‘साइकलप्रेमी’ मन्त्रीको हेलिकोप्टर चढेको भाडा तिर्न बाँकी

१७ भदौ, काठमाडौं । निवर्तमान जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख रुपैयाँ बक्यौता छ।सुरुमा साइकल चढेर चर्चामा रहेका मन्त्री पासवान एक महिनापछि गाडी चढ्न थालेका थिए। त्यसपछि जिल्लाका कार्यक्रम जाँदा प्रायजसो हेलिकोप्टर चढ्ने गर्थे।

cycle mantriबहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवान मन्त्रीबाट बाहिरिएको एक महिना भइसकेको छ । तर, उनले भाडामा हेलिकोप्टर चढेको रकम अझै भुक्तानी भएको छैन।

पासवानले मन्त्रालयको खर्च कम गर्ने तथा वातावरणमैत्री भन्दै सुरुमा साइकल चढेर मिडियामा प्रचारबाजी गरेका थिए। पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ नपाएपछि पासवान गौशालामा भाडाको घरमा बस्थे। गौशालादेखि मन्त्रालय उनले साइकलबाटै ओहोर–दोहोर गर्थे। पासवानको साइकल यात्रा एक महिनासम्म मात्र चलेको मन्त्रालयका एक कर्मचारीले बताए। ‘मन्त्रीज्यू करिब एक महिनासम्म त साइकलमा आउने–जाने गर्नुभयो,’ ती कर्मचारीले भने, ‘त्यसपछि साइकल छाडेर गाडीमै आउने–जाने गर्नुभयो ।’

मितव्ययी भन्दै साइकलप्रेमी बनेका तत्कालीन मन्त्री पासवान एक महिनापछि गाडीमा र त्यसपछि हेलिकोप्टर प्रयोगमा अगाडि देखिएका हुन्।

मन्त्री छँदा पासवानले सेनाको हेलिकोप्टर पटक–पटक प्रयोग गरेका थिए। मन्त्रालयका अनुसार आफ्नो कार्यकालमा उनको हेलिकोप्टर भाडा मात्र १७ लाख रुपैयाँभन्दा धेरै पुगेको थियो । तर, पछिल्लो दुईपटक हेलिकोप्टर चढेको भाडा तीन लाख ७२ हजार नौ सय १४ रुपैयाँ मात्र उनले नबुझाएका हुन्।

पासवानले काठमाडौंदेखि गौर, राजापुर गोलठा भन्ने ठाउँमा जाँदा दुई घन्टा ३५ मिनेटको दुई लाख १६ हजार ६ सय ७० रुपैयाँ र काठमाडौं–सिरहा ओहोर–दोहोर गर्दाको एक घन्टा ४५ मिनेटको एक लाख ५६ हजार दुई सय ४४ रुपैयाँ भाडा रकम बुझाउन बाँकी रहेको सैनिक स्रोतको भनाइ छ।

पासवानले धेरैजसो सामान्य तथा पार्टीको काममा जाँदा र केहीपटक सोलार उद्घाटन गर्न जाँदा हेलिकोप्टर प्रयोग गर्ने गरेको मन्त्रालय स्रोतले बतायो। हेलिकोप्टर भाडाका लागि मन्त्रालयमा निरन्तर ताकेता गर्दा पनि भुक्तानी नभएको सैनिक स्रोतले बतायो। सेनाको हेलिकोप्टर प्रयोग गरेपछि मन्त्री स्वयं वा मन्त्रालयले भाडा बुझाउनुपर्ने सेनाको भनाइ छ।

जनसंख्या तथा वातावरण मन्त्रालयकी प्रवक्ता लक्ष्मी बस्नेतले तत्कालीन मन्त्री विश्वेन्द्र पासवानले सेनाको हेलिकोप्टर प्रयोग गरेको भाडा रकम मन्त्रालयले नतिर्ने बताइन्। मन्त्रीको भ्रमण खर्च प्रधानमन्त्री कार्यालयले बेहोर्ने व्यवस्था छ। ‘मन्त्रालयको बजेट निश्चित हुन्छ, सोहीअनुसार खर्च गर्नुपर्ने हुन्छ,’ प्रवक्ता बस्नेतले भनिन्, ‘मन्त्रीज्यूले गर्ने भ्रमण खर्च मन्त्रालयले बेहोर्न सक्दैन । हेलिकोप्टर भाडा उहाँ आफैँले तिर्दा उत्तम हुन्छ।’ पासवानले चढेको हेलिकोप्टर भाडा करिब १७ लाख रुपैयाँ पुगे पनि बक्यौताबाहेकको रकम पार्टी तथा कार्यकर्ता र निम्तो गर्नेले तिरेको मन्त्रालयका कर्मचारीको भनाइ छ। तर, प्रवक्ता बस्नेतले क–कसले भाडा तिरिदियो भन्ने विषयमा जानकारी नभएको बताइन् ।


Facebook Comment


No ads found for this position