आजदेखि फेरि खुल्यो बसको टिकट बुकिङ

नवराज मैनाली

काठमाडौं, १७ असोज

चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ । सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका थिएनन् ।

busसिट क्षमताअनुसार मात्र यात्रु राख्दा घाटा हुने भन्दै उनीहरूले एकतर्फी बाटोको इन्धन खर्च सरकारले दिनुपर्ने अडान राख्दै आएका थिए । जिल्ला र ग्यारेजमा राखिएका बस सञ्चालनमा आउने यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले आइतबारको छलफलपछि व्यवसायीहरू सबै बस चलाउन तयार भएको बताए । ‘सोमबारदेखि फेरि बसको टिकट अग्रिम बुकिङ खुल्नेछ,’ उनले भने, ‘जिल्ला र ग्यारेजमा रहेका बसहरू ल्याएर चलाउन व्यवसायीहरू तयार भएका छन् ।’ व्यवसायीहरूको अनावश्यक अडानपछि सरकारले स्कुल, कलेज तथा सरकारी बसहरू सञ्चालन गरी दसैँमा यात्रु ओसार्ने तयारी गरेको थियो । दश लाख टिकट बुक दसैँमा घर जान काठमाडौं उपत्यकामा रहेका करिब १० लाख सर्वसाधारणले मात्र टिकट पाएका छन् ।

हरेक वर्ष करिब १८ लाख मानिस सार्वजनिक यातायातबाट गृहजिल्ला जाने गरेका छन् । गत ७ असोजमा टिकट खुलेकोमा तीन दिनमै टिकट सकिएको भन्दै व्यवसायीले थप बस चलाउन मानिरहेका थिएनन् । सरकारसँगको सहमतिपछि सोमबारदेखि थप बस चलाउन व्यवसायी तयार भएका छन् । साझाको सेवा वीरगन्जसम्म पुग्ने साझा यातायातले वीरगन्जमा पनि सेवा सुरु गर्न अनुमति मागेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बताए । त्यस्तै, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा पनि साझाले सेवा दिने तयारी गरेको छ ।

दसैँको पूर्वसन्ध्यामा साझाले गोरखा र बाग्लुङमा सेवा सुरु गरिसकेको छ । सय सरकारी बस चलाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक सय सरकारी बस चलाएर भए पनि दसैँमा यातायात क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई आइतबार उनले उपत्यकाबाहिर सय सरकारी बस सञ्चालन गर्न निर्देशन दिएका हुन् । दसैँमा घर जान टिकट नभएको यात्रुहरूको गुनासोपछि प्रधानमन्त्रीले सरकारी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सेनाहरूको बसले समेत सर्वसाधारण यात्रु बोक्न निर्देशन दिएका हुन् ।

मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार नै यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न बैठक बोलाएका थिए । बैठकमा उपत्यकाका विभिन्न रुटमा सञ्चालित बसलाई उपत्यकाबाहिर पठाउने र उपत्यकामा सरकारी बसहरू सञ्चालन गरी सेवा दिने निर्णय भएको थियो । बैठकमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, शिक्षा मन्त्रालय तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।


Facebook Comment


No ads found for this position