पाल्पा दरबारको सङ्ग्रहालय प्रयोगमा आउन सकेन

भाद्र १४ | द्वन्द्वकालीन समयमा ध्वस्त भई पुनःनिर्माण भएको पाल्पा दरबार सङ्ग्रहालयको रुपमा सञ्चालन हुने भनिएतापनि हालसम्म प्रयोगमा आउन सकेको छैन । २०६२ साल माघ १८ गते माओवादी आक्रमणमा ध्वस्त भएको पाल्पा दरबार २०७० साउनमा निर्माण कार्य सम्पन्न भएको थियो । स्थानीय राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यापारीले दरबारलाई सङ्ग्रहालय बनाउनुपर्ने माग गर्दै आएका थिए ।

झन्डै सात करोडको लागतमा निर्माण भएको दरबारमा चारवटा तल्ला, ६४ वटा कोठा, दुईवटा बुर्जा र दुईवटा बैठक हल रहेको छ । तत्कालीन शासक जनरल प्रतापशमशेरले १९८३ सालमा निर्माण गरेको पाल्पा दरबारलाई जिल्लाकै गौरवको रुपमा लिइएको छ ।