बागलुङ कालिकामा भक्तजनको घुइँचो

बागलुङ, १९ असोज । नवरात्र सुरु भएसँगै यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाअर्चनाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गर्छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार दसैँ अवधिभर लाखौँ भक्तजनले भगवतीको दर्शन र पुजाअर्चनाका लागि मन्दिरमा आउने गर्छन् ।

समितिका अध्यक्ष राजु खड्काले हिजोआज दैनिक करिब २५ हजार भक्तजनले मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन् । घटस्थापनासँगै सुरु भएको दसैँको चौथो दिनसम्ममा भक्तजनले चढाएको भेटीबाट रु चार लाख ९० हजार सङ्कलन भइसकेको छ ।

देशकै पवित्र धार्मिकस्थलको रुपमा परिचित यस मन्दिरमा बडादसैँ र चेतैदसैँको बेला विशेष मेला लाग्ने गरेको छ । मन्दिरको मुख्य आम्दानी हुने समय पनि यिनै हुन् ।

बडादसैँलाई लक्षित गरी पूजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि विशेष व्यवस्थापन गरिएको छ अध्यक्ष खड्काले भन्नुभयो –मन्दिरको सुरक्षार्थ तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित स्वयम्सेवक र मन्दिर व्यवस्थापनका कर्मचारी अहोरात्र खटिएका छन् । “पूजाअर्चना कार्यलाई सहज बनाउन आवश्यक सबै उपाय अपनाइएको छ” अध्यक्ष खड्काले भन्नुभयो “दसैँको बेला मन्दिरका तीनवटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।”

सुरक्षा, खानेपानी, शौचालयदेखि अन्य व्यवस्थापकीय काममा पनि कुनै कमी हुन नदिइएको उहाँको भनाइ छ । पाँचसय वर्ष पुरानो यो मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीलगायतका देवीको पूजा आराधना गर्ने गरिन्छ । पछिल्लो समय कालिकाको दर्शनका लागि भारतबाट समेत दर्शनार्थी यहाँ आउन थालेका छन् । राजधानी काठमाडौँ, पोखरालगायत विभिन्न ठाउँबाट भगवतीको दर्शनका मन्दिरमा भक्तजन आउने गरेका छन् ।

दसैँ सुरु भएको दिनदेखि नै बिहान ३ बजेदेखि भक्तजन मन्दिरमा लाम लाग्ने गरेका छन् । कालिका भगवती मन्दिरमा पूजाआजा गर्नाले शक्ति प्राप्त हुने तथा मनाकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । “बागलुङ कालिकालाई देशकै प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ” बागलुङका संस्कृतिकर्मी प्राज्ञ प्रेम छोटाले भन्नुभयो “दसैँको नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको धुमधाम पूजा गरिन्छ ।” पछिल्लो समय मन्दिरको गरिमा झन बढ्दै गएको उहाँको बुझाइ छ ।

दसैँमा महाअष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोको समेत बलि दिने प्रचलन छ । गत वैशाखदेखि परेवा बलिमा भने रोक लगाइएको छ । कालिका भगवती मन्दिरको समग्र विकासको लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना बनाएर काम गरिरहेको छ ।


Facebook Comment


No ads found for this position