आन्तरिक पर्यटकले हरियो प्लेटका गाडी चढ्न पाउने कि नपाउने ?

 रवीन्द्र शाही
गएको बिहीबार राजधानीमा भएको एक कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बर प्लेटका सवारी साधनमा गैर पर्यटक बोक्न नपाइने र त्यसरी बोकेमा कारबाही हुने बताए। त्यही कार्यक्रममा बोल्ने पर्यटन व्यावसायीहरुले भने श्रेष्ठको उक्त भनाईले आन्तरिक पर्यटनलाई निरुत्साहित गर्नेे भन्दै विरोध जनाए। अधिकांस पर्यटन व्यवसायीहरुले श्रेष्ठनले भनेअनुसारको निर्णय गरे त्यो पर्यटन क्षेत्रकै लागि घातक हुने चेतावनी दिए।
bus-1‘सिन्डिकेटको सारथी बन्न लाग्यो यातायात व्यवस्था विभाग’
यातायात व्यवस्था विभागले गैरपर्यटकहरुलाई हरियो नम्बर प्लेटका गाडीले बोक्न नपाउने भन्नुलाई एकाधिकारवादी मानसिकता ठान्छन् पर्यटन व्यवसायी।
हैसियत हुने यात्रुहरु पर्यटक बस बुकिङ गरेर भ्रमण गर्ने भएकाले सरकाले यसमा बन्देज लगाउन नमिल्ने व्यवसायीको भनाई छ। बस व्यवसायीहरुको उक्साहटमा पर्यटक बसका यात्रुहरुलाई ओराल्ने तथा चालकलाई कारबाही गर्नेसम्मका हर्कत विगतमा भएको पर्यटक बस व्यवसायी पवनराज खरेलले बताए। पर्यटक र गैरपर्यटक भनेर विभाजन गर्ने मापदण्डविना जथाभावी हस्तक्षेप गर्नाले पर्यटन क्षेत्रमा लागेका व्यावसायीहरु हतोत्साहित भएको बताउँछन् ट्रेकिङ एजेन्ट एसोसिएसन नेपाल (टान)का कोषाध्यक्ष लिलाबल्लभ दाहाल।
‘दसैँको बेला सवारीसाधनको माग उच्च हुन्छ, क्षमता हुनेले जुनसुकै बस प्रयोग गर्न सक्छन्’ उनले भने ‘चाडबाडको मुखमा हरियो प्लेटका बसमा नेपालीलाई बन्देज लगाउने कामले  पर्यटक र गैरपर्यटकको नाममा सिन्डिकेटलाई नै मलजल गर्दछ।’
संसोधित सवारी तथा यातायात व्यवस्था नियमावलीमा गैरपर्यटकलाई हरियो प्लेटका सवारीले यात्रा गराएमा कारबाही हुने व्यवस्था हुन लागेको कुरा बाहिर आएपछि यो विषय अहिले विवादमा आएको हो।
यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले ‘गैर’ भनेर आन्तरिक पर्यटकलाई बाइपास नगरिने बताए। ‘हरियो प्लेटका गाडीले पर्यटक बोक्न पाउँछ। बिदेशी, स्वदेशी कस्तो पर्यटक हो त्यो परिभाषित हुनुपर्यो भनेको मात्रै हो’ श्रेष्ठले भने, ‘पर्यटक बसमा चढेर स्वदेशी पर्यटक स्वर्गद्धारी, सौराह जता पनि जान पाउनुहुन्छ। तर निजीले पर्यटकलाई भाडामा बोक्न पाइँदैन, यदि त्यस्तो भएमा कारबाही हुन्छ।’यातायातलाई व्यवस्थित गर्नको लागि विभागले प्रक्रिया अघि बढाएको र सिन्डिकेटको विरुद्धमा खरो रुपमा उत्रने उनले आश्वासन दिए।  सवारी तथा यातायात व्यवस्था ऐनले निर्देशन गरेबमोजिम नै विभागले काम गर्ने र नियमन पनि ऐन नियमभन्दा बाहिर नजाने श्रेष्ठले दाबी गरे।
सवारी तथा यातायात व्यवस्था ऐनले कुनै पनि हरियो नम्बर प्लेटको सवारीले गैरपर्यटक यात्रु बोक्न नपाइने व्यवस्था गरेको छ। पर्यटकका रुपमा विदेशी नागरिकलाई मात्रै परिभाषित गरेको ऐनले विदेशी पर्यटकलाई सेवा प्रदान गर्नेगरी दर्ताको प्रमापत्र प्राप्त सार्वजनिक सवारीलाई पर्यटक सवारी र त्यस्ता सवारीको पहिचान हरियो नम्बर प्लेटबाट हुने भनेको छ।
तर सिजनको समयमा ऐन कानुनको ‘हवला’ दिएर केही मान्छेको स्वार्थपूर्ति गर्नको लागि अनावश्यक हस्तक्षेप नगर्न विभागलाई पर्यटन व्यवसायीहरुले चेतावनी दिएका छन्।
एकातिर घुमफिर वर्ष अर्कोतिर आन्तरिक पर्यटकलाई गाडीमा बन्देज !
पर्यटन मन्त्रालय तथा बोर्डले आन्तरिक घुमफिरको रुपमा यो वर्षलाई मनाउने भनेर घोषणा गरेका छन्।  आन्तरिक पर्यटक बलियो नभई देशको पर्यटनको विकास नहुने सरकारी अधिकारीहरु नै बताउँछन्। तर यातायात व्यवस्था विभागले भने आन्तरिक पर्यटकलाई बाइपास गर्नेगरी नीति ल्याउन लागेकोले यो विरोधाभाषपूर्ण काम भएको व्यवसायीहरुको तर्क छ।
नेपालको पर्यटनमा आन्तरिक पर्यटकको भूमिका महत्वपुर्ण रहेको भन्दै यातायात मन्त्रालयको अनावश्यक हस्तक्षेपको कारण समग्र क्षेत्र नै नकारात्मक दिशातिर उन्मुख हुने बताउँछन् टुरिष्ट बस एसोसियसन अफ नेपालका उपाध्यक्ष इश्वर शर्मा।
‘गएको भूकम्प तथा नाकाबन्दीको समयमा विदेशी पर्यटक नआउँदा आन्तरिक पर्यटककै कारण हाम्रो उद्योगले केही राहत महसुस गर्यो’ शार्माले भने, ‘अनि तिनै आन्तरिक पर्यटकलाई बाइपास गर्ने ?’यातायातको उचित व्यवस्थापन हुने हो भने हरियो, रातो, कालो प्लेटनम्वको विवाद नहुने भन्दै सबैको ध्यान व्यवस्थापनतिर केन्द्रित हुनुपर्ने बताउँछन् पर्यटन विभागका महानिर्देशक शुदर्शन ढकाल। ‘उचित व्यवस्थापनको सुविधा सम्पन्न यातायात हुने हो भने केही चाहिँदैन’ ढकालले सेतापाटीसँग भने, ‘नियमन भने हुनैपर्छ यसबाट कोही पनि पन्छिन मिल्दैन।’
 पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशी।  पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशी घरबाट निस्केर रमाइलो गन्तव्यतर्फ जाने र केही पैसा खर्च गर्ने नेपाली पनि पर्यटक भएको बताउँछन्। पर्यटन क्षेत्रलाई नकारात्मक असर गर्नेगरी कसैले पनि निर्णय गर्न नहुनेमा उनले जोड दिए।
 गैरपर्यटक र पर्यटकको स्पष्ट विभाजन हुनेगरी मापदण्ड बनाउने योजनमा रहेको यातायात व्यवस्था विभागले बताइरहँदा पर्यटन व्यवसायीहरु भने कसैको स्वार्थसिद्धका लागि नियतबस चाल्न थालिएको कदम भएको अरोप लगाउँछन्।
 पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरुले यसको विरोध जनाएका छन्। यसै सन्दर्भमा उनीहरुले पर्यटन मन्त्री तथा विभिन्न निकायहरुमा ध्यानाकर्षण गराएका छन्।


Facebook Comment


No ads found for this position