रबारको सुरुवात नै दुखद रहृयो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल उद्धारको काम गर्न र घाइतेको उपचारमा ध्यान दिन निर्देशन दिए ।
प्रधानमन्त्री पदको सपथग्रहण गरेकै दिनदेखि प्रायः हरेक दिन प्रधानमन्त्री प्रचण्डबाट निर्देशनहरु जारी हुँदै आएका छन् । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको शुक्रबार २२ दिन पुगेको छ । यसवीचमा उनले करिब तीन दर्जन निर्देशनहरु दिइसकेका छन् । उनले कतिपय यस्ता निर्देशन दिएका छन्, जुन विषयमा राज्य संयन्त्रले स्वतःस्फूर्त काम गर्नैपर्ने हुन्छ । तर, पनि निर्देशन जारी भइरहेका छन् ।
कुनै पनि दुर्घटनामा फसेका आफ्ना नागरिकको उद्धार गर्नु सरकारको परम कतव्र्य हो । तर, हरेक दुर्घटना/घटना वा समस्या समाधानका लागि सरकार प्रमुखले निर्देशन दिइरहनु कति स्वाभाविक कुरा हो भन्ने मनन गर्न आवश्यक देखिएको छ ।
एउटा उश्न उठेको छ, जनसेवाका लागि गठन भएका सरकारी संरचनाहरु निर्देशनविना डेग नचल्ने रोगले मुलुकमा बेथिति मौलाएको त होइन ? र, सुशासन कायम गराउने प्रतिवद्धता जनाएका प्रधानमन्त्रीले त्यसका लागि प्रत्येक गौंडामा अवरोध देख्दा निर्देशनको संख्यामा वृद्धि भएको पनि हुन सक्छ ।

Congress-Ministersनयाँ मन्त्रीको निर्देशन 

शुक्रबार मन्त्रिपरिषद विस्तार भयो । कांग्रेसका तर्फबाट १३ जनाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण लगत्तै मन्त्रीहरुले आ-आफ्नो मन्त्रालयमा पुगेर निर्देशन दिएका छन् । निर्देशन दिँदै अधिकांश मन्त्रीले राज्यबाट नागरिकले सुविधा पाउन नसकेको भन्दै त्यतातर्फ ध्यान दिन कर्मचारीलाई भनेका छन् ।
केही मन्त्रीले तिथिमिति तोकेरै निर्देशन दिए भने केहीले सोलोडोलो शैलीमा निर्देशन दिएका छन् ।

केशवकुमार बुढाथोकी  सामान्य प्रशासन मन्त्री

शुक्रबार सबैभन्दा रोचक निर्देशन सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले दिएका छन् । पहिलो दिन नै कर्मचारीलाई हप्काउने शैलीमा उनले भने, ‘तपाईहरु मेरो अगाडि देखा पर्ने होडमा नलाग्नुस् ।’
मन्त्री बुढाथोकीले अधिकांश समय विकट जिल्लामा बसेका र विदेश भ्रमणबाट बञ्चित रहेका कर्मचारीहरुको सूची तयार गर्न मन्त्रालयका सचिव टंकमणि शर्मालाई निर्देशन दिए ।
उनले कर्मचारी सरुवा-बढुवामा दलीय आस्थालाई नहर्ने समेत बताए ।

जीवनबहादुर शाहीः संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री

मन्त्री शाहीले पदभारका क्रममा शुरुमा कर्मचारीलाई हौस्याउँदै भने, यो मन्त्रालयका लागि सबैभन्दा विज्ञ भनेकै तपाईहरु नै हो । म राजनीतिक मान्छे हुँ, तपाईहरुलाई सघाउन  आएको ।
मन्त्री शाही यतिमा मात्रै चुप लागेनन्, उनले आफ्नो कार्यकालमा परिणाममुखी काम हुनुपर्ने भन्दै कर्मचारीहरुलाई स्पष्ट कार्ययोजना ल्याउन निर्देशन दिए ।
मन्त्री शाहीले अन्र्तराष्ट्रिय विमानस्थलमा तत्काल देखिने गरी सुधार गर्न निर्देशन दिएका छन् । उनले विमानस्थल आसपास सफा र व्यवस्थित गर्न र ट्वाइलेट सफा राख्न निर्देशन दिएका छन् ।
शाहीले निर्देशनमा भनेका छन्, एक साताभित्र सुधार देख्न पाउँ, विदेशीहरु एयरपोर्ट आउँदा नाक थुन्नु नपरोस् ।

गगन थापा, स्वास्थ्य मन्त्री

स्वास्थ्य मन्त्री थापाले वैदेशिक रोजगारीमा जाने युवाहरु स्वास्थ्य परीक्षणमा असफल भएर फर्किने स्थितीको अन्त्यका लागि काम गर्न निर्देशन दिए ।  उनले त्यसका लागि मन्त्रालयका ११ तहका कर्मचारी नेतृत्वको समिति नै गठन गरेर त्यस्तो समस्याको अध्ययन र छानविन गर्न निर्देशन दिए ।

दीपक गिरी, सिंचाइँ मन्त्री

सिँचाइ मन्त्री दीपक गिरीले विभिन्न जिल्लामा हरेक बर्ष बाढीबाट पीडितको समस्या समाधानका लागि योजना ल्याउन निर्देशन दिए । उनले तत्काल ती ठाउँहरुमा आगामी वर्ष समस्या आउन नदिने काम शुरु गर्न निर्देशन दिएका छन् ।
यस्तै कर्मचारीमा अनुशासनहीन प्रवृत्ति मौलाएको भन्दै मन्त्री गिरीले अनुशासित बन्नसमेत निर्देशन दिए ।
सीतादेवी यादवः शान्ति तथा पुनर्निर्माण मन्त्री
मन्त्री यादवले ढीलासुस्ती र अपारदर्शिताको अन्त्य गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । कर्मचारीहरुमा ढिलासुस्तीको समस्या रहेको र त्यसको मारमा सेवाग्राही परेको भन्दै उनले चुस्त दुरुस्त अवस्थामा रहेर सेवा प्रवाहमा जुट्न निर्देशन दिइन् ।

बालकृष्ण खाँड,  रक्षामन्त्री

नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँडले भने पदभारका क्रममा कुनै निर्देशन दिन भ्याएनन् । पदभारका क्रममा उनले नेपाली सेनाको गौरवपूर्ण इतिहासको व्याख्या गर्दै प्रशंसा मात्रै ।

शंकर भण्डारी,  वन मन्त्री

वन मन्त्रीका रुपमा सपथ खाएका कांग्रेस नेता शंकर भण्डारीले पदभार ग्रहण गर्दागर्दै कर्मचारीको इमान्दारितामा प्रश्न उठाए । उनले नियमित कार्यालय आएर इमान्दार भएर काम गर्न समेत निर्देशन दिए ।
मन्त्री भण्डारीले मन्त्रालयअन्र्तगतका विभागका संरचना व्यवस्थित गर्न समेत निर्देशन दिएका छन् । यस्तै उनले पूर्ननिर्माणका लागि आवश्यक काठ जनतालाई सुलभ मूल्यमा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् ।

सूर्यमान गुरुङ्ग, श्रम तथा रोजगार मन्त्री
कांग्रेस ज्येष्ठ नेता तथा श्रम तथा रोगजार मन्त्री सूर्यमान गुरुङ्गले कर्मचारीलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । उनले इमान्दारिताका साथ काम गर्ने कर्मचारीलाई आफ्नो साथ रहने भन्दै दायाँ दायाँ नगर्न चेतावनीसमेत दिन भ्याए । उनले वैदेशिक रोजगारमा जाँदा फ्री भिसा र फ्री टिकेटको विषयमा विवाद रहेकाले त्यसबारे अहिल्यै केही नबोल्ने बताए । उनले भने-यसबारे विवाद रहँदै आएको देखेको छु, थप अध्ययन गरेर निर्णय लिन्छु ।
मन्त्री गुरुङ्गले मन्त्रालयका बारेमा कर्मचारीहरुसँग विस्तृत छलफल गरेर काम गर्ने बताए ।

हृदयराम थानी,  सहकारी मन्त्री

थानीले सहकारी तथा गरिवी निवारण मन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । उक्त मन्त्रालयलाई कम आकर्षक मन्त्रालयका रुपमा पनि हेरिन्छ । मन्त्री थानीले धेरै निर्देशन दिन चाहेनन् । उनले सहकारीको अवधारणा अनुसार जनताको सेवालाई लक्ष्य बनाउन र त्यहीअनुसार काम गर्न निर्देशन दिए ।

नविन्द्रराज जोशी, उद्योग मन्त्री

मन्त्री नविन्द्रराज जोशीले सार्वजनिक सेवालाई जनमुखी बनाउन निर्देशन दिए । उनले भने, जनताले अनुभूति गर्ने गरी सेवा प्रदान गर्नुपर्छ, उनीहरुले पाउने सुविधामा कमी आउनुभएन ।’
मन्त्री जोशीले कर्मचारीले अगाडि बढाएका विषयलाई आफूले सहज तुल्याउने भन्दै जिम्मेवार भएर काम गर्न निर्देशन दिए ।

प्रकाशशरण महत,  परराष्ट्र मन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले परिणाम देखिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयका सबै कामहरुबारे आफुलाई नियमित जानकारी गराउन निर्देशन दिए ।
मन्त्री महतले नियुक्त भएर विभिन्न देशमा जान लागेका राजदूतहरुले स्रोतसाधनको अत्यधिक प्रयोग गरेर काम गर्न र कुटनीतिक क्षेत्रलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

धनीराम पौडेल, शिक्षा मन्त्री

पहिल्यै सपथ ग्रहण गरिसकेर शुक्रबारमात्रै शिक्षा मन्त्रीको रुपमा पदभार ग्रहण गरेका धनीराम पौडेल नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री हुन् ।
उनले दुई साताअघि नै मन्त्रीको रुपमा सपथ खाइसकेका थिए ।  तर, मन्त्रालय भागवण्डाको विवादले उनी विनाविभागिय मन्त्रीका रुपमा रहेका थिए । शिक्षा मन्त्रालय माओवादीलाई दिन कांग्रेस सहमत भएपछि मन्त्री पौडेलले शुक्रबार पदभार ग्रहण गरे । उनले शिक्षालाई सर्वसुलभ र सहज बनाउन निर्देशन दिएका छन् ।
यस्तै संघीय संरचना अनुसार शिक्षाको स्वरुप परिवर्तन गर्दै लैजान पनि शिक्षा मन्त्रीको निर्देशन छ । मन्त्री पौडेलले भूकम्पपछिको विद्यालयको पुर्नसंरचनालाई प्राथमिकताका साथ तिब्रता दिन समेत निर्देशन दिएका छन् ।


Facebook Comment


No ads found for this position