गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा महत्वपूर्ण काम पूरा

भैरहवा २० भदौ ।  गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा महत्वपूर्ण काम पूरा भएको छ । विमानस्थल निर्माणमा सबैभन्दा महत्वपूर्ण मानिएको धावनमार्ग (रनवे)को प्रारम्भिक चरणको निर्माण कार्य सम्पन्न भएको गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ ।

khanidada airpotआयोजना प्रमुख ओम शर्माका अनुसार ३ किलोमिटर लामो धावनमार्ग निर्माण गरी ‘सवग्रेड’ गर्ने काम सम्पन्न भएको छ । “अहिलेसम्म सवग्रेड गर्ने काम सम्पन्न भएको छ, अब धावनमार्गका अन्य काम सुरु हुन्छ,” आयोजना प्रमुख शर्माले भने ।

उनका अनुसार सवग्रेडको काम सम्पन्न भएसँगै अब अन्य कामका लागि सजिलो हुनेछ भने यसपछि ‘टाइक्वान; (डन्डीलगायतका निर्माण सामग्री राख्ने) काम हुन्ने र त्यसपछि सवबेस, बेस गर्दै धावनमार्ग (रनवे) को अन्तिम पिच हुनेछ ।

गत वर्षको विभिन्न आन्दोलन, नाकाबन्दी लगायतका कारण भएका निर्माण सामग्रीको अभाव र वर्षा मौसमले कामलाई अवरोध गरेको शर्मा बताउँछन् ।

धावनमार्ग बनाउन मुख्य समस्याका रूपमा रहेको घाघरा नदी फर्काउने काम समयमै सम्पन्न भएकाले पनि धावनमार्गको काम छिटो भएको हो । अहिलेको धावनमार्ग भएको ठाउँमा घाघरा खोला रहेकोमा खोलालाई पश्चिम फकाई दक्षिण हुँदै फेरि पूर्व–दक्षिण लगेर पुरानै ठाउँमा फर्काइएको थियो ।

खोला फर्काउन २ किलोमिटर ५०० मिटर नयाँ खोला बनाउनु परेको छ । ३३ मिटर चौडाइ र ६ मिटर गहिराइ (पानीको सतह) छ । खोलाको भित्तामा दुवैतर्फ आधाभाग सिमेन्ट कंक्रिटको प्लास्टर तथा बाँकीमा घाँस लगाइएको छ ।

यस्तै, सहतमा कंक्रिटको ढलान गरिएको छ भने पुरानो खोलामा पूरै माटो भरेर त्यसैमाथि रनवे निर्माण गरिएको शर्माले जानकारी दिए । “अब यो एक किसिमको अस्थायी धावनमार्ग बनिसक्यो, आपतकालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्ने भइसकेको छ,” उनले भने, “अब बाँकी काम छिट्टै सम्पन्न गर्ने तयारी भइरहेको छ ।

वर्षा मौसम सकिसकेकाले पनि अब कामको स्पिड बढ्नेछ ।” विमानस्थल निर्माणको कुल रकममध्ये आधाभन्दा बढी बजेट धावनमार्ग निर्माणमा खर्च हुन्छ ।

आयोजनाका अनुसार विमानस्थल निर्माण सुरु भएको १९ महिनामा करिब २३ प्रतिशत काम सम्पन्न भएको छ । हाल अन्तरराष्ट्रिय टर्मिनल बिल्डिङको पनि सवबेसको काम सम्पन्न भइसकेको छ ।

०७१ माघमा १ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल निर्माण शिलान्यास गरेका थिए । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । नर्थ वेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा  सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।


Facebook Comment


No ads found for this position