यसकारण लुकाइन्छन् साना हवाई दुर्घटना

अच्युत पुरी

काठमाडौं, १७ असोज

पछिल्लो केही समययता वायुयानमा समस्या आएर आकस्मिक अवतरण गर्नुपरेका घटना बढिरहेका छन् । कतिपय जहाज धावनमार्गमा चिप्लिएका छन् भने कतिपय जहाज आकाशमै उड्दा–उड्दै इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गर्नुपरेको छ । यो समस्या अहिले मात्र बढेको होइन । हरेक वर्ष दर्जनौँ यस्ता प्रकृतिका घटना दोहोरिइरहेका छन् । तर, यी जहाज के कारणले दुर्घटना परिरहेका छन् भन्ने कारण भने आमहवाई यात्रु र नागरिकले पत्तै पाउँदैनन् । खासगरी साना दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र कम्पनी आफैँले त्यस सम्बन्धमा छानविन गर्छन् । तर, त्यसको प्रतिवेदन भने सार्वजनिक गर्दैनन् । त्यति मात्रै होइन, त्यस्ता प्रतिवेदनले औँल्याएका सुझाब कार्यान्वयनसमेत हुँदैनन्, जसले हवाई दुर्घटना बढाउने गरेको छ ।

plane-cras

किन सार्वजनिक हुँदैनन् प्रतिवेदन ?

प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनका अनुसार सामान्यतया हवाई दुर्घटनालाई त्यसपछिको क्षतिका आधारमा वर्गीकरण गरिन्छ । सामान्य घटना, गम्भीर घटना र दुर्घटना गरी वर्गीकरण गरिएको हुन्छ । जहाज धावनमार्गमा चिप्लिनु या आकाशमा समस्या देखिएपछि आकस्मिक अवतरण गर्नुपर्ने जस्तो अवस्था गम्भीर प्रकृतिका घटना हुन् । यस्तो अवस्थामा प्राधिकरणका महानिर्देशकले छानबिन आयोग गठन गर्ने प्रचलन छ । उक्त आयोगले आफ्नो प्रतिवेदन महानिर्देशकलाई नै बुझाउँछ । तर, प्रतिवेदन सार्वजनिक भने गरिँदैन । यस प्रकृतिका घटनापछि कतिपय कम्पनीले पनि आन्तरिक रूपमा अध्ययन गर्छन् तर सार्वजनिक गर्दैनन् । मन्त्रालय नै बेखबर साना प्रकृतिका हवाई दुर्घटना के कारणले भइरहेका छन् भन्ने सम्बन्धमा विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै बेखबर छ । मन्त्रालयले ती दुर्घटनापछि भएका अध्ययन प्रतिवेदन प्राधिकरणबाट मगाउने र कमजोरी सुधारमा कडाइ गर्ने काममा गम्भीर देखिँदैन ।

मन्त्रालयका एक अधिकारीका अनुसार क्यानले सन् २००८ यता नौ वर्षको अवधिमा ८० वटा मात्र यस्ता प्रतिवेदन मन्त्रालयमा पठाएको छ । तर, हरेक वर्ष साना प्रकृतिका हवाई दुर्घटनाको संख्या भने ठूलो छ । कुन वर्षमा कतिवटा साना प्रकृतिका हवाई दुर्घटना भए भन्ने तथ्यांकसमेत मन्त्रालयसँग छैन । प्रतिवेदन सार्वजनिक नहुँदाका असर साना प्रकृतिका घटनालाई नजरअन्दाज गर्दै जाने र भूल सुधारको प्रयास नगर्दा अन्नतः ठूला दुर्घटना हुने गरेको हवाई विज्ञहरूले बताउ“दै आएका छन् ।

जब ठूला दुर्घटना भएर चालक दल या यात्रुले ज्यान गुमाउँछन् या वायुयानमा गम्भीर क्षति पुग्न जान्छ, त्यसपछि भने मन्त्रीस्तरीय बैठकबाट सरकारले छानबिन आयोग गठन गर्छ । सरकारले गठन गरेका आयोगले भने आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएका छन् । साना दुर्घटनाका कारण बाहिर नल्याउँदा कमजोरी सुधारका लागि नियामक निकाय र सेवाप्रदायक कम्पनीलाई बाह्य दबाब पुग्दैन । यस प्रकारको लापरबाहीले ठूला प्रकृतिका दुर्घटना बढाउन भूमिका खेल्ने पूर्वमहानिर्देशक सुमनले बताए । सबै दुर्घटनाका प्रतिवेदन बाहिर ल्याउनुपर्छ: मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले सबै हवाई दुर्घटनापछि त्यसको कारणहरू सार्वजनिक गर्नुपर्ने बताए । ‘जुनसुकै प्रकृतिको घटना भए पनि त्यसको कारण आमनागरिकले जान्न पाउनुपर्छ,’ उनले भने, ‘यसलाई गम्भीर रूपमा लिनुपर्छ ।’ प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमअनुसार दुर्घटनापछि छानबिन गर्दै आएको उनले जानकारी दिए । सबै प्रतिवेदन बाहिर ल्याउन सम्भव छैन: प्राधिकरण यस प्रकृतिका सबै घटनाको विवरण सार्वजनिक गर्न सम्भव नभएको प्राधिकरणको प्रतिक्रिया छ । ‘प्राविधिक विषय भएकाले वायुयानमा समस्या आउनु सामान्य हो,’ प्राधिकरणका प्रवक्ता देभेन केसीले भने, ‘कतिपय जहाज सामान्य चेकजाँचपछि उडानयोग्य बन्छन् भने त्यसको प्रतिवेदन नै बन्दैन ।’ उनका अनुसार गम्भीर प्रकृतिका घटनापछि भने आयोग नै बनाएर छानबिन गरिन्छ । तर, प्रतिवेदन बाहिर ल्याउने प्रचलन छैन ।

अन्तर्राष्ट्रिय अभ्यास के छ ? हवाई सुरक्षाको विषयलाई विश्वभर ‘संवेदनशील क्षेत्र’का रूपमा लिइन्छ । धेरै मुलुकमा हवाई सुरक्षा अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्थायी प्रकृतिको संयन्त्र खडा गरिएको हुन्छ । यही संयन्त्रले निष्पक्ष रूपमा हरेक दुर्घटनाको छानबिन गर्छ र सुधारका लागि सरोकारवाला सबै पक्षलाई सुझाब दिन्छ । ती सुझाब कार्यान्वयन भए/नभएको सम्बन्धमा नियमन पनि गर्छ ।


Facebook Comment


No ads found for this position