कांग्रेस महामन्त्रीमा कार्की पक्का, सहमहामन्त्रीमा विश्वकर्माको सम्भावना

१९ भदौ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति, महामन्त्री र सहमहान्त्रीसहित केही सदस्यको मनोनयन गृहकार्य थालेका छन्। पार्टी विधान अनुसार पदपूर्ति प्रक्रियालाई टुंगो लगाउन देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक परामर्श लिन थालेको देउवा निकट नेताहरूले बताए।‘सभापति देउवाले अबको केही दिनभित्र मनोनित गर्नुपर्ने पदाधिकारी र केन्द्रीय सदस्यसहित पार्टीका ४१ विभाग प्रमुखको चयन गरिसक्नु हुने छ,’ सभापति देउवालाई भेटर फर्किएपछि एक नेताले भने।
congस्रोतका अनुसार सभापति देउवाले उपसभापतिमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, नेताद्वय खुमबहादुर खड्का र गोपालमानसिंह श्रेष्ठ प्रमुख आकांक्षी देखिए पनि सभापति देउवाले निधिलाई नै उपसभापतिको जिम्मेवारी दिन चाहिरहेका छन्।तत्काल उपसभापतिमा निधिलाई नै मनोनित गर्दा पार्टीभित्र चर्को विरोध हुन सक्ने सम्भावनालाई टार्न सभापति देउवाले अहिले उपसभापतिबाहेक अन्य पदको मनोनयन गरी अघि बढ्दा के हुन सक्छ भनी आफू निकटका सदस्यहरूसँग परामर्श गरिरहेका छन्।  तर, निधिले आफू मन्त्रीमण्डलमा सहभागी हुँदैमा आफ्ना लागि मात्रै एक व्यक्ति एक पदको सिद्धान्त लागू हुन नसक्ने भन्दै सभापति देउवालाई सबै मनोनयन एकैसाथ गर्न सुझाव दिँदै आएका छन्।
पार्टीको १३ औं महाधिवेशन पहिले आफूसँग भएको सहमति अनुसार उपसभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने अडान लिएर खड्का देउवालाई दबाब दिइरहेका छन्।
त्यसैगरी, नेता श्रेष्ठले आफू पार्टीमा वरिष्ठ नेता मात्रै नभई विगतमा राजनीतिको कठिन परिस्थितिमा पनि देउवालाई साथ दिएको दाबी गर्दै उपसभापति बनाउन सभापतिलाई दबाब दिइरहेका छन्। देउवाले उनीहरू दुबैको तुलनामा निधिलाई नै उपसभापतिको उपयुक्त पात्रको रुपमा लिँदै आएका छन्।
महामन्त्री पदका लागि पार्टी नेता ज्ञानेन्द्रबहादुर कार्कीको मनोनयन पक्कापक्की भएको देउवा निकट नेताहरु दाबी गर्छन्। उक्त पदका लागि आकांक्षी बन्दै देउवालाई चर्को दबाब दिँदै आएका प्रकाशशरण महत र बालकृष्ण खाँणमध्ये महत र खाँणलाई सरकारमा मन्त्री बनाएर देउवाले कार्कीका लागि बाटो सहज बनाइसकेका छन्। ‘सभापतिले कार्कीलाई महामन्त्री बनाउने योजना अनुसार नै सरकारमा सहभागी नगराएका हुन्,’ देउवा निकट अर्का नेताले भने।महामन्त्रीका अर्को आकांक्षीका रुपमा पूर्णबहादुर खड्का भए पनि अधिवेशन पूर्व गत असोजमा बिनासल्लाह सहमहामन्त्री पदबाट राजीनामा दिएर असहयोग गरेको भन्दै सभापति देउवा उनीसँग असन्तुष्ट छन्। त्यसका साथै खड्कालाई नेता खुमबहादुर खड्का निकट रहेको आरोपका कारण पनि उनको सम्भावना न्यून बन्दै गएको नेताहरू बताउँछन्।
खड्कालाई देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाभित्रका पनि कतिपय सदस्यले कृष्णप्रसाद सिटौला निकट रहेको भन्ने आरोपका कारण उनको तुलनामा कार्कीको मनोनयन देउवाका लागि सहज र स्वाभाविक बन्ने सम्भावना छ।
त्यसैगरी, सहमहामन्त्री पदमा विगतको प्रचलन अनुसार आफ्नो पक्षले पाउनुपर्ने माग पौडेल पक्षले गर्दै आए पनि सभापति देउवाले पदाधिकारीमा बहुमत कायम गर्नका लागि पनि आफ्नै समूहबाट मनोनित गर्ने तयारी गरिरहेका छन्।
सहमहामन्त्रीमा देउवाको पहिलो रोजाइमा दलित नेता मानबहादुर विश्वकर्मा छन्। नेता खुमबहादुर खड्काले उपसभापति नपाउने अवस्थामा खड्का पक्षका नेताहरूले त्यसको क्षतिपूर्ति स्वरुप सहमहामन्त्री पदमा पुष्पा भुसाललाई अघि सारिरहेको छ।पौडेल पक्षबाट सहमहामन्त्री पदका लागि आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडुका साथै गोविन्द भट्टराईले आकांक्षा गरिरहेका छन्।
विधान अनुसार जेठको पहिलो साताभित्रै पदाधिकारीको मनोनयन गरी केन्द्रीय समितिका निर्वाचित सदस्यको बैठकबाट अनुमोदन गर्नुपर्ने थियो। तर, सभापति देउवाले आफ्नो चाहना अनुसार विधान बमोजिम मनोनयन गर्दा त्यसको असन्तुष्टि नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाको अधिवेशनमा असर पर्न सक्ने सम्भावनालाई टार्न पदाधिकारी मनोनयनमा ढिलाइ गर्दै आएका थिए।
विधान अनुसार सभापति देउवाले निर्वाचित सदस्यमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित महाधिवेशन प्रतिनिधि मध्येबाट बढीमा २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ।
जसमध्ये सभापति देउवाले अहिलेसम्म ११ सदस्यहरूको मनोनयन गरिसकेका छन् भने बाँकी रहेका दलित, मुस्लिम र जनजाति एक एक जनासहित १० सदस्यको मनोनित गर्न बाँकी छ। सदस्य पदमा मनोनित हने सम्भावना रहेका नेताहरूमध्ये कोइराला खेमाबाट देउवाको पक्षमा आएका पद्मनारायण चौधरी, अर्जुनप्रसाद जोशी र अमृत अर्यालको सम्भावना बढी भएको देउवा निकट स्रोतको दाबी छ।


Facebook Comment


No ads found for this position