हिमालपारीको जिल्ला पुग्दा(फोटो फिचर)

सुदिल पोखरेल

हिमाल पारिको जिल्ला मनाङ यात्रा गर्नेहरु जो कोही पनि यहाको प्राकृतिक सौन्दर्यता देखेर रमाउने गर्छन्। छहरा र पहराको  सौन्दर्यता पस्कने मनाङमा सवारी साधनबाट यात्रा गर्न  भने सहज छैन।

झरना र खोलाहरु तर्नलाई बनाइएका काठका पुलहरु हेर्दा रमाइलो लाग्ने भएपनि यात्रा गर्दा भने धेरैको डरले शरिर काम्ने गर्दछ। अधिकांश ठाउँमा पहरा रहेको यो सडकखण्ड नेपालको सबैभन्दा जोखिमयुक्त सडक भएपनि यसका लागि छुट्टाएको बजेट भने समयमा खर्च हुँदैन।
बेंशीसहर देखि चामे सम्मको सडक खण्डका लागि गत आर्थिक वर्ष २०७२-०७३ मा ४ करोड जति बजेट छुट्टाइएपनि लगभग ५० लाख मात्रै खर्च भएको थियो। बर्षातले गर्दा अहिले कैँयन स्थानमा पहिरो पनि खसिरहेको छ।
सडक विभागका डिभिजन प्रमुख भानु जोशीले भने ‘ गत वर्ष ४ करोड छुट्टाएकोमा ५० लाख जति मात्रै खर्च भयो नाकाबन्दीका कारण बजेट खर्च भएन। ’ लमजुङको काप्रेभिरमा पाानी परेको समयमा ढुङगा खसिरहेको हुन्छ। पहाडबाट तल ढुङ्गा खसेको छ वा छैन भनेर एक जनाले  जानकारी दिएपछि मात्रै गाडी अघि बढाउन सकिन्छ।
आर्थिक वर्ष २०६४-०६५मा नेपाली सेनाले यसको ट्रयाक खोलेको थियो। ट्रयाक खोल्ने क्रममा निर्माण भएका अधिकांश कलबर्ट अहिले खोलाले बगाएका छन्। जसका कारण केही समयअघि सवारी आवागमनलाई सुचारु गर्न सडक विभागले काठका पुलहरु निर्माण गरेको छ।
काठका पुलहरुबाट सवारी आवागमन त भएको छ तर यो निकै जोखिमपुर्ण देखिन्छ। गत वर्षको भूकम्पका कारण जमीन हल्लिएका कारण यसवर्ष धेरै ठाँउमा पहिरो गएको जोशीको आँकलन छ।
बेंशीसहरबाट मनाङ जाने सडकखण्डमध्ये ३९ किमी लमजुङ जिल्लामा पर्छ भने २६  किलोमिटर मनाङमा पर्ने गर्दछ। त्यस्तै मनाङको सदरमुकाम चामेदेखि मनाङ गाँउ सम्म जाने सडकमा भने ३२ किलो मिटर रहेको  जसको व्यवस्थापनको जिम्मा भने जिल्ला विकास समितिले लिएको छ।
 चामेदेखि मनाङ सम्मको  ३२ किलोमिटर सडक बेंशीसहर देखि चामे सडकखण्डको तुलनामा केहि  सहज छ। चामे देखि मनाङ सम्मको धेरैजसो ठाँउमा समथर भाग रहेको छ।
 चालु आर्थिक वर्षमा सरकारले अधिकांश ठाउमा पुलहरु निर्माण गर्न टेन्डर आह्वान गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्षको लागि उक्त सडकखण्डका लागि १० करोड रुपैयाँ छुट्टाइएको भएपनि बहुबर्षिय ठेक्का प्रणाली अन्तर्गत ३० करोड रुपैयाँ सम्मको टेन्डर आह्वान गर्न सकिन्छ।
यो सडकखण्डमा कैँयन स्थानमा ढुङ्गा पन्छाउनु पर्ने त कैँयन स्थानमा गाडी गुड्नका लागि सहज हुने गरी सडक समथर पार्न जरुरी छ। अधिकांश स्थानमा चट्टान छ जसका कारण निर्माण केही कठीन देखिएपनि गाडी गुड्नका लागि सहज भने बनाउन सक्ने देखिन्छ।
अहिले सामान्यत बेंशीसहरदेखि चामेसम्म पुग्न ८ घन्टा लाग्छ। तर सडकलाई केहि मर्मत गर्ने हो भने यो ५ घन्टामै सिमित हुने जोशी बताउँछन्। एसियाली विकास बैंकले सन् २०२२ सम्ममा यो सडक कालोपत्रे गर्ने प्रस्ताव गरेपनि सरकारको योजनामा भने यो सडकखण्ड कहिले कालोपत्रे गर्ने भनेर खुलेको छैन।
 सडक खुलेसंगै मनाङमा व्यवसाय गर्नेहरु बढेका छन्। तरकारी खेती, ट्राउट माछा पालन र स्याउ खेती सुरु भएपनि उनिहरुका लागि जोखिमयुक्त सडक चुनौतिपुर्ण बनेको छ। खोलामा काठका पुल रहेका छन् जसमा ठुलो मात्रामा सामान राखेर पार गर्न बन्देज लगाइएको छ।
मनाङ एग्रोका प्रमुख युवराज गुरुङ भ्रन्छन् ‘सडक खुलेपछि व्यवसाय गर्ने सोच बनायौ र सुरु गर्याे तर अधिकांश खोलामा बनेका काठका पुलमा धेरै सामान ओसार पसार गर्न नमिल्ने भएका कारण सोचेभन्दा लागत बढेको छ। ’
 सडक विभागलाई कामदार अभाव  पहिलो चुनौती बनेको छ। सडक निर्माणका लागि गएका कामदारहरु उक्त स्थानमा खानबस्न महंगो भन्दै काम छोडेर हिँड्ने गरेका छन्। पर्यटकीय क्षेत्र भएकाले होटल तथा रेष्टुरेन्टहरु केहि महंगो छन््। जाडोमा ३ र बर्षात सिजनमा ३ गरि ६ महिना भने काम नै अघि बढाउन सकिदैन।
 समयमा यस्ता सडकखण्डको निर्माणको टेन्डर हुँदैन जसका कारण बजेट फ्रिज हुने र जनता भने जोखिम मोलेर यात्रा गर्न बाध्य हुने केहि वर्ष यतादेखि निरन्तर  भएको छ।


Facebook Comment


No ads found for this position