यी १० कुरामा ध्यान दिनुस् किनमेल जाँदा

shopping-bags-retail-ss-1920दशैँको बेला छ। किनमेल नगरी सुख छैन। अझ कतिलाई त चाडबाड भनेकै किनमेल गर्नु मात्र जस्तो लाग्नसक्छ।

किनमेलका क्रममा मानिसहरु कैयन् गल्ती गर्ने गर्छन्।

पसलेसँग बाझाबाझ गर्नेदेखि लिएर अनावश्यक सामान किन्ने वा बढी दाम तिर्ने तर पछि ती अनुपयोगी साबित हुने समस्या आउने गर्छन्।

त्यसैले यो दशैँको किनमेलमा तपार्इं समय र पैसाको बचत गर्न चाहनुहुन्छ भने यी सुझावहरु पढेर मात्रै बजार पस्नुस्ः

१. किनमेलमा जानुअघि आवश्यक सामानको सूची बनाउनुहोस्!

किनमेलको सूची तयार गर्नु सबैभन्दा पहिलो तयारी हो। धेरै मानिसमा आफूलाई नचाहिने वा आफूले किन्न नचाहेको सामान किनेको तीतो अनुभव पाइन्छ। यदि तपाईंले किनमेलमा जानुअघि आवश्यक सामानको सूची बनाउनुभयो भने यस्तो समस्याबाट जोगिन सजिलो हुन्छ। त्यसैले बजार जानुअघि आफूसँग रहेका सामानहरुलाई हेर्नुहोस्, कपीकलम लिएर बस्नुहोस् र चाहिने सामानको सूची तयार गर्नुहोस्।

२. बजेटको निर्धारण गर्नुहोस्!

तपाईंले बजेट नबनाई किनमेल गर्नुभयो भने अर्कै कामको लागि छुट्याइएको पैसा पनि किनमेलमा खर्च हुनसक्छ। त्यसैले कति पैसाको सामान किन्ने भन्ने कुरा पूर्वनिश्चय गर्नुहोस्, ताकि सामान किन्दाकिन्दै पैसा नपुग्ने समस्या वा सामान किनेर घर फर्किसकेपछि विलमा हेरेर पछुताउने समस्या तपाईंले भोग्नुनपरोस्।

३. किनमेलको अवधि तोक्नुहोस्!

सपिङ मल वा बजारमा निरुद्देश्य भड्किएको यात्रीजस्तो आफूलाई घुम्न नदिनुहोस्। अर्थात्, यति घण्टाभित्र किनमेल गरिसक्छु भन्ने एउटा समयसीमा निर्धारण गर्नुहोस्। कतिपय व्यक्तिहरु बिहान घरबाट किनमेलका लागि निस्केपछि एकै पटक साँझमा सामानको पोका बोकेर घरभित्र छिर्छन्। यो राम्रो रणनीति पक्कै होइन। याद राख्नुहोस्, तपाईं आफ्नो महत्वपूर्ण समय बजार डुलेर बिताइरहनुभएको छ। आफूलाई चाहिएको सामान किनसकेपछि घर फर्किनु र अरु काममा व्यस्त हुनु सबैभन्दा उत्तम हुनेगर्छ।

४. नगद तिर्नुहोस्!

खुद्रा सामान किन्दा तपाईंले डेबिट वा क्रेडिट कार्डको प्रयोग गर्नुभयो भने तपाईंले बढी पैसा तिर्नुपर्ने हुनसक्छ। त्यसबाहेक कार्ड प्रयोगको शुल्कमै पनि पैसा खर्च हुनेगर्छ। त्यसैले धेरै र खुद्रा सामान किन्न बजार जानुअघि पर्समा आवश्यक नगद राखेर जाने गर्नुहोस्।

५. किनमेलका लागि आफूलाई सबैभन्दा उपयुक्त समय छनोट गर्नुहोस्!

किनमेल दिक्कलाग्दो र थकावटपूर्ण हुनसक्छ। त्यसैले बजार व्यस्त भएको बेला किनमेल गर्नु बुद्धिमानी होइन। त्यसभन्दा पनि तपाईं आफूलाई उपयुक्त हुने समय छनोट गर्नु आवश्यक हुन्छ। भीडभाडयुक्त अवस्था वा शारीरिक तथा मानसिक थकानको बेलामा सामान किन्न जानु राम्रो होइन। त्यसैले सकेसम्म आफू स्फुर्त र स्वस्थ रहेको समयलाई छनोट गर्नुहोस्।

६. किनमेलमा एक्लै जानुहोस्!

धेरैलाई लाग्छ, साथीसंगीसहित किनमेलमा जादाँ राम्रो होला। तर धेरैजसो अनुभवहरुले उल्टो परिणाम दिएको देखाउँछन्। तपाईंका साथी तपाईंलाई अनावश्यक सामान किन्न बाध्य पार्ने, लोभ्याउने र उनीहरुको आफ्नै उद्धेश्य लदाउने गर्न सक्छन्, जबकि तपाईंको उद्देश्य र प्राथमिकता उनीहरुको भन्दा बिल्कुल अलग हुनसक्छ। अझ कतिपय अवस्थामा त प्रतिस्पर्धा वा ईर्श्याको भावनाले पनि काम गर्न सक्छ। त्यसैले तपाईं आफ्नालागि सामान किन्न जादा एक्लै जानु राम्रो हुन्छ।

७. संवेगात्मक अस्थिरताको बेलामा किनमेल नगर्नुहोस्!

तपाईंलाई कुनै कुराको चिन्ताले सताइराखेको छ, दिक्क लागिरहेको, रिस उठिरहेको वा भोक लागिरहेको छ भने तपाईं किनेमलका लागि जादैँ नजानुहोस्। यस्तो बेलामा किनमेल गर्दा आफूले नचाहेको सामान किन्ने वा बढी पैसा तिर्नसक्ने सम्भावना रहन्छ। भावनात्मक समस्या देखा परेको बेला अरु नै त्यस्तो कुनै काम गर्नुहोस्, जसले तपाईंको मुडलाई फ्रेस बनाउँछ।

८. किनमेल गर्दा आफैँलाई सोध्नुहोस् ‘के साँच्चै मलाई यो सामान आवश्यक छ?’

हामीमध्ये धेरैजसो सामान किन्दा आवेगको शिकार बन्ने गर्छौँ। हाम्रा साथीमध्ये कोहीले यस्तो सामान किनेको छ भने मैले किन नकिन्ने? वा नजिकैको मान्छेले यही सामानका लागि यति पैसा तिर्दै छ भने मैले किन नतिर्ने? यस्तो सोचिरहँदा हामी यो हिसाब गर्दैनौँ कि त्यो सामान हामीलाई वास्तवमै काम लाग्छ कि लाग्दैन। त्यसैले सामान किन्दा आफैँलाई प्रश्न गर्ने बानी बसाल्नुहोस्, ताकि सामान किनिसकेपछि त्यसलाई बिनाप्रयोग फाल्नु नपरोस्।

९. याद राख्नुहोस्, बिक्रेता तपाईंलाई सामान बेच्नकै लागि बसेको हो!

बिक्रेता जतिसुकै मित्रवत् वा सुन्दर किन नहोस्, ऊ तपाईंलाई सामान बेच्न बसेको हो। त्यसैले ऊ तपाईंको साथी होइन। उसको एउटा मात्रै चिन्ता के हो भने कोही पनि खालीहात त्यहाँबाट निस्किन नपाओस्। त्यसैले तपाईं उसको राम्रो अनुहार, मीठो बोली र लोभलाग्दो व्यवहारमा नझुक्किनुस्।

१०. ‘सेल’मा राखिएको छ भन्दैमा नकिन्नुहोस्!

बजार पस्न लागेको व्यक्तिलाई सबैभन्दा बढी लोभ्याउने र झुक्याउने शब्द हो ‘सेल’। बजारमा जताततै लेखिएका हुन्छन्, पाँच सयको सामान तीन सयमा, वा यस्तैयस्तै। तपाईंले कहिल्यै नलगाउने वा एकदुई पटक लगाउने सर्ट वा बडी स्प्रेमा तीन सय रुपैँया खर्च गर्नु भनेको त्यो खेर जानुजस्तै हो। यसलाई हामी सेलमा भएर त हो नि भनेर चित्त बुझाउँछौं। तर, सेलमा छ भन्दैमा सामान सस्तो पर्छ र राम्रो हुन्छ भन्ने केही ग्यारेन्टी हुँदैन।


Facebook Comment


No ads found for this position