विमानस्थल अनुगमनमा निस्किएका पर्यटन मन्त्रीले के देखे ?


विमानस्थलको शौचालयको दुरावस्था र ‘लगेज’ व्यवस्थापन तथा समग्र सरसफईको अवस्था सन्तोषजनक नभएको भन्दै उनले कर्मचारीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएका थिए। पदभार ग्रहण गरेको तेस्रोदिन अर्थात आइतबार बिहान झिसमिसेमा मन्त्री शाही विमानस्थलमा पुगे कसैले थाहा नपाउनेगरी प्राइभेट गाडीमा।
के देखे मन्त्रीले विमानस्थलमा ?
उनले आफूले पदभार ग्रहण गर्दा बखत अधिकारीहरुलाई दिएको निर्देशन पालना भएको छ कि छैन भन्दा पनि त्यहाँको वास्तविकता कस्तो छ भनेर बुझ्न गएको बताए। यद्यपी त्यहाँ पुगिसकेपछि आफूले निर्देशन दिइसकेपछि केही सुधारका कामहरु भएको र केही भईरहेकोे पाएको सेतोपाटीसँग उल्लेख गरे।
‘शौचालय, लवी तथा बाहिरको सरसफाईलाई तीव्रता दिइएको रहेछ’ मन्त्री शाहीले भने,‘तर यो एकदिन मन्त्रीले दिएपछि हुने अनि पछि विस्तारै हराउँदै जाने नहोस भनेर सचेत गराएको छु।’
अन्तर्राष्ट्रिय विमानस्थल भनेको देशको मूलद्वारमात्र नभई यो मुलुकको प्रतिष्ठासँग पनि जोडिएकोले यसको सरसफई गर्नु गराउनु सबैको दायित्व भएको र स्वच्छता निर्देशनबाट भन्दा पनि संस्कृतिको रुपमा विकास हुनुपर्ने धारणा राखे।
‘विमानस्थलतको सरसफइ र व्यवस्थापन त मेरो सपना हो’ उतले सेतोपाटीसँग भने,’यसको लागि ठूलो काम गर्नैपर्दैन भएका कुराहरुलाई व्यवस्थापन र बानीमा सुधार मात्र गर्दा हुन्छ।’ मन्त्री शाहीले आफ्नो कार्यकालमा यस्तै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
दिँउसो र अफिस टाइममा खवर गरेर जाँदा देखावटीजस्तो हुने भएकाले आफू विहान नै गएको र त्यहाँ जाँदा देखिएका कमजोरीहरु सच्याउन लगाएको बताए। आफू विमानस्थल सुधारका लागि निरन्तर लागिपर्ने मन्त्रीले प्रतिवद्धता व्यक्त गरे।
‘विमानस्थल जतिबेला पनि चालु हुन्छ, कर्मचारीहरु सबैतिरका उत्तिनै खट्नुपर्छ जुन अलिक देखिएन’ मन्त्रीले भने।त्यस्तै सरसफाई लगायतका काममा खटिएकाहरुदेखि व्यवस्थापन तहसम्मका सबैले जिम्मेवार भएर काम गर्नुपर्ने भन्दै उनले यसमै समस्या पाएको मन्त्री शाहीले सुनाए। त्यस्तै सेवाग्राहीमा पनि इमान्दार, नैतिकता हुनुपर्नेमा मन्त्रीको जोड छ।

‘सुविधा चाहिँ यूरोप अमेरिकाको खोज्ने अनि शौचालयको प्यानमा सुर्तिको कागज फाल्ने?’ प्रश्न गर्दै उनले भने,‘सबैले उत्तिकै जिम्मेवार भएकार लाग्नुपर्छ’! मन्त्रीले नीतिगत तहबाट गर्नुपर्ने जति सबै काममा आफू कहिलै बाधक नबन्ने तर असल प्रायोजनको लागि गरिने काममा बाधक बन्नेजति कसैलाई पनि नछोड्ने बताए।
आज आफू विमानस्थलको अवस्था आफ्नै आँखाबाट हेर्नको लागि गएको र आगमी दिनमा सुधारको लागि तत्काल काम थालनी गर्नेगरी अध्ययनमा लागेको मन्त्री शाहीले बताए। मन्त्रीले आफू प्रचारबाजीभन्दा पनि काम गर्न आएकोले राम्रो काम गरेमा सबैतिर आफै चर्चा हुनेभएकाले त्यतातिर नलाग्ने अठोट पनि व्यक्त गरे।