निगम पाइलटले ऐनविपरीत राजीनामा दिएपछि विवादमा

  सुशील भट्टराई

१९ भदौ, काठमाडौं । साढे तीन दशकदेखि नेपाल वायुसेवा निगममा जहाज उडाइरहेका एक वरिष्ठ क्याप्टेनले ऐनविपरीत अकस्मात राजीनामा दिएपछि विवादमा तानिएका छन्। राष्ट्रिय ध्वजावाहक निगममा ३६ वर्षदेखि जहाज उडाइरहेका वरिष्ठ क्याप्टेन रविन्द्रपुरुष ढकालले एक साताअघि राजीनामा दिए पनि व्यवस्थापनले ऐनविपरीत भएको भन्दै उनको राजीनामा अस्वीकृत गरेको छ। निगमले राजीनामा अस्वीकृत मात्र गरेको छैन उल्टै ढकाललाई तुरुन्त काममा फर्कन पत्राचार पनि गरेको छ।

Nepal_Airlines_757-200M_9N-ACBजहाज अभावमात्र होइन, पाइलट अभावसमेत खेप्दै आएको निगमलाई वरिष्ठ क्याप्टेन ढकालको राजीनामाबाट ठूलै झट्का लागेको छ। ढकालनिकट स्रोतका अनुसार निगममा राजीनामा दिएर उनी निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज उडाउन जाने तयारीमा छन्।

हिमालय एयरलाइन्स नेपाल र चीनको संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो। एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी प्रालि र यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिले हिमालयमा लगानी गरेका छन्। नेपालका यी कम्पनीलाई चीनको तिब्बतस्थित तिब्बत एयरलाइन्स प्रालिले सघाएको छ। हिमालयमा नेपाली कम्पनीको ५१.०१ प्रतिशत र तिब्बतको ४८.९९ प्रतिशत लगानी छ।

क्याप्टेन ढकालले डेढ वर्षदेखि निगमसँग रहेका १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका जहाज उडाइरहेका थिए। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग ए३२० जहाज खरिद गरी ल्याउने भएपछि ढकाल पनि निगमकै खर्चमा यो जहाज उडाउने तालिम लिन फ्रान्स गएका थिए। त्यहाँबाट ए३२० को क्याप्टेन भएर आउने उनी पहिलो समूहका क्याप्टेन हुन्।

ए३२० जहाज उडाउनुअघि ढाकलले अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताका ‘बि७५७–२००’ सिरिजका जहाज उडाउँथे। ए३२० जहाज आउने भएपछि उनले बि७५७ उडाउन छाडेर एयरबस तालिम लिन गएका थिए।

‘वरिष्ठ क्याप्टेन ढकालको राजीनामा आए पनि व्यवस्थापनले अस्वीकृत गरेको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले शनिबार नागरिकसँग भने, ‘उहाँलाई पुनः काममा फर्कन पत्राचार गरिएको छ।’

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गरेको ‘वायुयान चालक तथा इन्जिनियरको उपयोग, नियन्त्रण र सेवा सुरक्षासम्बन्धी आदेश २०७०’ अनुसार वायुयान चालक (पाइलट) वा इन्जिनियरले कम्पनी छाड्नुपर्दा कम्तीमा तीन महिनाअघि कम्पनीलाई लिखित जानकारी दिनुपर्ने छ।

‘वायुसेवा कम्पनी र चालक वा इन्जिनियरबीच सर्त–सुविधासम्बन्धी अन्य व्यवस्था कर्मचारी नियमावली वा करारमा उल्लेख गरिएको भए सोहीबमोजिम हुने छ,’ उक्त आदेशमा उल्लेख छ, ‘यस्तो अवस्थाबाहेक मनलागी ढंगले वायुसेवा कम्पनी छाड्ने वायुयान चालक वा इन्जिनियरको इजाजतपत्र उपयोगमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले आवश्यकताअनुसार रोक लगाउन सक्नेछ।’

त्यसबाहेक वायुसेवा कम्पनीले वायुयान सञ्चालनका सिलसिलामा वायुयान चालक तथा इन्जिनियरलाई सीप तथा दक्षता अभिवृद्धि गराउन तालिमको आवश्यकता महसुस गरी कम्पनीले आफ्नै खर्चमा पठाउँदा लागेको रकमवातप कम्पनीमा निश्चित अवधिसम्म काम गर्नुपर्ने सर्त राखी व्यवस्थापनले तालिममा जानेलाई बन्ड (प्रतिज्ञापत्र) गराउने सक्ने उक्त आदेशमा छ।

‘वायुसेवा कम्पनीसँग बन्ड गरेको वायुयान चालक तथा इन्जिनियर बन्डको अवधि कायम रहेसम्म आफू कार्यरत कम्पनी छाडी अन्य वायुसेवा कम्पनीको सेवामा प्रवेश गर्दा आफू कार्यरत कम्पनीको स्वीकृति अनिवार्य प्राप्त गरेको हुनुपर्ने छ,’ आदेशमा छ, ‘यसरी साविक कम्पनीको स्वीकृति प्राप्त नगरी सेवा छाड्ने वायुयान चालक वा इन्जिनियरले यसबाट कम्पनीलाई कुनै हानी नोक्सानी हुन गए सोको क्षतिपूर्ति बेहोर्नुपर्ने छ।’

सम्बद्ध एक अधिकारीका अनुसार निगमको खर्चमा तालिम लिई क्याप्टेन भएर आएपछि ६ वर्षसम्म निगमकै जहाज उडाउनुपर्छ। तोकिएको अवधिसम्म नउडाए बन्डवापत ३० लाख रुपैयाँ तिर्नुपर्छ। त्यसबाहेक तालिममा जाँदा, तालिम अवधिभर र फर्केर आउँदा लागेको सम्पूर्ण खर्च जोड्दा ९० लाखदेखि १ करोड रुपैयाँ पनि निगमलाई तिर्नुपर्छ।

‘हाम्रा दुईथान ए३२० जहाजलाई पाइलट अभाव भएका बेला अकस्मात वरिष्ठ क्याप्टेन ढकालबाट राजीनामा आउँदा व्यवस्थापनले असहज महसुस गरेको छ,’ ती अधिकारीले भने, ‘उहाँजत्तिको क्याप्टेनले ऐन मिचेर राजीनामा दिनु अर्को विडम्बना हो।’

निगमका पाइलटले जति तलबभत्ता पाउँछन्, त्योभन्दा धेरै बढी निजी कम्पनी र विदेशी वायुसेवा कम्पनीमा पाइने भएका कारण पनि कार्यरत पाइलटले निगम छाड्ने एउटा कारण हो।

‘यदि क्याप्टेन ढकालले अटेर गरी काममा फर्केनन् भने व्यवस्थापनले उनलाई बर्खास्त गर्छ र निगमबाट पाउने सबै सेवासुविधा रोक्का हुने छ,’ सम्बद्ध अधिकारीले भने, ‘उनलाई भविष्यमा निगमका जहाज उडाउन अयोग्य ठहर गरिने छ


Facebook Comment


No ads found for this position