यति एयरको दुर्घटना छानबिन गर्न आयोग गठन

काठमाडौँ, १९ असोज । सरकारले भैरहवा विमानस्थलमा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानबारे छानबिन गर्न चार सदस्यीय जाँचबुज आयोग गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह, नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन श्रवण रिजाल र पर्यटन मन्त्रालयका उपसचिव हरिबहादुर खड्का सदस्य सचिव रहनुभएको छ ।

पर्यटन मन्त्रालयको मङ्गलबारको निर्णयअनुसार दुर्घटनाबारे छानबिन गर्न विज्ञ सम्मिलित समिति गठन गरिएको मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगलाई विमान दुर्घटनाका कारण पत्ता लगाउन तथा भविष्यमा यस्तो दुर्घटना हुन नदिने सुझावसहित तथ्य पत्ता लगाई ७५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ ।

गत असोज ८ गते काठमाडौँबाट भैरहवाको उडानमा रहेको यति एयरलाइन्सको नाइनएन– एआइबी जेटस्ट्रेम ४१०० विमान भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा प्राविधिक समस्याका कारण धावनमार्गबाट करिब ४४२ फिट दक्षिणतर्फ गई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा कुनै मानवीय क्षति भएको थिएन ।


Facebook Comment


No ads found for this position