पोखरीको गुरूयोजना बनाउन सुरू

इलाम, ३ कात्तिक । सूर्योदय नगरपालिका– १३ तारगाउँस्थित ऐतिहासिक थलथले पोखरी पुनरूत्थानका लागि गुरूयोजना निर्माण गर्न थालिएको छ ।

उक्त गुरूयोजना सूर्योदय नगरपालिकाले आफ्नै पहलमा बनाउन थालेको हो । गुरूयोजना निर्माणका लागि रू छ करोड ५० लाख लाग्ने नगरपालिकाले जनाएको छ । उक्त रकम जुटाउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा नगरपालिकाले योजना पेस गरेको कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बताउनुभयो ।

पोखरी पुनरूत्थानका लागि यतिखेर स्थानीय सक्रिय भएका छन् । पोखरी आसपासमा कन्याम र पाथिभराजस्ता पर्यटकीय ठाउँ भएकाले यसको निर्माणले पोखरीदाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने स्थानीय बुद्ध कार्की बताउँछन् ।

कुल २९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पोखरीको २५ रोपानी क्षेत्रफलमा पानी रहने छ । नगरपालिकाले वातावरणमैत्री ड्याम निर्माणका लागि गुरूयोजनामा प्रस्ताव गरेको छ । सजावट, वरिपरी घुम्ने ठाउँ, कम्पाउन्ड बनाउन र पार्किङस्थलको व्यवस्था गर्न केही बढी रकम लाग्ने जनाएको छ ।

पोखरी निर्माणको पहल थालेपछि नगरपालिकाले त्यसक्षेत्रमा होमस्टे सञ्चालनका लागि स्थानीयवासीलाई तालिम पनि दिइएको छ ।

मेची राजमार्गको हर्कटेबाट साढे चार किलोमिटर अगाडी पुगेपछि थलथले पोखरी आउँछ । राजमार्गको नजिकै भएकाले पनि त्यस क्षेत्रलाई सहजै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने भएकाले पोखरी निर्माणमा राज्यले लगानी गर्नुपर्ने स्थानीय शिव बस्नेत बताउनुहुन्छ ।

“यो पोखरी बनाउने वित्तिकै यहाँ पर्यटक आउन थाल्छन्” बस्नेतले भन्नुभयो “पहिले पोखरीनै भएको यो ठाउँ हो, बनाउन पनि धेरै समय लाग्दैन ।” पोखरी बनिएपछि पानी रिचार्ज हुने भएकाले त्यस भन्दा तल्लो क्षेत्रमा पानीको समस्या पनि हुने स्थानीय बताउँछन् ।

पोखरीको महत्व नबुझेर संरक्षणमा नलागेका इलामका नागरिक अहिले यसको महत्व बुझेर पोखरीको संरक्षण र पुनरूउत्थानमा जुटेका छन् । सरकारले ‘एक गाविस, एक पोखरीको’ नीति लिएपछि इलामका धेरै ठाउँमा पोखरीको पुनरूउत्थान भइरहेको छ ।

जीतपुरको झ््याउ पोखरी, इरौँटारको हाँस पोखरी, श्रीअन्तुको अन्तु पोखरी, जमुनाको ढाप सिमसारलगायतमा संरक्षणका काम भइरहेको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले पोखरी संरक्षणमा लगानी गर्दैछ ।


Facebook Comment


No ads found for this position