ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा

फलेवास (पर्वत), २६ असोज । पर्वतको खौलालाँकुरी गाविसमा अवस्थित ऐतिहासिक भूमे कोतको उचित संरक्षण हुन सकेको छैन । बाइसे चौबिसे राजाको पालादेखि विभिन्न परम्परागत संस्कृतिको संरक्षण गर्दै आएको यस कोत संरक्षणको अभावमा ऐतिहासिक महत्व खस्किँदै गएको छ ।

यसको संरक्षणका लागि स्थानीयवासी जागरुक बने पनि अन्य राज्यस्तरका निकायबाट पहल हुन सकेको छैन । राज्यस्तरबाट सहयोग उपलब्ध नभएपछि ऋणबाट मन्दिरको जीर्णोद्वार गरिए पनि अहिले ऋण तिर्न नसक्दा कोत संरक्षणमा खटिने अगुवा विलखबन्दमा परेका छन् ।

कोतमा निर्माण भएका ऐतिहासिक मन्दिर जीर्ण भएपछि खौलालाँकुरी माध्यमिक विद्यालयबाट रु तीन लाख ५० हजार ऋण सहयोग मागेर गत वर्ष जीर्णोद्वार र नयाँ मन्दिर निर्माण भएको थियो । अहिले उक्त ऋण तिर्ने कुनै सहयोग र स्रोत नभएपछि समस्या आइपरेको छ ।

कोतको संरक्षण तथा व्यवस्थापनका लागि गठित समितिले विभिन्न सरकारी सहयोगी निकायमा सहयोगका लागि माग गरे पनि आवश्यक सहयोग उपलब्ध हुन नसकेको व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर क्षेत्रीले बताउनुभयो । “पटक पटक सहयोगको आग्रह गरियो तर सहयोग पाइएन” अध्यक्ष क्षेत्रीले भन्नुभयो “स्कुलबाट ऋण मागेर मन्दिर बनाइयो तर ऋण तिर्न सकिएन ।”

यो खौलालाँकुरी कोतमा पर्वतको खौलालाँकुरी, ठूलीपोखरी, आर्थर, कार्कीनेटालगायतका एक दर्जन गाविसवासी र छिमेकी जिल्ला स्याङ्जाको आरुचौर, विचारीचौतारालगायतका गाविसबाट पूजाआजाका लागि सर्वसाधारण आउने गरेका छन् ।

यहाँ विशेष गरी महानवमीको दिन मेला लाग्ने गर्दछ । धर्मावलम्बीले आफ्नो र परिवारको मनोकांक्षा पूरा होस् र शान्ति मिलोस् र जस्तोसुकै आपत्विपत् परे पनि नवदुर्गाले शक्ति प्रदान गरुन् भन्ने कामनाका साथ पञ्चबलि दिने प्रचलन रही आएको छ । पञ्चबलिअन्तर्गत राँगो, बोका, कुखुराको भाले, परेवा र फुर्से कुभिन्डोको बली दिने गरिन्छ । नवमीको दिन सरायँ खेल्ने बाइसे चौबिसे राजादेखिको परम्परा यथावत नै रहेको छ । खौलाकोतमा र छिमेकी गाविस लिमिठानाको लिमीकोतमा एकै साथ सरायँ खेल्ने र दुवै कोतमा सराँय खेल्दा तरवार टल्किएपछि मात्रै बलिदिने भन्ने प्रचलन यहाँ छ ।
यस्ता अनेकौँ ऐतिहासिक महत्व बोकेको यो कोत संरक्षणको अभावमा ओझेलमा परेको छ ।


Facebook Comment


No ads found for this position