दुई वर्ष बितिसक्दा पनि हवाईमैदान निर्माण प्रक्रिया अघि बढेन

पाँचथर, १६ भदौ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको दुई वर्ष बितिसक्दा पनि पाँचथरको रानीटारमा हवाईमैदान निर्माण प्रक्रिया सुरु हुन सकेको छैन ।

khanidada airpotरानीटार–५ र ६ को सङ्गमस्थलमा पर्ने स्याउडाँडामा हवाई मैदान निर्माणार्थ स्थानीयस्तरबाट आवश्यक प्रक्रिया पूरा गरिएपनि सरोकारवाला निकायले ठोस कदम नचाल्दा काम अघि बढ्न नसकेको हो ।

मैदानका लागि आवश्यक पर्ने करिब ४२५ रोपनीमध्ये ८० प्रतिशत जग्गा स्थानीयवासीले उपलब्ध गराउन मञ्जुरिनामा दिइसकेको भएपनि सरकारी मातहतमा ल्याउन पहल नहँुदा कामले गति लिन नसकेको आरोप जग्गादाताले लगाउन थालेका छन् ।

स्थानीयस्तरमा आवश्यक तयारी पूरा गरेपछि मन्त्रिपरिषद्को २०६९ असोज २८ गते बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्याउडाँडामा विस्तृत अध्ययन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार प्राधिकरणले सोही वर्ष सर्भेक्षण सकेको थियो ।

तर डिपिआर सम्पन्न भएको तीनवर्ष बित्दा पनि स्थानीयवासीले उपलब्ध गराएको जग्गा सरकारी स्वामित्वमा ल्याउने र हवाई मैदानका लागि पूर्वाधार निर्माण गर्ने काम सुरु नहुँदा निराश हुनु परेको जग्गादाता बलबहादुर गुरुङको गुनासो छ ।

उहाँले भन्नुभयो, “हामीले यहाँ हवाईमैदान निर्माण हुने आशाले जग्गासमेत उपलब्ध गरायौँ, तर अहिलेसम्म राज्यले कुनै पहल अघि बढाउन सकेन ।” उक्त स्थानमा हवाई मैदान निर्माणका लागि उपयुक्त हुने विभिन्न अध्ययन प्रतिवेदनले स्पष्टरुपमा उल्लेख गरेका छन् ।

स्थानीयवासीले उत्साहका साथ लिएको हवाई मैदान निर्माणका लागि जिल्लाकै महत्वपूर्ण विकास योजनाका रुपमा अगाडि बढाउनका लागि प्रयास गरिएपनि जिल्लाका राजनीतिक दल र जिविसजस्ता सरोकारवाला निकायले उक्त कामलाई उच्च प्राथमिकतामा नराख्दा काममा ढिलाइ भएको आरोप अर्का स्थानीयवासी देव गुरुङको छ ।

प्राधिकरणले जिल्लाका पाँच स्थानमा गरेको प्रारम्भिक अध्ययनका क्रममा उक्त स्थान छनोट भएको थियो । हवाई मैदानको भौगोलिक अवस्था, मौसमजस्ता विषयमा विस्तृत अध्ययन गरिएको थियो । हवाई मैदानलाई आवश्यक पर्ने सो क्षेत्रको करिब ४२५ रोपनी जग्गा जग्गाधनीले प्रदान गर्ने लिखित निर्णय भएको छ भने जग्गाधनीलाई सरकारी मूल्याङ्कनका आधारमा मुआब्जा दिन गाविस र जिल्लास्तरमा सहमति भइसकेको छ ।

सम्भाव्यता अध्ययनपछि विस्तृत अध्ययन, जग्गाको रेखाङ्कन गर्ने काम भइसकेको छ । हवाईमैदान निर्माणका लागि मन्त्रालयले गरेको विस्तृत अध्ययनका क्रममा १६ करोड ५४ लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको छ । ६७० मिटर रनवे, ४० मिटर चौडाइको हवाईमैदान निर्माण गरिने विस्तृत प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रमा ४५ कित्ता जग्गा रहेको बताइएको छ ।


Facebook Comment


No ads found for this position