ढकमक्क फुलेको बेगुनियाँ(फोटो फिचर)

भीम चापागाईं

सडकमै टाँसिएको घर परिपरि चटक्क सजाइएको बेगुनियाँ देख्नेबित्तिकै हाम्रो मोटरसाइकल आफैं ‘स्टार्ट अफ्’ भएजसरी घ्याच्च रोकियो । हुन त, रंगीचंगी, ढकमक्क फुलेको बेगुनियाँले कसको मन तान्दैन र ! इलामको माइपोखरीछेउ चाँपगैरीमा यसरी टक्क अडिएर घरै ढाकेको बेगुनियाँ क्यामेरामा कैद गर्नेको घुइँचो नै लाग्छ ।

माइपोखरी इलाममा रहेको देशकै प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल । बाक्लो कुहिरोले छाडेर आकाश छंग खुल्नेबित्तिकै हाम्रो पनि मन थामिएन । बाह्रैमास चिसो मौसम रहने माइपोखरी पुगेर सुन्दर तस्बिर खिच्ने, गर्मीले पिरोलिएका बेला चिसो ठाउँ पुगेर एकछाक खाना खाने अनि इच्छाअनुसार पूजापाठ गर्ने निधो ग¥यौं । सदरमुकामबाट हिलाम्य बाटो पार गर्नुपर्ने भएपनि त्यहाँको सौन्दर्य कल्पनाले हामीलाई हिलो बिर्साएर आफूतिर तानिसकेको थियो ।

सदरमुकामबाट १३ किलोमिटरमा पर्छ माइपोखरी । करिब ४ किमी कालोपत्रे पार गरेपछि सुरु भयो मोटरसाइकलको साइलेन्सर पाइप डुब्ने हिलो । उकालो चढ्नुपर्ने मोटरसाइकलका पांग्रा बेला–बेला उल्टो घुम्न खोज्थे । एक्सिलेटर मज्जाले बटारेपछि मात्रै हिलो हाथ्र्याे । तर, माइपोखरी पुग्न यो समस्या धेरै दिन रहने छैन । बिब्ल्याँटे–माइपोखरी सडक कालोपत्रै हुँदैछ । करिब ३ किमीमा ग्राभेलसमेत सकिएको रहेछ।

बिब्ल्याँटे, बरबोटे, घलेटार र जस्बिरे हुँदै उक्लियौं माइपोखरीतिर । जस्बिरेमा सडकमै जोडिएका घरका पेटी र बरन्डामा लहरै सजाइएका ३० भन्दा बढी प्रकारका बेगुनियाँ, अर्किड र लालुपातेले आकर्षित गरिरहेकै थिए । अगाडिपट्टि गोविन्दे गाँसिएका यहाँका घर इलामको पहिचान बन्दैछन् । यी घरै ढाक्नेगरी फुलेका बेगुनियाँ र अर्किड साँच्चीकै सुन्दर लाग्छन् । जस्बिरले त्यही सौन्दर्य छरिरहेको थियो । ७० को नेटो काट्न लागेका सूर्य सुब्बा हामीले उनको घरमा सजाइएको अर्किड क्यामेरामा कैद गरेको देखेर दंग थिए । माइपोखरी जाने कुनैपनि पर्यटकले यहाँका घरैपिच्छे सजाइएको फूल खिच्न नबिर्सिने गरेको पनि उनले गद्गद् भएर सुनाए ।

सूर्य सुब्बासहित पत्रकार साथी शिव मुखिया, माइपोखरीको जैविक विशेषताका जानकार दाइ कमल मुखियालगायतका घरमा लहरै फुलेका फूलले हाम्रो मन खिच्यो । जति तस्बिर खिचेपनि मन नअघाउने दृश्य लिएर हामी अघि बढ्यौं । जस्बिरे चिया विस्तार आयोजनाको आकर्षक चियाबारी, थुम्का–थुम्कामा रहेका परम्परागत घर अनि बाटैसम्म लत्रिएका जडीबुटीले आगन्तुकलाई स्वागत गरेझैं लाग्छ माइपोखरी जाँदा ।

त्यसपछि पुगियो चाँपगैरी । आधा दर्जन घरमा सजाइएको बेगुनियाँसँग टाँसिएर ‘सेल्फी’ खिचाउनेको लर्काे रहेछ । घर सजाउने उद्देश्यले रोपिएका फूल आगन्तुकले राम्रो मूल्य तिरेर लैजान पनि पाउँदारहेछन् । मैले क्यामेराको सटर बटन दबाउनै खोज्दा दृश्यमा अपर्झट देखापरिन् फूलसँग ‘सेल्फी ताकिरहेकी’ युवती । सुन्दर भएपनि कुनै क्रियाकलापसहित बेगुनियाँको तस्बिर खिच्न लागिरहेको मलाई उनले ‘अजिंगरको आहार दैवले जुराए’झैं अवसर दिइन् । प्रफुल्ल हुँदै, मुस्काउँदै फूलसँग उनले लिएका एंगल–एंगलका सेल्फी मैले पनि क्यामेरामा तान्न छुटाइनँ ।

उनले एउटामात्र नभएर त्यहाँका प्रत्येक घरमा फुलेका फूलसँग यसरी तस्बिर खिचाएको देखेपछि नाम सोधें । जवाफ लिइन्– रोमा सिन्च्युरी । झापा चन्द्रगढीबाट आएकी । झापामा उखर्माउलो गर्मी भएपछि शीतल खान उनी अर्की साथीसँग माइपोखरी घुम्न आएकी रहिछन् । माइपोखरी पुगुञ्जेल सयौं यस्ता दृश्य देखिए । शनिबार परेकाले परिवार र समूह–समूहमा पूजाका लागि माइपोखरी आउनेहरू निकै भेटिए ।

माइपोखरीको डिल पुग्दा नीलो पानीमा रंगीचंगी माछा परैबाट देखिए । चामल, मुरई, चिउरा पानीमा हालिदिनेबित्तिकै झुरुप्प भेला भइहाल्थे । तर, अलि वर्तिरै एकले अर्कालाई चारो खुवाइरहेको परेवाको जोडीले हामीलाई निकैबेर भुल्याइसकेको थियो । वरिपरि धुपी–सल्ला, बीचको नीलो पानीमा फुलेको कलमले माइपोखरीलाई सौन्दर्य भरिरहेका थिए । छिनमै खुल्ने र छिनमै भुइँकुहिरो लाग्ने इलामे मौसमको परिचय दिन आकाशमा बादलका टुक्रा देखिन थालिसकेका थिए । तैपनि, हामीजस्तै सयौंलाई पोखरीको तस्बिर लिन, पूजा गर्न र यहाँको हरियालीमा रमाउन मौसमले बाधा गरेन ।

जैविक विविधता र धार्मिक विश्वासले धनी माइपोखरी विश्व संरक्षण सूचीमा समेत सूचीकृत छ । २ हजार १ सय २१ मिटर उचाइको पहाडी थाप्लोमा ठूलो जलाशय छ । दर्जनौं प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले वरिपरिबाट पहरा दिइरहेको छ यसलाई ।

आकाश उघ्रेका बेला कञ्चन पानीमा देखिने कोणधारी धुपी र सल्लाघारीको छायाले मन लोभ्याउँछ । सर्रर बतास चल्दाको आनन्द त पुग्नेलाई मात्रै हुन्छ । पानीमा मौलाएको कमलमा भँमरा बस्दा त्यसैको डिलमा प्रायः प्रेमजोडी नयाँ भविष्यको कल्पनामा रमाइरहेका देखिन्छन् । नवदम्पतीहरू बिहेलगत्तै जीवनको अटुट कसम खान यहाँ पुग्छन् । तीर्थ–व्रत गर्न टाढा–टाढादेखि आएका वृद्धवृद्धाको पनि लहर नै लाग्छ ।

उच्च पहाडी र चिसो ठाउँ भएकाले गर्मी याममा माइपोखरीको महŒव बढ्छ । चिसो मौसममा पनि यहाँ आउनेको संख्या घट्दैन भन्छन् होटल व्यवसायी निमदोर्जे शेर्पा । ‘यो पर्यटकीय मात्र नभई धार्मिक क्षेत्र पनि भएकाले मौसमले मानिस आउ–जाउमा उत्ति असर पार्दैन,’ उनले सुनाए । गर्मी मौसममा भने चिसो छल्न तराईका जिल्लाबाट पनि हुलका हुल पर्यटक आउँछन् यहाँ ।

९ कुना माइपोखरीको गहना हो । पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ, जहाँ कसैले रुख काट्न पाउँदैन । वनभित्र दिसा–पिसाब गर्न पाइँदैन । २ हेक्टरमा जलाशय रहेको यो क्षेत्रको १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । न्यूनतम् ३ देखि अधिकतम् १७ डिग्रीसम्म सेल्सिएससम्म पुग्छ तापक्रम । पानी घट्ने र बढ्नेक्रम फरक पर्नुलाई ‘दैवी शक्तिको परिणाम’ मान्छन् स्थानीय ।

 स्थानीय धार्मिक वन समूहका अनुसार यहाँ १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, ६ प्रजातिका उभयचर पाइन्छन् । रुख भ्यागुत्तो, ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यांट्याङ पाहा, हरियो छेपारो, चंखे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यही विविधतामा रमाउँछन् । ३ प्रजातिका रैथाने माछा, काकाकुल, भुँडीफोर, हिमाली गिद्धजस्ता ३ सय प्रजातिका पंक्षी ओहोर–दोहोर गर्छन् माइपोखरीमा  । श्रीलंका–साइबेरिया आउ–जाउ गर्ने चराको मार्ग पनि माइपोखरी नै रहेको चराविद् बताउँछन् ।

दुर्लभ वन्यजन्तु पाइने माइपोखरीमा वनस्पति पनि दुर्लभ नै भेटिन्छन् । गलैंचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ भनिन्छ । दर्जनौं प्रजातिका सुनाखरी देखिएपनि त्यसको विशिष्ट अध्ययन भने भएको छैन । जिल्लाका अन्य स्थानमा सुनाखरीको अध्ययन गरेका भक्तकुमार रासकोटी भन्छन्, ‘इलामलाई सुनाखरीको राजधानी भन्दा फरक पर्दैन । माइपोखरी आसपासमा मात्रै पनि सयौं प्रकारका सुनाखरी हुनसक्छन् ।’

 विभिन्न समयमा माइपोखरीको विकासका लागि भएका अध्ययनमा यहाँ ६२ प्रजातिका जडीबुटी पाइएका छन् । दर्जनौं प्रजातिका चाँप, कटुस, झिँगाने, उतिस, लौठसल्ला, चिराइतो, सतुवा, जटामसी, ओखेआलु, बूढोओखती पाइन्छ । चिमाल प्रजनन अनुसन्धान क्षेत्र, रक गार्डेन, जडीबुटी प्रदर्शनी प्लट, लोठसल्ला प्लट, अर्किड उद्यान, जर्मन प्लान्ट, शोभनीय बगैंचा देखिन्छन् यहाँ । प्रत्येकजसो बिरुवामा तिनका स्थानीय र वैज्ञानिक नाम अंकित गरिएको छ ।

माइपोखरीका हरेक कुनामा माई भगवतीको पूजा गर्ने गरिन्छ । धार्मिक वन क्षेत्रभित्रै रहेको शिवालय मन्दिरमा दर्शनार्थी आउँछन् । यहाँ १९७० सालतिर स्थानीय समुदायले वृक्षरोपण गरेको वृद्धवृद्धा बताउँछन् । सदरमुकामबाट १३ किलोमिटर उत्तरमा पर्ने माइपोखरी क्षेत्रको पर्यटन विकासको पहल भने २०६० सालमा आयोजित माइपोखरी महोत्सवपछि मात्रै भएको हो । थोरै क्षेत्रफलमा भएको धेरै जैविक विविधतायुक्त यो सिमसार परापूर्वकालदेखि नै धार्मिकस्थलका रूपमा छ । विभिन्न ७ धार्मिक पोखरीहरूको पानी यहाँ मिसाइएकाले माइपोखरी पुग्दा ती पोखरीको दर्शन पनि यहीं मिल्ने माइपोखरी मन्दिरका पुजारी तुलाराम पौडेल बताउँछन् ।

२८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौं बैठकले माइपोखरीलाई विश्वसम्पदा सूचीमा राखेको हो । २ फरवरी सन् १९७१ मा उत्तरी इरानको रामसार सहरमा विभिन्न देशका प्रतिनिधिले सिमसारको संरक्षण र उपयोग हुनुपर्ने भन्दै एउटा महासन्धिमा हस्ताक्षर गरेका थिए । त्यही महासन्धिको औपचारिक नाम ‘अन्तर्राष्ट्रिय महŒवका खासगरी पानीमा रम्ने पंक्षीको बासस्थान भएका सिमसारको संरक्षणसम्बन्धी महासन्धि’ राखियो ।

नेपालका कोसीटप्पु, रारा ताल, फोक्सुण्डो ताल, जगदिशपुर जलभण्डार, घोडाघोडी ताल क्षेत्र, गोसाइकुण्ड र आसपासका ताल, गोक्यो र आसपासका ताल पनि रामसारमा सूचीकृत छन् । रामसारबारे जानकार धर्म गौतम भन्छन् ‘महासन्धिको सदस्यता लिएपछि आफ्नो मुलुकको दिगो विकासका लागि सिमसारजस्ता स्रोतको यथासम्भव उपयोगका लागि वैधानिक व्यवस्था गर्न मद्दत पुग्छ ।’

 


Facebook Comment