उत्तर अमेरिकामा ‘नेपाल गुड्छ’

  उपेन्द्र लामिछाने

एकातिर सगरमाथा, बौद्ध स्तुप, गौतम बुद्ध अनि पशुपतिनाथ । अर्कातर्फ फेवाताल, माछापुच्छ्रे, पाटेबाघ, गैंडा, प्याराग्लाइडिङ, र्‍याफ्टिङका मनोहर दृश्य।यीसँगै चन्द्रसूर्य अंकित राष्ट्रिय झन्डाले शोभित ५३ फिट लामो  ट्रकले सिंगो नेपाल बोकिरहेझैं लाग्छ। त्यो पनि विदेशी भूमिमा। दाङबाट क्यानडा पुगेका एनबी टण्डन उत्तर अमेरिकी भूमिमा तीन वर्षयता यही ट्रक गुडाइरहेछन्। पराई मुलुकमा रोजीरोटी जोहो गर्दै स्वदेश चिनाइरहेछन्।

truckरोजगारी सिलसिलामा ११ वर्षदेखि क्यानडा बस्दै आएका ४८ वर्षीय टण्डनले सुरुमा अरूको पारवहन कम्पनीमा सवारीचालक भएर काम गरे। गाडी लिएर दूरदराजको यात्रा गर्ने क्रममा उनलाई त्यसैलाई माध्यम बनाएर नेपाल चिनाउने विचार पलायो। सन् २०१२ मा राप्ती ट्रान्सपोर्ट इन्क नाम दिएर कम्पनी खोले। अनि आफ्नै ट्रक किने। त्यसको ‘बडी’लाई नेपाली सम्पदाले सिँगारे। उनी त्यही ट्रकमा दैनिक प्रयोजनका सामग्री बोकेर अमेरिकासम्म पुग्छन्। अहिले यही काम उनको परिचय बनेको छ। धेरैले उनलाई ‘नेपाल बोक्ने मान्छे’ भनेर चिन्छन्। ‘हो मलाई धेरैले नेपाल बोक्ने मान्छे पनि भन्छन्,’ उनले भने, ‘विदेशी भूमिमा नेपाल चिनाउन पाउँदा खुसी लाग्छ।’

पारवहन सेवाका लागि क्यानडामा गुड्ने २९ लाखमध्येको एक हो, टण्डनको यो ट्रक। क्यानडाबाट दैनिक ६० हजार ट्रक अमेरिकाका विभिन्न राज्य पुग्छन्। त्यति नै उताबाट फर्कन्छन्। ‘यही यात्रामा हाम्रो नेपाल पनि पुग्छ,’ उनले भने, ‘अरूभन्दा फरक कलाकृति भएकाले सबैका आँखामा परेको छ।’ ट्रकमा नेपाली सम्पदा कुँद्न निकै खर्च लागेको सुनाउँछन् उनी। पाँच वर्षसम्म रङ नखुइलिने, खुइलिए अर्को बनाइदिने ग्यारेन्टीसहितको ‘फ्लेक्स’ प्रयोग गरेका छन्।

सामान बोकेर ५ हजार किलोमिटरसम्म यात्रा गर्ने टण्डनसँग बाटोमा भेटिएका मानिसले ट्रक निकै चाख मानेर हेर्ने गरेको अनुभव छ। ‘अमेरिकाका ४८ राज्य र क्यानडाका अधिकांश ठाउँमा यो ट्रक पुगेको छ,’ उनले भने, ‘मानिसहरू यसमा अंकित तस्बिरबारे  जिज्ञासा राख्छन्, नेपालबारे सोध्छन्।’

त्यस्ता जिज्ञासुमध्ये कति जना नेपाल भ्रमण गरिसकेका व्यक्ति  पनि हुन्छन्। उनीहरूले आफूलाई अँगालो मारेर खुसी दर्शाउने गरेको टण्डनले सुनाए। ‘जता गएँ सबैतिर तारिफ पाएँ,’ भन्छन्, ‘ट्रकमा मोबाइल नम्बर पनि लेखेको छु, त्यसमा फोन गरेर नेपालबारे सोध्ने पनि धेरै हुन्छन्।’

सर्वसाधारण ट्रकछेउ उभिएर तस्बिर खिचाउँछन्। टन्डनलाई धन्यवाद दिन्छन्। उनी भने विदेशीलाई एकपटक नेपाल घुम्न निम्तो दिन्छन्। ‘मेरो देश यहाँ देखिएका चित्रभन्दा पनि सुन्दर छ भन्ने गर्छु,’ उनले सुनाए, ‘म उनीहरुलाई एकपटक नेपाल घुमेर आउन  आग्रह गर्छु।’

टण्डन अहिले एकमहिने बिदामा स्वदेश आएका छन्। गत आइतबार राजधानीमा भेटिएका उनले पटकपटक दोहोर्‍याए, ‘नेपाल चिनाउने काममा लाग्न पाउँदा गर्व लागेको छ।’

दाङमा जन्मिएका उनी एसएलसीपछि राजधानीमा काम गर्न थाले। यहाँ बस्दा पनि सामाजिक काममा सक्रिय हुन्थे। त्यही क्रममा रोजगारीका लागि क्यानडा जाने अवसर पाए। तर, स्वदेश कहिल्यै भुलेनन्। यहाँका हरेक घटनासँग अद्यावधिक भइरहे।

अघिल्लो वर्षको शक्तिशाली भूकम्पपछि उनको राष्ट्रप्रेम अझ प्रस्टियो। ट्रककै कारण बनाएको छविले निकै काम गर्‍यो। उनले क्यानडादेखि अमेरिकासम्म भेटेजतिलाई नेपालको पुनर्निर्माणमा सघाउन आग्रह गरे। थुप्रै उत्तर अमेरिकीले सहयोग पठाएको बताउँछन् उनी। ‘क्यानडामा रहेका नेपालीमार्फत् सहयोग जम्मा भयो,’ उनले भने, ‘नेपालका पीडितका हातमा त्यो पुर्‍यायौं।’

क्यानडामा चालकलाई सम्मानको दृष्टिले हेरे पनि नेपालमा त्यस्तो नरहेको उनको बुझाइ छ। यो पेशाको छवि सुधार्ने अभियानमा समेत छन् उनी।

 टण्डनकै पहलमा क्यानडा र अमेरिकामा ‘ड्राइभिङ’ पेसा अँगालेका नेपालीको छुट्टै संगठन स्थापित छ। त्यसले  नेपालको स्वास्थ्य र शिक्षाक्षेत्रमा योगदान गर्ने लक्ष्य लिएको छ। ‘हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पहिले हामी नै बदलिनुपर्छ,’ उनले भने, ‘त्यसैले हामी नेपालका दुर्गम गाउँसम्म सेवा पुर्‍याउने सोचमा छौं।’

विदेशी भूमिमा स्वदेश चिनाउने टण्डनको यो कदमको सरकारले समेत कदर गरेको छ। पर्यटन बोर्डको सिफारिसमा सरकारले १९ मे २०१६ देखि उनलाई क्यानडाका लागि मानार्थ पर्यटनदूत नियुक्त गरेको छ।

उनी झनै उत्साहित भएका छन्। अहिले दाङको तुलसीपुर नगरपालिका र क्यानडाको ब्राम्टन नगरपालिकालाई ‘मित्र–नगरपालिका’ घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको टण्डनले जानकारी दिए। यसबाहेक पर्यटन प्रवर्द्धनका लागि विद्यार्थी प्याकेजसमेत तयारी भइरहेको उनले बताए।


Facebook Comment


No ads found for this position