दैनिक साढे चार हजार गाडी बाहिरिन्छन्
२१ असोज, काठमाडौं । उपत्यकाबाट दसैँ मनाउन घर हिँडेका यात्रुलाई बाटोमा घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । राजमार्गका केही खण्डमा पहिरो र सवारीको अत्यधिक चापले पनि समस्या छ ।
पृथ्वी राजमार्गको आँबुखैरेनीमा बुधबार झरेको सुक्खा पहिरोले लामो दूरीका बस समयमै गन्तव्यमा पुग्न नसकेको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । उपत्यकाबाट बाहिरिने अरनिको र बिपी राजमार्गमा भने कुनै समस्या नरहेको भट्टले बताए ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले बिहीबारबाट यात्रुसहित ४५ सय सवारीसाधन उपत्यकाबाट बाहिरिने गरेको बताए ।
उनका अनुसार बुधबारसम्म दैनिक तीन हजार पाँच सय सवारीसाधन बाहिरिएका थिए । सडक मर्मत–सुधारमा बेवास्ता हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुर्याउन नसकिएको व्यवसायीको भनाइ छ ।
सवारीसाधनको अत्यधिक चापले समयमै गन्तव्यमा पुग्न समस्या हुने सडक विभागको निष्कर्ष छ । सवारीसाधनको चापले जाम हुने कारण बढी समय लागेकोे विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए ।
अन्य कारणले पनि ढिलो हुने गरेको उल्लेख गर्दै उनले भने, ‘सडक विस्तार र विभिन्न खण्डमा पानीले सडकमा असर गरेकाले पनि जाम बढेको छ।