जहाजलाई जन्तुको अवरोध

माधव ढुंगाना

भैरहवा२८ असोज । केही दिनअघि काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण क्रममा थियो । अचानक धावनमार्गमा कुकुर देखियो । कुकुर नधपाउन्जेल चालकले आकाशमै उडान भरिरहे । त्यही दिन साँझ भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने क्रममा बुद्ध एयरकै अर्को विमान धावनमार्गमा स्यालसँग ठोक्कियो । स्याल मर्‍यो । गुडेर जमिन छाड्न लागेको विमानलाई फर्काएर प्राविधिक जाँचपछि बल्ल उडाइयो ।

‘विमान उडान र अवतरण क्रममा यहाँस्थित विमानस्थलमा यस्ता घटना धेरै पटक बेहोर्नुपरेको छ,’ बुद्ध एयरका स्टेसन म्यानेजर दर्शन घिमिरेले भने, ‘जंगली जनावर र पक्षीका कारण विमानस्थल जोखिमपूर्ण बनेको छ ।’ उनका अनुसार नोभेम्बर महिनामा मात्रै बुद्ध एयरका जहाज दुईपटक जंगली जनावरसँग ठोक्किसके । विमानस्थलमा वर्षौंदेखि जनावर र पक्षीसँग विमान ठोक्किने क्रम यथावत् छ ।

धावनमार्गमा कुकुर, स्याल, नीलगाई, बँदेल र अजिंगरलगायतले अवरोध पुर्‍याउने गर्छन् । काग र चिलजस्ता पक्षी ठोक्किने गर्छन् । बारम्बार ठूलो दुर्घटना हुनबाट विमान जोगिँदै आएका छन् । दुई वर्षअघि अग्नि एयरको विमान अवतरणका क्रममा पांग्रामाथिको कभरमा नीलगाई ठोक्किएको थियो । ठक्करबाट नीलगाई दुई टुक्रा भएको थियो ।

विमानस्थलमा बारम्बार अवरोधका कारण परिसरमा वर्षौंदेखि हुर्किंदै आएको झाडी र आसपासका मानव बस्ती मुख्य भएको औंल्याइएको छ । एयरपोर्टले १ सय बिघा ओगटेको छ । धावनमार्ग, विमानस्थल भवन, सडक र पार्किङस्थलबाहेक सबै क्षेत्रफल ४/५ दशकसम्म झाडीले ढाकिएका थिए । अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चलेको छ । त्यसले गर्दा झाडी मासिने क्रममा छ । तर, झाडी र बुट्यान पूर्णरूपमा निर्मूल भएका छैनन् । त्यही झाडी र बुट्यान जनावरको मुख्य बासस्थान बनेको छ । जनावर दिउँसो झाडीमा लुक्छन् । साँझ र बिहान धावनमार्गमा निस्केर अवरोध गर्छन् ।

बस्ती पनि
पाँच दशकअघि जग्गा अधिग्रहण गरिँदाका विस्थापित मानव बस्ती विमानस्थल वरिपरि नै छन् । यहाँका स्थानीयको मुख्य पेसा कृषि र पशुपालन हो । उनीहरूका लागि बस्तुभाउलाई घाँस काट्ने मुख्य थलो विमानस्थल रहेको छ । स्थानीय घाँसदाउरा गर्न विमानस्थल आउँदा तारबार टुटाउने र प्वाल पार्नाले कुकुर र जनावर सजिलै प्रवेश गर्छन् । ‘विमानस्थलमा जंगली जनावर र पशुपक्षीको बिगबिगी छ,’ विमानस्थलका निर्देशक सुशील चित्रकारले भने, ‘यसको नियन्त्रण विमानस्थलको प्रयासले मात्रै सम्भव नभएकाले सरकार र अन्य निकायको पनि भूमिका महत्त्वपूर्ण छ ।’

उनका अनुसार वरिपरिका मानव बस्तीमा स्वास्थ्य, सरसफाइ र जनचेतना जगाउँदै उनीहरूको आयस्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउनु अति जरुरी छ । बस्तीमा खुला रूपमा वधशाला बनाइनु विमानस्थलको सुरक्षाका लागि अर्को चुनौती हो ।

‘विमानस्थल सुरक्षित बन्नका लागि आसपासको वातावरणले ठूलो महत्त्व राख्छ,’ टावर शाखामा कार्यरत प्राविधिक सूर्यबहादुर खत्री भन्छन्, ‘विमानस्थलको ३ देखि ५ किमि वरपर बधशाला र खुला रूपमा मासु काटिनु हुँदैन ।’ विमानस्थल नजिक ३ देखि ७ सय मिटर दूरीमा मासु पसल सञ्चालन गरिएका छन् । खुला रूपमा राँगा र पाडा काटिन्छन् । मासु व्यवसायी र खुला रूपमा काटिएका जनावरको फोहोर व्यवस्थित नगरी यत्रतत्र छिरलिदिँदा चिल, काग, कुकुर र स्याल बढेका हुन् ।

विमानस्थलको महत्त्व

यो रूपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोल्पा, प्यूठानलगायत जिल्लाका लागि पायक पर्ने विमानस्थल हो । लुम्बिनी अञ्चलका पहाडी जिल्लामा आउने अति विशिष्टदेखि सर्वसाधारण यसको प्रयोग गर्छन् । अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिकस्थल लुम्बिनीका कारण स्वदेशी मात्रै नभएर विदेशी अति विशिष्ट व्यक्तिको आवागमन भइरहन्छ ।

लुम्बिनीको सामीप्यकै कारण एसियाली विकास बैंकको सहयोगमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा छ । अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालनमा आएपछि लुम्बिनी आउने विदेशी यात्रु र अति विशिष्ट विदेशी यात्रु नेपालको अन्य विमानस्थलको प्रयोग नगरीकन सिधै भैरहवाको विमानस्थलमा ओर्लिनेछन् । ‘राष्ट्रिय तथा आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय जगतकै लागि महत्त्व राख्ने यो विमानस्थल वर्षौंदेखि जंगली जनावर र पशुपक्षीबाट असुरक्षित हुनु अति दु:खको विषय हो,’ स्थानीय पर्यटक व्यवसायी तथा नेपा: ट्राभल्सका सञ्चालक सञ्जय बजिमयले भने, ‘विमानस्थल सुरक्षित भएन भने यसले अन्तर्राष्ट्रिय जगतमै राम्रो सन्देश जानेछैन ।’

अर्कोतर्फ, अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सन् २०१७ को अन्तसम्म वा ०१८ को मध्यसम्म सञ्चालनमा आएपछि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मर्मत थालिने भएकाले अन्तर्राष्ट्रिय उडानहरू यही विमानस्थलबाट सञ्चालन गरिने योजना छ । ‘काठमाडौंको अन्तर्राष्ट्रिय उडानको विमान मौसम प्रतिकूल भएमा अवतरणका लागि पाइलट र यात्रुको रोजाइ भैरहवा विमानस्थल बन्नेछ,’ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माले भने, ‘भौगोलिक बनावटका कारण भैरहवा विमानस्थल उडान र अवतरणका लागि कुनै कठिनाइ नपर्ने विमानस्थल हो ।’ विमानस्थल सन् २०३३ मा पूर्ण क्षमतामा आएपछि वार्षिक ४० लाख विदेशी र २० लाख स्वदेशी गरी ६० लाख पर्यटकको आवागमन हुने दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाको अध्ययनले देखाएको छ ।

नियन्त्रण प्रयास
जनावरको अवरोध नियन्त्रण गरी विमानस्थल सुरक्षित बनाउन सरकारी र स्थानीय स्तरबाट पहल गरिएका छन् । विमानस्थलका निर्देशक चित्रकारले लामो समयदेखि यस्ता समस्या आएकाले समाधानका लागि विभागमा जानकारी गराउँदै आएको बताए । विभागका निर्देशक, विमानस्थल कर्मचारी, सुरक्षाकर्मी, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनासहितको एक साताअघि बसेको बैठकले आसपासका वधशाला नियन्त्रण, खुला रूपमा मासु काट्ने कार्यमा रोक लगाउने, फोहोर व्यवस्थापन गर्ने र जंगली जनावरबाट विमानस्थललाई सुरक्षित बनाउन विमानस्थल परिसरमा मानवीय गतिविधि बढाउने निर्णय गरेको छ ।

फोहोर व्यवस्थाप गर्न सिद्धार्थनगर नगरपालिकालाई र वधशाला नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अनुरोध गरिएको छ । विमानस्थलको पश्चिमतर्फ रहेको बुट्यान र झाडी फाँड्न थालिएको छ । सरसफाइ र घाँस काट्ने कामलाई निरन्तरता दिइएको छ । प्रत्येक दिन बिहान विमान अवतरण हुनुअघि जनावर र पक्षीलाई धपाउने गरिएको छ । नियमित रूपमा गाडीबाट गस्ती गर्ने गरिएको छ ।

सरकारी बेवास्ता
एक साताअघि अवतरण क्रममा झाडीमा धस्सिन पुगेको यती एयरको विमानमा आगलागी भएको भए निभाउन विमानस्थलमा दमकल थिएन । संवेदनशील स्थानमा उपलब्ध दमकल बिग्रेर थन्केको थियो । कर्मचारी आगलागी नियन्त्रण गर्न भवनमा राखिने साना यन्त्र ‘फायर स्टिङभिसर’ लिएर तैनाथ थिए । ‘दमकल चालु अवस्थामा नभएको जानकारी विभागलाई गराइएको थियो,’ निर्देशक चित्रकारले भने, ‘वैकल्पिक दमकल छैन । विमानस्थल आपैंmले खरिद गर्न बजेट छैन ।’ विमानस्थलमा उपलब्ध उपकरण हेर्ने सम्बन्धित विषयका दक्ष कर्मचारी नभएको उनले बताए । विमानको दूरी र दिशा देखाउने नेमिनेसन, रातमा अवतरण गर्दा धावनमार्गमा बालिने बत्ती पपिलाइट हेर्ने जनशक्ति छैनन् ।

पपिलाइटका तार अति पुराना भएकाले खिया लागेका छन् । ती बेलाबेलामा नबलेर समस्या हुने गरेको छ । विमानस्थल निर्माण भएको २०२२ तिर घेरिएका तार फेरिएका छैनन् । विमानस्थका अनुसार तारबार घेर्न मात्रै करिब ४० लाख रुपैयाँ खर्च लाग्छ । विमानस्थललाई केन्द्रबाट वार्षिक २० लाख रुपैयाँ मात्रै मर्मत खर्च उपलब्ध हुने गर्छ । केन्द्रबाट उपलब्ध बजेट भवनको रंगरोगन र शौचालय सरसफाइ आदिमा सकिन्छ ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position