दूध बेचेर मासिक साठी हजार आम्दानी

रामपुर (पाल्पा), २० असोज । बौघापोखराथोकका टीकाराम रेश्मीले दूध बेचेर मासिक रु ६० हजार आम्दानी गर्दै आउनुभएको छ । दूध उत्पादनबाटै उहाँको परिवारको गुजारा राम्रोसँग चलेको छ । उहाँले विगत छ वर्षदेखि व्यावसायिक रुपमा गाई पाल्न थाल्नुभएको हो । रेश्मीको फार्ममा अहिले होलस्टिन क्रस, जर्सी र ब्रनस्विस जातका गरी १२ वटा माउ गाई र सातवटा बाच्छाबाच्छी रहेका छन् । उहाँले दैनिक ७० लिटर दूध भन्दा बढी बिक्री गर्दै आउनुभएको छ ।

milk splashकरिब ११ वर्षसम्म उहाँले साउदी र कतारमा मजदुरी गर्नुभएको हो । “विदेशको कमाइले खान र बस्न मात्र ठिक्क हुन्थ्यो,” उहाँले भन्नुभयो – “कमाउन सकिएन खाली हात घर फर्किनुप¥यो ।” गाउँमा अरुले गाई पालेर दूध बिक्रीबाट मनग्य आम्दानी गरेको देखेपछि उहाँले गाई पाल्न सुरु गर्नुभएको हो ।

रेश्मीले रु १२ लाखको लगानीमा व्यवसाय सुरु गर्नुभएको हो । जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत रु ५९ हजार, एउठटा चापकटर मेसिन र मोटर खरिदका लागि रु १० हजार सहयोग गरेको पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउनुहुन्छ । पन्ध्र माउ गाईबाट दैनिक १५० लिटर दूध उत्पादन गरी मासिक रु एक लाख बराबर आम्दानी गर्ने उहाँको लक्ष्य छ । उत्पादित दूध सदरमुकाम तानसेनमा बिक्री गरिँदै आएको छ ।

गाउँमै रोजगारी

हुमिन गाविसका जीतबहादुर दर्लामी रोजगारीको खोजीमा साउदी अरब पुग्नुभयो । सन्तोषजनक कमाइ नभएपछि उहाँ घर फर्किनुभयो । तर अहिले यहाँ सीप र प्रविधिको उपयोगबाट उहाँले मासिक रु ३० हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ ।

दर्लामीले अहिले फर्निचर उद्योगमा काम गरिरहनुभएको छ । यस्तै हुमिनका सन्तबहादुर नेपालीले पनि विदेशमा भन्दा दोब्बर कमाइ गर्दैआउनुभएको छ । रुप्से गाविसमा सञ्चालित फर्निचर उद्योगमा दर्लामी र नेपालीलगायत १० जना युवालाई काम र दाम कमाउने अवसर मिलेको छ । उहाँहरुले मासिक रु १५ हजार ज्यालाबापत आम्दानी गर्नुहुन्छ ।

खाडीमुुलुक ताक्नुको सट्टा आफूसित भएको सीपको सदुपयोग गर्न सके गाउँघरमा नै आम्दानी गर्न सकिने दर्लामी बताउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार दुई नगरपालिका, ६० गाविसका करिब २०० वटा फर्निचर उद्योगमा दुई हजारभन्दा बढी युवाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन् ।


Facebook Comment


No ads found for this position