अझै टेकोकै भरमा सम्पदा

प्रशान्त माली 

१८ भदौ,पाटन  । भूकम्प गएको १५ महिना बित्दा पनि क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मठमन्दिर पुनर्निर्माणको काम सुरु भएका छैनन् । अहिले विश्वनाथ र भीमसेन मन्दिर जेनतेन टेकोले अडाइएका छन् । दरबार स्क्वायरस्थित मणिमण्डप पाटी, हरिशंकर, विश्वनाथ, कृष्ण, चार नारायण मन्दिर, बहादुर शाह भवन र आँगन घर पुनर्निर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोषले लिएको छ । भीमसेन मन्दिर र मंगलबजारको पुरानो अदालत भवन निर्माणको जिम्मा भारत सरकारले लिएको छ ।

patanपुरातत्त्व विभाग दरबार हेरचाह कार्यालयले भीमसेन मन्दिर र अदालत भवन पुनर्निर्माणका लागि लागत इस्टिमेटसहितको डिजाइनको काम भइरहेको दाबी गरेको छ । कार्यालयका इन्जिनियर ध्रुव अधिकारीले भदौभित्रमा डिजाइन तयार भइसक्ने बताए । ‘त्यसपछि हस्तान्तरण गर्छौं,’ उनले भने, ‘अनि पुनर्निर्माणको काम अगाडि बढ्छ ।’

काठमाडांै उपत्यका संरक्षण कोषले शिखर शैलीको विश्व प्रसिद्ध कृष्ण र विश्वनाथ मन्दिर पुनर्निर्माणका लागि ‘स्केफ फोल्डिङ’ लगाइसकेको बताए । कोषका निर्देशक रोहित रञ्जितकारले तीनतले हरिशंकर, छत्र शैलीको चार नारायण र मणिमण्डप पाटी पुनर्निर्माणका लागि सर्वसाधारण भित्र पस्न नसक्ने गरी फलामको बार लगाइसकेको बताए । उनले योगनरेन्द्र मल्लको सूवर्ण लेपन गरिएको सालिक रहेको एउटै ढुंगाको ३० फिट उचाइको खम्बा पुनर्निर्माणको काम भइरहेको बताए । ‘चर्किएको खम्बामा स्टिमको रड राखेर जीर्णोद्धार गर्छौं,’ उनले भने, ‘बहादुर शाह भवन निर्माणका लागि भने अध्ययन भइरहेको छ ।’ केभीपीटीका अनुसार कृष्ण मन्दिर जीर्णोद्धारका लागि जर्मनको हेन्कल फाउन्डेसनले ७० लाख रुपैयाँ सहयोग गरेको छ । तलेजु मन्दिर मर्मतका लागि नेदरल्यान्डस्थित प्रिन्स काउसबाट ४५ हजार युरो, सानो तलेजु मन्दिर, बहादुर शाह भवनका लागि १ लाख २० हजार डलर सहयोग उपलब्ध गराएका छन् ।

नेवार समुदायका व्यापारीहरूले भीमसेनलाई इस्ट देवताका रूपमा पुज्ने गर्छन् । भीमसेन मन्दिर पुनर्निर्माणमा पाटनका व्यवसायीहरूले उत्सुकता पनि देखाएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघले सक्दो आर्थिक, भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ‘जोसुकैले मन्दिर पुनर्निर्माण गरे पनि हामीलाई स्वीकार छ,’ संघका अध्यक्ष सविन श्रेष्ठले भने ।

भीमसेन र विश्वनाथ मन्दिर बाहिरबाट हेर्दा केही नभएजस्तो देखिन्छन् । मन्दिर थाम्ने गारो र दलिनहरू भाँचिएका छन् । मन्दिर भत्किने अत्यन्त जोखिममा रहेकाले चाँडै पुनर्निर्माण गर्न सम्बन्धित निकायले चासो दिनु मन्दिरका पुजारी (पाला) रमेश कपालीले बताउँछन् ।


Facebook Comment


No ads found for this position