खोकना जात्रामय

सञ्चिता घिमिरे

ललितपुर, १९ असोज । मुलुकका अधिकांश ठाउँमा दसैँ आगमनको उल्लास छाइरहँदा ऐतिहासिक महत्व बोकेको खोकना भने जात्रामय बनेको छ । घटस्थापनाका दिनमा सुरु भएको यहाँको प्रसिद्ध सिकाली जात्रा अष्टमीका दिनमा सकिनेछ । सिकाली जात्रा बौद्धधर्मावलम्बीको दसैँ भएको खोकनावासी बताउँछन् ।

बज्रयान परम्पराअनुसार सम्राट अशोकले शस्त्र त्यागेर विश्व शान्तिको अभियान सुरुवात गरेका थिए । त्यसैको सम्झनामा सिकाली जात्रा मनाइने गरेको जनविश्वास छ ।

जात्राअन्तर्गत आज चतुर्थी तिथि पारेर घरघरमा छोयलाभू मनाइएको छ । गुठी र मन्दिर दुवै ठाउँमा सिकाली देवताको भव्य रुपमा पूजा गरिएको हो । मन्दिरमा खोकनावासी सबै पूजामा सहभागी हुने गरेका छन् । गुठीमा गरिने पूजा भने विशेष खालको हुन्छ । इनाभा (तान्त्रिक विधिअनुसार पूजा गर्ने व्यक्ति)ले विधिपूर्वक पूजा गरेका हुन् ।

सिकाली जात्रा बौद्ध धर्मको बज्रयान परम्परामा आधारित हुने स्थानीय कृष्णभक्त डङ्गोलले बताउनुभयो । अष्टमीका दिनमा अरु सबैतिर काटमार हँुदा खोकना गाउँ भने सुनसान हुने गर्छ । स्वयम्भूमा रहेको बोधिसत्व (बुद्धको एक अवतार) शान्त ठाउँको खोजीमा रुद्रायणी मन्दिरमा आएको विश्वास गरिन्छ । रुद्रायणी देवीको मन्दिरको शिरमा अहिले पनि स्वयम्भू भगवान्को मूर्ति रहेको छ । स्थानीय बासिन्दाले काटमार नगर्ने, नाचगान नगर्ने, घन्टा नबजाउने र रेडियो समेत नबजाउने भएकाले गाउँमा पूरै शान्ति छाउने गरेको डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “जात्रा सुरु भएदेखियता यसमा परिवर्तन आएको छैन ।”

भोलि (बिहीबार) मूल जात्रा हुने डङ्गोलले बताउनुभयो । गुठीभित्र र मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा हुनेछ । पूजाले भैरव जाग्ने विश्वास छ । उहाँले भन्नुभयो, “सिकाली जात्रामा तान्त्रिक विधिअनुसार पूजा गरेर देवतालाई जगाउने गरिएको छ ।”

पञ्चमी, षष्ठी र सप्तमीको दिनमा पनि विभिन्न खालका पूजाआजा र अरु जात्रासमेत हुन्छ । पञ्चमीका दिनमा कोटीहोम गरिन्छ । यही दिनमा भैरव जात्रा, खट जात्रा र श्रीखड्ग भवानी जात्रा हुने गरेको छ । सप्तमीका दिनमा द्यः प्याँख(देवी नाच) हुने गरेको छ । साँझमा दाफा खलः (सांस्कृतिक समूह) ले प्रस्तुति दिने गरेका छन् ।

अष्टमीका दिन सबैतिर काटमार हुँदा खोकनामा भने काटमार हुँदैन । तीन वटा गुठीमा जगाइराखेको भैरव शक्तिलाई पूजा गरेर र छ्वाली बालेर शक्ति गाउँ बाहिर पठाउने गरिन्छ ।

घटस्थापनाको दिनदेखि तृतीयाको दिनसम्म १२ जना कुमार केटाले चोखो खाना खाएर बस्छन् । उनीहरुले गाउँलेसँग पूजा सामग्री सङ्कलन गर्ने गर्छन् ।

सिकाली जात्राअन्तर्गत पर्ने भैरव जात्रा लिच्छवीकालदेखि र रुद्रायणी देवीको जात्रा मल्लकालदेखि खोकनामा भव्य रुपमा मनाइँदै आएको छ । मल्लराजा अमर मल्लले रुद्रायणीको जात्रा सुरु गरेको इतिहास पाइन्छ ।

खोकनावासीले आस्थाको केन्द्रका रुपमा रहेको रुद्रायणी देवीको यही अवसरमा तान्त्रिक विधिअनुसार पूजा गर्ने गरेको डङ्गोलले बताउनुभयो । पूजाको विधि नमिल्दा दैविक शक्ति व्यक्तिमा प्रवेश गर्ने विश्वासले गर्दा सर्तक भएर पूजा गरिन्छ । जात्राको प्रसाद ग्रहण गर्न उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु खोकना पुग्छन् । प्रसाद खानाले मानसिक र शारीरिक रोग निको हुने विश्वास रहेको छ ।


Facebook Comment


No ads found for this position