पर्यटकको गन्तव्य बन्दै झोलुङ्गे पुल

शेरबहादुर सिंह

भीमदत्तनगर, ४ कात्तिक । सरकारले महाकाली नदी पारी दोधारा–चाँदनी नगरपालिकाका बासिन्दाको आवागमन सहजताका लागि निर्माण गरेको झोलुङ्गे पुल पछिल्ला वर्षमा पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

भीमदत्तनगरपालिकाको पिपरिया तथा दोधारा चाँदनीको बीच भएर बग्ने महाकाली नदीमा निर्माण गरिएको एक हजार ४५६ मिटर लम्बाइको उक्त झोलुङ्गे पुल एसियाकै दोस्रो लामो पुल मानिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकन भ्रमणका लागि दैनिक आउने गरेका छन् ।

विसं २०६१ मा निर्माण गरिएको सो पुल दोधारा चाँदनीका बासिन्दालाई सदरमुकाम भीमदत्तनगर तथा देशका अन्य भूभागसित जोड्ने एक मात्रै विकल्पका रुपमा रहेको छ । “भारतीय भूभाग वनबासा भएर दोधारा चाँदनी आवतजावत गर्दा निकै कष्ट हुन्थ्यो ।,” झोलुङ्गे पुल छेउमै होटल व्यवसाय गर्दै आएका वीरसिंह धामीले भन्नुभयो– “झोलुङ्गे पुल बनेपछि आवागमनमा सहजता आउनुका साथै हाम्रो ठाउँ पर्यटकीयस्थल बन्न पुग्यो ।”

भीमदत्तनगर बजारबाट १० किलोमिटरको पश्चिम दूरीमा रहेको झोलुङ्गे पुल पुग्न पाँच किलोमिटर वर शुक्लाफाँटा वन्यजन्तु आरक्ष र नेपालकै पहिलो राना थारु होमस्टे रहेका कारण समेत यहाँ पर्यटक आकर्षित भएका हुन् ।

दैनिक देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक भ्रमणमा आउने गरेका स्थानीय होटल व्यवसायी मोहनबहादुर सिंह बताउनुहुन्छ । “विद्यार्थी शैक्षिक भ्रमणका लागि तथा अन्य सङ्घ संस्थाको समूह यहाँ बढी मात्रामा आउँछन्,” उहाँले भन्नुभयो– “पुल छेउछाउमा बस्न र खानाको उचित व्यवस्था भए पर्यटकको आवागमन अझ बढ्न सक्छ ।”

सामान्य खाजा पसल बाहेक पुलको वारी र पारीपट्टि उचित व्यवस्थापनसहितको होटल सञ्चालनमा आउन सकेको छैन । “रमाइलो गर्दै पुलमा फोटो खिचाउनेको भीड कहिल्यै कम हुँदैन,” अर्का व्यवसायी दीलबहादुर सिंहले भन्नुभयो । पछिल्लो समय प्रचारप्रसारका कारण समेत पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको उहाँको भनाइ छ ।

झोलुङ्गे पुल अवलोकनका लागि गर्मीयाममा भन्दा हिउँदमा पर्यटक बढी आउने गरेका झोलुङ्गे प्रहरी चौकी पोष्टका प्रहरी सहायक निरीक्षक प्रेमसिंह भाटले भन्नुभयो । “हिउँदमा त एकै दिन ६०÷६५ वटा बसमा आन्तरिक पर्यटक घुम्न आउँछन् ।” उहाँले भन्नुभयो– “सामान्य समयमा दैनिक दुई÷तीन वटा बसमा पर्यटक आउँछन् ।”

पुलमा रमाउँदै गरेकी बुटवलकी विद्यार्थी स्नेहा पौडेल झोलुङ्गे हेर्न पाउँदा खुसी लागेको बताउनुहुन्छ । “वेला वेलामा पुल मर्मत गर्नुपर्ने अवस्था रहेछ,” उहाँले भन्नुभयो । पहिलो पटक आउनुभएका पौडेल दोस्रो पटक पनि शैक्षिक भ्रमणका लागि झोलुङ्गे पुललाई नै गन्तव्य बनाउने बताउनुहुन्छ ।

पुल बन्नुअघि दोधारा चाँदनीका बासिन्दा महाकाली नदी तर्न डुङ्गाको सहारा लिने गर्थे । “अझै पनि ठूला सवारीसाधनसहित दोधारा चाँदनी आउजाउ गर्न गाह्रो नै छ ।,” स्थानीयवासी तथा नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीले भन्नुभयो– “ठूला सवारीसाधनसहित भारतीय बाटो भएर आवत जावत गर्दा निकै सास्ती खेप्नुपर्छ ।”

पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह पुलसँगै छेउछाउमा अन्य भौतिक पूर्वाधार निर्माण भए झोलुङ्गे पुलमा पर्यटकको आवागमन बढ्ने बताउनुहुन्छ । “पर्यकटलाई उचित सोबासको समेत व्यवस्था भए राम्रो हुन्छ ।,” उहाँले भन्नुभयो– “पर्यटकको सुविधाका लागि सडक, बिजुली लगायतका पूर्वाधारमा ध्यान दिनुपर्छ ।” पर्यटनको विकासका लागि यहाँको निजी क्षेत्र जाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पुलछेउमा होटल व्यवसाय सञ्चालन गर्दै आएका स्थानीयवासी श्यामबहादुर थापाले झोलुङ्गे पुलको प्रचारप्रसारमा ध्यान दिन सुझाव दिनुुहुन्छ । बर्सेनि पुल हेर्न आन्तरिक र बाह्य गरी करिब एक लाख पर्यटक यहाँ आउने गरेको बताइन्छ ।

मर्मत सम्भारको अभाव

झोलङ्गे भएर तस्करी गर्ने गिरोहका कारण पुल जीर्ण बन्दै गइरहेको छ । मोटरसाइकलमा अत्यधिक भार भएका सामग्री ढुवानी गर्दा पुल जीर्ण बन्दै गएको हो ।

“रातभर तस्करी हुन्छ,” एक स्थानीयवासीले गुनासो गर्नुभयो । मर्मत सम्भारको अभावले पुल जीर्ण बन्दै गएको हो । पुल मर्मतका लागि स्थानीयवासी पटक पटक जिल्ला विकास समिति तथा विभिन्न निकायमा धाउँदै आएका छन् ।

सुदूरपश्चिमको पर्यटकीय गन्तव्यका रुपमा परिचित झोलुङ्गेको अवस्था देखेर स्थानीयवासी चिन्तित छन् । जिल्ला विकास समितिले पुलको राजस्व सङ्कलनका लागि ठेक्कामा दिन ध्यान दिन्छ तर मर्मत सम्भारका लागि आनाकानी गर्ने गरेको स्थानीयवासी धरणीप्रसाद भट्टको आरोप छ । “पुल रहिरहे पो पर्यटकको आवत जावत होला, नत्र यहाँ को नै पो आउलान र ?” उहाँले भन्नुभयो ।


Facebook Comment


No ads found for this position