पर्यटकीय तथ्यांकलाई पुनः सुचारु गर्ने तयारी

१ कात्तिक, काठमाडौं । विगत दुई वर्षभन्दा लामो समयदेखि नियमित अपडेट हुन छाडेको पर्यटकीय तथ्यांकलाई पुनः सुचारु गर्ने तयारी भएको छ । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत नेपाल भित्रने पर्यटकको तथ्यांक संकलन तथा प्रशोधनलाई नियमित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सोही प्रयोजनका लागि सफ्टवेयर निर्माणको काम भइरहेको विभागका वरिष्ठ अधिकृत सुदन सुवेदीले जानकारी दिए । बोर्डले अध्यागमन विभागसँगको सम्झौताअनुसार यस कार्यक्रमलाई कार्यान्वयन गर्ने उनको भनाइ छ । सफ्टवेयर निर्माण, तथ्यांक संकलन तथा विश्लेषणका लागि मात्र बोर्डले चालू आवमा २८ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

किन रोकिएको थियो अपडेट
अध्यागमन विभागले नेपाल आउने पर्यटक संख्या, प्रयोजन, बसाइ अवधि, आएको मुलुकलगायत तथ्यांक संकलन गर्नकै लागि कर्मचारी खटाएको थियो । पछिल्लो समय दुई वर्षअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएका कर्मचारीमाथि अख्तियार दुरुपयोगको अभियोग लागेपछि विभागले कर्मचारीको अभाव देखाउँदै नियमति अपडेट दिन छाडेको थियो । विभाग र बोर्डबीच असार ०७२ मा विभागले बोर्डलाई तथ्यांक उपलब्ध गराउने र त्यसको लागत बोर्डले व्यहोर्ने सहमति भएको थियो । सोही सम्झौताबमोजिम नै तथ्यांक प्राप्त हुने बोर्डको भनाइ छ ।

मन्त्रालय नै सुस्त छ
अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्यागमन विभागबाट प्राप्त तथ्यांकलाई हरेक वर्षको अन्त्यमा अपडेट गर्दै आएको छ । तर, मन्त्रालयको कार्यशैली भने अत्यन्त सुस्त छ । मन्त्रालयले सन् २०१५ को विस्तृत तथ्यांक सन् २०१६ को मध्यतिर मात्र सार्वजनिक गरेको थियो । मन्त्रालयमा उपसचिव नेतृत्वमा तथ्यांक शाखा रहेको छ । शाखामा तथ्यांक अधिकृत रहने व्यवस्था छ । तर, पर्यटनसँग आवश्यक तथ्यांक भने शाखासँग छैन । नेपाल पर्यटन बोर्ड र मन्त्रालय दुवै निकाय पर्यटक आगमन तथा बहिर्गमनसम्बन्धी तथ्यांकका लागि अध्यागमन विभागसँग आश्रित छन् ।

तथ्यांक अपडेट नहुँदा के असर ?
हरेक महिना पर्यटक आगमनमा हुने उतारचढावका आधारमा अन्तर्राष्ट्रिय पर्यटन बजारको ट्रेन्ड मूल्यांकन गरिन्छ । सोही आधारमा आगामी महिनाको प्रवद्र्धन अभियान तय गरिन्छ । नेपालमा भने अघिल्लो वर्षको यकिन तथ्यांक आइपुग्दा नयाँ वर्षको पनि आधा समय घर्किसकेको हुन्छ । यसबाट पर्यटन क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ता, यसबारे अध्ययन गरिरहेका शोधकर्ता हतोत्साही हुने जानकारहरू बताउँछन् । पर्यटन व्यवसायीहरूका अनुसार विदेशका कार्यक्रममा सञ्चारकर्मीको पहिलो जिज्ञासा पर्यटक आगमनको तथ्यांक कति छ भन्ने नै रहन्छ ।साभार:नयाँ पत्रिका


Facebook Comment


No ads found for this position