तिब्बती हटिया खुलेपछि…
१८ भदौ, । सामागाउँ ५ का मिङ्मार लामा साउन २६ गते गाउँको गन्नेमान्ने पाँच जनाका साथमा तिब्बतको कोङदाङ सहस गए। अघिल्ला वर्षहरूमा जस्तै त्यहाँको सरकारका प्रतिनिधि (स्याङताङ) भेटेर सीमाना खुलाइदिन आग्रह गरे। हरेक वर्ष यार्सागुम्बा टिपिसकेपछि खुल्ने नाका यस वर्ष खुल्न ढिला भइसकेको थियो। स्याङ्तालङले भदौ १० गतेभित्र नाका खुलाउने निर्णय गरी टेलिफोन गर्ने वचन दिए। नभन्दै भदौ १० गतेदेखि सामागाउँको रूइला नाका १५ दिनको लागि खुल्यो।
एक वर्षदेखि बन्द रहेको नाका खुल्दा खुसी भएका सामागाउँ, ल्हो, प्रोक र बिहि गाविसका एक हजार घरधुरीका बासिन्दा बाँध फुटेपछिको खोलाझै गोठमा रहेका याक, नाक, झोपा लर्कन लिएर तिब्बततिर जान थाले।
मिङ्मारको टोली बिहीबार बिहान खाजा खाएर साढे ६ बजेतिर याक, चौरी, झोपा धपाउँदै कोङ्दाङ हिँडे। उनका साथमा गाउँका २२ जनाको टोली थियो।