डोल्पालीको गुनासो

डोल्पा (दुनै), ५ कात्तिक । दुर्गम स्थान देखाएर कर्मचारीले आफ्नो जिम्मेवारीवाट पन्छिने गरेको सरोकारवाला बताउँछन् । विभिन्न असुविधा देखाएर कार्यालयमा कर्मचारीको नियमित उपस्थिति नहुने कुरा डोल्पालीका लागि नौलो होइन, पछिल्लो समयमा त अझैं बढी जनसरोकार हुने विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरु कार्यालयमा नबसेपछि यहाँका सेवाग्राही प्रभावित भएका छन् ।

भौगोलिक विकटता, चाडपर्व, गोष्ठी, सेमिनार, भ्रमणलगायतका विभिन्न बाहानामा कार्यालयमा नबस्ने कर्मचारीविरुद्ध नागरिक समाज डोल्पाले “हेलो सरकारमा” गुनासो टिपाएर यसप्रति सरकारलाई ध्यानकार्षण गराएको छ । यसरी “हेलो सरकार” गुणासो टिपाएको डोल्पामा योे पहिलो घटना हो ।

जिल्ला प्रशासन कार्यालयमा विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीलाई नियमित गराउन लिखित तथा मौखिक रुपमा पटक÷पटक आग्रह गर्दा पनि कुनै प्रगति नभएपछि बाध्य भएर “हेलो सरकारमा”गुनासो गर्नुपरेको समाज जिल्ला अध्यक्ष शेरबहादुर बूढाले बताउनुभयो ।

कार्यालयमा कर्मचारी नबस्दा दुर्गम डोल्पाली जनताले पाउनुपर्ने सरकारी सेवा सुविधाको प्रत्याभूति गर्न नपाएको विषयलाई लिएर गुनासो टिपाएको बूढाले बताउनुभयो ।

यसवारे प्रधानमन्त्री कार्यालयबाट क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयमासमेत आवश्यक कारबाहीका लागि निर्देशन दिइसकेको जानकारी आएको अध्यक्ष बूढाले बताउनुभयो ।

दसँै बिदा हुनुभन्दा अगाडि तथा बिदा सकिसकेपछि कर्मचारीको उपस्थिति कार्यालयमा नदेखिएकाले डोल्पाली जनता विभिन्न सेवा सुविधाबाट वञ्चित हुनु परेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।

स्वीकृति बिना नै कर्मचारी बिदामा बस्ने गरेको पाइएको छ । धेरैजसो कर्मचारीले त आठ महिनासम्म पनि कार्यालयमा नबस्ने गरेको पाइएपछि हेलो सरकारमा गुणासो टिपाएको अध्यक्ष बूढाको दावी छ ।


Facebook Comment


No ads found for this position