पर्यटन व्यवसायमा ३ अर्बभन्दा बढी लगानी

विश्वराज पछल्डङ्ग्या
बाँकेमा पछिल्लो समय होटेल व्यवसाय फस्टाउँदै गएको छ । होटेल व्यवसाय फस्टाउन थालेपछि अहिले नेपालगन्ज र कोहलपुरमा करोडौँको लगानीमा नयाँ–नयाँ होटेल खुल्न थालेका छन् ।

३ अर्बभन्दा बढी लगानी
मध्यपश्चिमाञ्चलको व्यापारिक केन्द्र नेपालगन्ज तथा कोहलपुरको होटेल तथा पर्यटन व्यवसायमा ३ अर्बभन्दा बढी लगानी भएको होटेल अर्गनाइजेसन बाँकेले जनाएको छ । होटेल अर्गनाइजेसन नेपाल बाँकेका अनुसार पछिल्लो तीन वर्षे अवधिमा नेपालगन्ज र कोहलपुरका होटेल व्यवसायमा मात्र करिब ५० करोड लगानी थप भएको छ ।शान्ति–सुरक्षा अवस्थामा आएको सुधारले पर्यटक आगमन भएसँगै नेपालगन्ज र कोहलपुरमा ठूला र सुविधासम्पन्न होटेल निर्माण क्रम ह्वात्तै बढेको हो ।

चारतारे ‘सिग्नेट इन कृष्णा’को सेवा
चारतारे स्तरको होटेल ‘सिग्नेट इन कृष्णा’ले नेपालगन्जमा सेवा सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोडमा रहेको होटेल स्थानीय व्यवसायी दीपेन्द्र अग्रवालले ५० करोड रुपैयाँ लागतमा स्थापना गरेका हुन् ।

विदेशी व्यवस्थापनलाई जिम्मा
होटल सञ्चालनको सम्पूर्ण जिम्मा विदेशी कम्पनी सिग्नेट इनले लिएको छ । विभिन्न मुलुकमा शाखा विस्तार गरेको कम्पनीले ‘सिग्नेट इन कृष्णा’बाट सेवा दिन थालेको छ । होटेल सञ्चालनका लागि दुई पक्षबीच १० वर्षे सम्झौता भएको छ ।

नेपालगन्जबाट पहिलो सेवा
कम्पनीले नेपालमै पहिलोपटक नेपालगन्जबाट सेवा विस्तार गर्न लागेको जनाएको छ । स्वदेशी र विदेशी पर्यटक आवश्यकतालाई दृष्टिगत गर्दै होटेलमा सम्पूर्ण सेवा–सुविधा व्यवस्था गरिएको अग्रवालले बताए । भुइँतलासहित ८ तले भूकम्पप्रतिरोधात्मक भवनमा होटेलले ९६ वटा कोठा, चारवटा रेस्टुरेन्ट, दुईवटा सभाहललगायतका पूर्वाधार तयार गरेको छ ।

सुविधासम्पन्न होटेल
तीनवटा लिफ्ट जडित होटेलमा लान्ड्री सिस्टम, आरो वाटर प्लान्ट, वाटर हिट प्लान्ट, मूलढोकादेखि कोठा तथा विद्युतीय उपकरणमा सेन्सर, ३ सय २० केभिए क्षमताको जेनेरेटरलगायत प्रविधि प्रयोग गरिएको उनले जानकारी दिए ।


Facebook Comment


No ads found for this position