ऐतिहासिकस्थल ताकमकोत संरक्षणको पर्खाइमा

बाबियाचौर (म्याग्दी), २८ असोज । पर्यटकीय तथा धार्मिक सम्भावना रहेको ऐतिहासिकस्थल ताकमकोत संरक्षणको पर्खाइमा छ । ताकम गाविस–९ मा पर्ने सो स्थल संरक्षणका साथै पर्यटकीय र धार्मिक महत्वका विषयमा प्रचारप्रसार हुन सकेको छैन । बाइसे चौबीसे राजाका पालामा थापा राजाले दुई सय वर्षसम्म राज्य गरेको सो स्थानको ऐतिहासिक महत्व छ ।

समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ«े हिमशृङ्खलाका साथै मनरोम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।

जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेको ताकम कोतमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले धार्मिक महत्व पनि उत्तिकै रहेको छ । ताकमकोतमा नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बलि चढाउन भक्तजन आउने गर्छन् ।

प्राकृतिक साँस्कृतिक तथा धार्मिक महत्वको स्थल रहेर पनि सरकारी निकाय र गाउँका अगुवाको उदासीनताका कारण संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ताकमकोत ओझेलमा परेको ताकम–८ मच्छिमका रेशम छन्त्यालले बताउनुभयो । कोत घरमा रहेको तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका ऐतिहासिक महत्वका हतियार, पुराना भाँडा संरक्षण नहुँदा खिया लागेर नष्ट हुन थालेका छन् ।

यसैगरी सुरुङ, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, इँटा, बङ्कर, ओदान, मन्दिर, मूर्ति, फलामको छाता, माटाको शङ्ख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुङ्गालगायतका पुरातात्विक वस्तु संरक्षणको पर्खाइमा रहेका छन् ।

कोतघर, जगन्नाथको मन्दिर र पौवा मर्मतको अभावमा जीर्ण बनेको छ । ताकमकोतको संरक्षण, पूजा व्यवस्थापन र पूर्वाधार निर्माणका लागि गठन भएको ताकमकोत, अन्नपूर्ण जगन्नाथ गुठी व्यवस्थापन समितिले मन्दिरको पुनःनिर्माण र पदमार्ग निर्माणको तयारी भएको जनाएको छ ।

समितिका अध्यक्ष देवबहादुर थापाले गुठीलाई व्यवस्थित र कोतघर जीर्णोद्धार गर्न ताकममा सञ्चालित घनाबस्ती विकास कार्यक्रमअन्तर्गत योजना प्रस्ताव गरिएको बताउनुभयो । यसैवर्ष काफलडाँडा हुँदै कोतघरसम्म पुग्ने रेलिङसहितको पक्की पदमार्ग निर्माण गर्ने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो ।


Facebook Comment


No ads found for this position