पर्यटनको नयाँ ‘प्रोडक्ट’ : स्की खेलको व्यावसायिक अभ्यास सुरु

सिबी अधिकारी 

काठमाडौँ, २० असोज । सर्वोच्च शिखर सगरमाथासहित अग्ला हिमाल र चुलीको पहिचान बोकेको नेपालमा पर्यटनको नयाँ आकर्षणका रुपमा स्की खेलको व्यावसायिक अभ्यास सुरु भएको छ ।
साहसिक पर्यटनको आधार रहेको स्की हिउँमा चिप्लिएर खेलिने साहसिक एवम् रोमाञ्चक खेल हो । यसको व्यावसायिक प्रवद्र्धनका लागि सरकारी तथा निजी क्षेत्र लागिपरेका छन् ।

sky everstहिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की तथा स्नोबोर्डिङ खेलको विकास गरेर पर्यटक आकर्षित गर्न नेपाल माउन्टेन एकेडेमी र स्की तथा स्नोबोर्डिङ प्रतिष्ठान नेपालमा आबद्ध युवा लागिपरेका हुन् । उनीहरुले विदेशीको सहयोगमा तालिम चलाउँदै स्की स्कुल स्थापनाको काम पनि अघि बढाएका छन् ।

यो प्रयासलाई साथ दिएका छन् जर्मनीका जुलियस सेइडेन्डर र ज्याकोव थाउले । क्यानडाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त जुलियस स्की र स्नोबोर्डिङ तथा ज्याकोव स्नोबोर्डिङका प्रशिक्षक हुन् ।

नेपालमा स्की तथा स्नोबोर्डिङसम्बन्धी प्रशिक्षण दिँदै आउनुभएका जुलियसले स्कीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउनुभयो ।

“स्की तथा स्नोबोर्डिङका लागि नेपाल सम्भावनायुक्त गन्तव्य हो । नेपालमा पर्यटक आकर्षित र प्रवद्र्धन गर्ने साहसिक खेलका रुपमा विकास गर्न सकिन्छ, यसका लागि दक्ष जनशक्ति उत्पादन गर्न जरुरी छ” – रासससँगको कुराकानीमा जुलियसले भन्नुभयो ।

अस्ट्रियासहितका देशमा स्की सिकाउने गरेका जुलियसले नेपालको हिमाली क्षेत्रमा प्राकृतिकरुपमै मुख्य हिउँ पाइने भएकाले साहसिक खेलका रुपमा यसको विकास गर्न सकिने धारणा राख्नुभयो ।

उहाँसहितको टोलीले हालै सोलुको मेरा पिक (६४६५ मिटर) मा छजना पदयात्रा पथप्रदर्शकलाई २० दिने स्कीे तालिम दिएको छ ।

पहिलो स्की एक्सपिडिसनमा नेपाल माउन्टेन एकेडेमीले सहयोग गरेको थियो । मेरा ला भञ्ज्याङबाट चुलीतर्फ भएको प्रशिक्षणमा हिउँ पहिरोमा गरिने उद्धारसहित खेलको व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको प्रतिष्ठानका कोषाध्यक्ष सुरज काफ्लेले बताउनुभयो ।

“एक प्रकारको यन्त्र (डिभाइस) समेत हुने भएकाले आरोही हिउँमा पुरिँदा पत्ता लगाउन सकिनेखालको उद्धार विधि र स्की एवम् स्नोबोर्डिङका नयाँ र पुराना तारिकासहितको प्रशिक्षण दिइँन्छ । ” – काफ्लेले भन्नुभयो । यसका लागि झन्डै रु आठ लाख खर्च भएको छ ।

प्रतिष्ठानको अगुवाइमा गत फेबु्रअरीमा ३५ पथप्रदर्शक तथा होटल व्यवस्थापनका विद्यार्थीलाई स्कीसम्बन्धी तालिम दिइएको थियो । आगामी मङ्सिरमा ‘लाङ्टाङ हिमालय स्की ट्रेल’ र माघमा दोलखाको रोलवालिङ वा अन्नपूर्ण वेस क्याम्पमा आयोजना गरिने कोषाध्यक्ष काफ्लेले बताउनुभयो ।

स्कीको व्यावसायिक सम्भावना रहे तापनि त्यहाँसम्म पुग्ने सडक सुविधा नहुनु, स्कीबारे जनचेतना अभिवृद्धि र जनशक्ति अभावजस्ता चुनौती छन् ।

पश्चिमी संस्कारको स्की खेल युरोप र अमेरिकाका साथै पछिल्लो समय एसियाका कतिपय देशमा विकसित भएको पाइन्छ, अहिले चीन र भारतले पनि यसको व्यावसायिक खेल सुरु गरेका छन् ।

स्कीको व्यावसायिक सम्भावनालाई मध्यनजर गरी माउन्टेन एकेडेमीले पूर्वाधार निर्माणका काम अघि बढाएको छ ।

एकेडेमीकीका कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पाले नेपालमा दुई वर्षदेखि स्कीको सम्भाव्यता अध्ययन गरी १७ जनालाई तालिम दिइएको बताउनुभयो ।

“नेपालमा हिमाल छन् तर यहाँ के कस्ता गतिविधि हुन्छन् भन्ने संसारलाई थाहा छैन, त्यसैले भविष्यमा स्की पर्यटनको ठूलो सम्भावना छ, यो पर्यटक बढाउने आधार हो” – उहाँले भन्नुभयो ।

के हो स्की तथा स्नोबोर्डिङ

स्की धेरैथरिका छन् यो हिउँमा चिप्लेटी खेल्ने साहसिक तर रोमाञ्चक खेल हो । यो खेलका लागि कुनै उमेर समूह पेसाले छेक्दैन । हिउँपर्ने स्थान जहाँ पनि खेल्न सकिन्छ । खेलका लागि स्की स्किन, स्की स्टिक, स्की बुट, स्नोबोर्डजस्ता सामग्री आवश्यक पर्छ ।

हिमाली देश नेपालमा स्कीको प्रचुर सम्भावना रहेकाले वर्षको छ÷सात महिना हिउँ पर्ने ठाउँमा स्कुल नै खोल्ने प्रयास भएको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले बताउनुभयो । सन् २०११ मा जुलियस र ज्याकोवले पहिलोपटक नेपालमा स्कीको सम्भावनाबारे अध्ययन गरेका थिए ।


Facebook Comment


No ads found for this position