कांग्रेसप्रति मोर्चा सशंकित

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तीन बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा नेपाली कांग्रेससँग सशंकित देखिएको छ । मोर्चाका नेताले तीन बुँदे सहमतिप्रति कांग्रेस गम्भीर नबनेको आरोप लगाएका छन् । सहमतिको पहिलो बुँदाले ‘राजनीतिक वृत्तमा गम्भीर छलफलको माग गरे पनि त्यसो हुन नसकेको’ उनीहरूको आरोप छ ।

morcha-meeting-kathmandu-1उक्त बुँदामा ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनले नेपाल सरकारसमक्ष प्रस्तुत गरेका मागहरूमध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरूमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने’ उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भने आफू भारत भ्रमणमा जानुअगावै संविधान संशोधन प्रस्ताव अघि बढाउने आश्वासन दिएका छन् । यद्यपि, नेकपा (एमाले)को पनि सहमति आवश्यक रहेको मोर्चाका नेता बताउँछन् ।

ती पार्टीमा तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेताले पहल नगर्दा कांग्रेस सहमति कार्यान्वयनमा उदासीन बन्दै गएको तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताए ।

“दाहालको नेतृत्वमा सरकार गठनअघि कांग्रेसका नेताहरूले देखाएको सक्रियतामा अहिले कमी आएको महसुस भइरहेको छ,” अध्यक्ष यादवले भने । बुँदा नम्बर २ कार्यान्वयन हुनेमा पनि मोर्चाका नेताले आशंका गरेका छन् ।

उक्त बुँदामा ‘आन्दोलनका क्रममा भएका घटनाहरूबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने, आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने तथा पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने, अपांग भएकाहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने, घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, आन्दोलनका क्रममा लागेका मुद्दा खारेजी/फिर्ता गर्ने र बन्दी रिहाइ गर्नेबारे सरकारले आवश्यक निर्णय गरी शीघ्र कार्यान्वयन गर्ने’ भनिएको छ ।

तेस्रो तथा अन्तिम बुँदाअनुरूप प्रधानमन्त्री निर्वाचनमा मोर्चाले दाहालको पक्षमा मतदान गरेको थियो । “प्रधानमन्त्रीले भारत भ्रमणमा जानुअगावै संशोधन विधेयक दर्ता गराउने भन्नुभएको छ,” यादवले भने, “त्यतिञ्जेल त पर्खनुपर्ने हुन्छ । हामी पर्खन्छौं पनि ।”

माग सम्बोधन गर्न गम्भीर छु : निधि  

नेपाली कांग्रेसका नेतासमेत रहेका उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले तीन बुँदे सहमति कार्यान्वयनमा आफू गम्भीर रहेको बताएका छन् । “संविधान संशोधनका लागि पनि काम भइरहेको छ,” सरकारमा कांग्रेसको नेतृत्व गरेका मन्त्री निधिले भने, “मधेसका माग सम्बोधन गर्न म गम्भीर छु ।”

निधिले सहमति कार्यान्वयनमा उदासीन भन्नु गलत भएको प्रतिक्रिया दिए । सहमतिको दोस्रो बुँदा कार्यान्वयनमा भएका प्रगतिबारे मोर्चाका नेतालाई जानकारी गराइसकेको उनले सुनाए ।

कांग्रेसकै केन्द्रीय सदस्य बद्री पाण्डेले मोर्चाका माग सम्बोधन अहिलेको प्रमुख विषय भएको बताए । “उहाँहरूका मागको सुनुवाइ खोजेर संविधान कार्यान्वयनमा अग्रसर हुनुपर्छ,” नेता पाण्डेले भने, “पार्टीका शीर्ष नेता र कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले मोर्चासँग अनौपचारिक छलफल गरिरहेको बताउनुभएको छ ।”

उनले संविधान कार्यान्वयनका साथै विभिन्न तहका निर्वाचनका लागि पनि मोर्चाका माग सम्बोधन गर्नुपर्ने भएकाले पार्टीभित्र औपचारिक छलफल हुनुपर्ने बताए ।

सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा रहेको र उनले कार्यवाहकसमेत कसैलाई नदिएका कारण तत्काल पार्टीभित्र छलफलको सम्भावना नरहेको एक नेताले बताए ।


Facebook Comment


No ads found for this position