हात्तीवन रिसोर्टमा खुलेआम ड्रग्स पार्टी

नवराज मैनाली
१ कात्तिक, काठमाडौं ।
दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो संख्याका विदेशी पर्यटक हात्तीवन रिसोर्टमा जम्मा थिए । रिसोर्टमा दसैँको अवसरमा कुनै कार्यक्रम भएर उनीहरू गएका थिएनन्, ड्रग्स पार्टी आयोजना भएकाले उनीहरू रिसोर्टमा पुगेका थिए ।

हात्तीवन रिसोर्टमा आयोजित पार्टीमा गाँजा, चरेस मात्र होइन, एफफेटाइमानजस्ता महँगा लागुऔषधको समेत कारोबार र सेवन खुला गरिएको थियो । पार्टीमा सहभागीहरू बिहान २ बजेसम्म लागुऔषधमा लट्ठिएका थिए । नशाको तालमा चर्काे गीत बजाएर उनीहरू नाचिरहेका थिए । २ बजे प्रहरीले जबर्जस्ती पार्टी बन्द गराएको थियो ।

लागुऔषध कारोबारको आरोपमा प्रहरीले रिसोर्टका मेनेजर तथा आयोजक तीनजनालाई पक्राउ गरेको थियो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै प्रहरीले उनीहरूलाई छाडेको छ । मुद्दा चलाउने आधार भए पनि दबाबका भरमा उनीहरू छुटेको स्रोत बताउँछ । तीन दिन प्रहरी हिरासतमा बसेपछि उनीहरू छुटेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसएसपी गणेश केसीले ड्रग्स पार्टी चलिरेहको सूचनाका आधारमा रिसोर्टमा छापा हानिएको बताए । तर, अप्रेसन सफल नभएको उनको भनाइ छ । स्रोतका अनुसार प्रहरीले सो पार्टीबाट केही एमफेटाइमान लागुऔषधसमेत बरामद गरेको थियो । गाँजा र चरेस त सबैजसोले सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्टीमा प्रवेशशुल्क नै एक हजार पाँच सय रुपैयाँ राखिएको थियो । होटेलमा बस्नेहरूलाई प्याकेजमा छुट दिइएको स्रोत बताउँछ । पहिलोपटक यस्तो पार्टीमा नेपाल प्रहरीले छापा हाने पनि प्रहरीले रिसोर्ट सञ्चालक र पार्टीका आयोजकलाई भने कारबाहीको दायरामा ल्याउन सकेन ।

ठाउँ–ठाउँमा हुन्छन् यस्ता पार्टी
ट्रान्स पार्टीका नामले चिनिने यस्ता पार्टी विभिन्न ठाउँमा पटक–पटक हुने गरेको छ । कन्सर्ट तथा सांस्कृतिक कार्यक्रमको नाम दिएर खुलेआम यस्ता पार्टी हुने गरेका छन् । तर, प्रहरीले यस्ता पार्टीतर्फ चासो दिन सकेको छैन । पोखराआसपासका होटेल तथा सिन्धुपाल्चोकको सुकुटेमा पटक–पटक यस्ता पार्टी हुने गरेको स्रोत बताउँछ । नेपालमा हरेक वर्ष यस्ता चार–पाँच ठूला पार्टी हुने गरेका छन् । सानातिना पार्टी भने ठमेलमा समेत हुने गरेका छन् ।

आयोजकले कमाउँछन् आधा करोड
होटेलहरूकै मिलेमतोमा हुने ड्रग्स पार्टीबाट आयोजकले एकै दिन ४०–५० लाखसम्म कमाउने गरेका छन् । तर, पार्टी निकै गोप्य रूपमा आयोजना हुने गरेको छ । ‘यो कर्पोरेट क्राइम हो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘कतिपय पर्यटक लागुऔषध सेवनकै लागि नेपाल आउने भएकाले पनि यस्ता पार्टी बढ्दै गएका छन् ।’

भाइबर, ह्वाट्स एपबाट गोप्य समूह बनाएर यस्ता पार्टीको मार्केटिङ हुने गरेको छ । सूचना चुहिने भएकाले अन्तिम समयमा मात्र स्थानबारे जानकारी दिने गरिन्छ । यस्ता पार्टी निरन्तर १८–२० घन्टासम्म चल्ने र लागुऔषधको नशामा युवायुवती अर्धचेत अवस्थामा हुन्छन् ।

सांस्कृतिक कार्यक्रम भनेर प्रहरीलाई झुक्याएर पटक–पटक यस्ता पार्टी हुने गरेको स्रोत बताउँछ । यस्ता पार्टीको सूचना पाउन पनि कठिन हुने प्रहरी अधिकारी बताउँछन् । पहिलोपटक प्रहरीले ट्रान्स पार्टीको अप्रेसन गरे पनि सफल भएन । साभार :नयाँ पत्रिका


Facebook Comment


No ads found for this position