आन्तरिक पर्यटकको भीड बढेपछि …..

सन्तोष पोखरेल

पोखराका राम गुरुङसहित सातजनाको टोली केही दिनअघि मनाङस्थित तिचिलो ताल (४,९१९ मिटर) पुग्यो। पोखराबाट लमजुङ हुँदै माथिल्लो मनाङको खाङसारसम्म मोटरसाइकल र त्यसपछि पैदल हिडेर टोली तिलिचो घुमेर पाँच दिनमै पोखरा फर्कियो।

गुरुङ जस्ता धेरै आन्तरिक पर्यटक बिदा सदुपयोग गर्न हिमालपारिको जिल्ला मनाङ र मुस्ताङ पुगे। मोटरबाटो पुगेसँगै मनाङ र मुस्ताङमा आन्तरिक पाहुनाको भीड लाग्न थालेको छ। त्यसबाहेक पोखरा आसपासका छोटो दुरीको पदयात्रा रुटमा पनि आन्तरिक पाहुनाको भीड लागेको स्थानीय व्यवसायीले बताएका छन्।

lake‘गत पुसमा तिलिचो पुग्ने लक्ष्य थियो। तर, हिमपहिरोका कारण बेसक्याम्पबाट फर्किनुपर्‍यो। यो पटक तालमै पुगेर रमाउन पायौं,’ गुरुङले भने, ‘पहिलोपटक तिलिचो पुग्न पाउँदा फरक आनन्द अनुभव गर्‍यौं। ताल र हिमाली शृंखलाको प्राकृतिक सुन्दरताले मनै लोभ्यायो।’ लमजुङको बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म चार वर्षअघि नै मोटर पुगेको थियो। चामेदेखि माथिल्लो मनाङको खाङसारसम्म ३१ किलोमिटरमा पनि दुई वर्षदेखि मोटर गुडिरहेका छन्। मोटरबाटोले यात्रा छिटो र सहज भएको उनले बताए।

‘हामी एकै दिन पोखराबाट खाङसार पुग्यौं। फर्किंदा पनि पोखरासम्मै एकै दिनमा आउन सक्यौं,’ उनले भने, ‘चट्टाने भिरको सडकमा मोटरसाइकल कुदाउँदाको मज्जा पनि बेग्लै भयो। लामो समयदेखि तिलिचो पुग्ने सपना बल्ल पूरा गर्न पाइयो।’ उनका अनुसार यतिबेला मनाङमा आन्तरिक पाहुनाको निकै भीड लागेको छ। कतिपय पदयात्रामा छन् भने महिला र बालबालिका गाडीमै मनाङसम्म उक्लेका छन्। भाडाका सवारीमा पनि उस्तै भीड रहेको गुरुङले बताए। स्थानीय जीपमा यात्रा गर्ने पाहुना बाक्लै रहेको उनले बताए।

आन्तरिक पाहुनाको भीड बढेपछि त्यो क्षेत्र घुम्न जानेले बसोबास र खानपिनमा समस्या भोग्नुपरेको उनले बताए। ‘हामी बसेको दिन बेसक्याम्पको होटलमा करिब एक सयजना आन्तरिक पाहुना डाइनिङ रुममै सुतेका थिए। सीमित होटलमा पाहुनाको भीड लागेपछि बसोबासमा समेत समस्या भयो,’ उनले भने, ‘स्थानीय व्यवसायीले सकेसम्म विदेशीलाई पहिलो प्राथमिकता दिने भएकाले पनि आन्तरिक पाहुनाले समस्या झेल्नुपरेको छ। आन्तरिक पाहुना होटल बुकिङ नै नगरी बस्न जाने भएकाले पनि समस्या खेप्नुपरेको गुरुङको भनाइ छ। आन्तरिक पर्यटक साइकलमा समेत मनाङ पुग्ने गरेको उनले बताए।

tilicho-talपर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष बिनोद गुरुङ पनि अहिले आन्तरिक पाहुनाको भीड बढेको बताउँछन्। ‘हुन त यो बेला विदेशीको पनि सिजन हो। तर, आन्तरिक पाहुनाको पनि भीड लागेको छ,’ उनले भने, ‘मोटरबाटोले आन्तरिकलाई हिमालपारि डोर्‍यायो।’

उनका अनुसार तिलिचो सहित थोराङला भन्ज्याङ, गंगापूर्ण ताल त्यही मार्गमा पर्ने भएकाले आन्तरिकको भीड बढी लागेको छ। घुम्न पुगेका आन्तरिक केही तिलिचो पुगेर फर्कन्छन् भने कतिपय थोराङला भन्ज्याङ (५,४१६ मिटर) पार गरेर मुस्ताङ जाने गरेका छन्।

गुरुङका अनुसार मोटर पुग्नुअघि मनाङमा यो बेला फाट्टफुट्ट मात्र स्वदेशी पाहुना पुग्थे। तर, मोटर चल्न थालेपछि आन्तरिकको घुइँचो लाग्न थालेको छ। गाडी रिजर्भ गरेर, निजी सवारी र मोटरसाइकलमा हुइँकिँदै युवायुवती अहिले मनाङ उक्लिइरहेको उनले बताए। ‘मोटरबाटोले घुम्ने अवधि कम हुनेलाई सहज भएको छ। ४–५ दिनमै मनाङ घुमेर फर्किन सकिने अवस्था छ। त्यसले आवागमन सहज बनाएको छ,’ उनले भने। अध्यक्ष गुरुङका अनुसार यो बेला पोखरा, चितवन, काठमाडौंका युवा बढी मात्रामा घुम्नका लागि मनाङ पुगेका छन््। आन्तरिक पर्यटकको तथ्यांक नराखिने भएकाले पनि यकिन संख्या थाहा नहुने व्यवसायीको भनाइ छ।

tilocho-lakeहिमालपारिको अर्काे जिल्ला मुस्ताङमा पनि अहिले आन्तरिक पाहुनाको भीड बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका कर्मचारी अर्जुन गुरुङका अनुसार आन्तरिक पर्यटक बढेपछि लोमान्थाङमा रौनक थपिएको छ। ‘यो बेला आन्तरिक पर्यटक निकै बढेका छन्। केही वर्षअघिसम्म यो बेला खासै आन्तरिक पर्यटक आउँदैनथे। तर, अहिले भीड छ,’ उनले भने, ‘मोटरबाटो पनि पहिलेभन्दा केही सजिलो भएको छ। त्यसले गर्दा पनि आगमन बढाएको हो।’

उनका अनुसार मोटरसाइकलमा पुग्ने धेरै आन्तरिक छन्। युवायुवती बढी मोटरसाइकल र गाडी रिजर्भ गरेर लोमान्थाङ उक्लेको उनले बताए। स्वदेशी बाहेक विदेशीको पनि यो बेला भीडभाड रहेको उनको भनाइ छ। ‘आइतबार मात्र ६४ जना विदेशी आइपुगेका छन्। त्यो भन्दा बढी संख्यामा आन्तरिक पर्यटक उक्लेका छन्,’ उनले भने। लोमान्थाङका होटलमा पाहुना खचाखच रहेको उनले जानकारी दिए।

लोमान्थाङका पर्यटन व्यवसायी इन्द्रधारा विष्टका अनुुसार यो पटकको दसैंको बिदा मुस्ताङका लागि निकै राम्रो भएको छ। लोमान्थाङका १२ वटा होटलमा करिब १ सय १० जति कोठा छन्। २ सय ५० जना क्षमताका ती होटलमा पाहुनाको भीड लागेपछि बास पाउन मुस्किल परेको छ। ‘होटलमा बास नपाएर पाहुना होमस्टेमा बस्न गएका छन्। ‘व्यावसायिक रुपमा होमस्टे सञ्चालन नभए पनि पाहुना बढेपछि हामीले घरघरमा बस्ने व्यवस्था मिलाएका हौं,’ उनले भने, ‘जसोतसो व्यवस्थापन गरेका छौं। सोचेभन्दा बढी आन्तरिक पाहुना पुगेका छन्।’

tilochoविष्टका अनुसार यो वर्ष सबैभन्दा बढी आन्तरिक पाहुनाको भीड लाग्नुको कारण कोरला नाकाबारे अधिक प्रचारप्रसार हो। त्यसबाहेक मोटरबाटो मर्मत भएर सहज भएको छ। पोखरादेखि मुस्ताङसम्म सिधा बस सेवा सञ्चालन गरिएको छ। ‘सबैतिरबाट लोमान्थाङको प्रचारप्रसार भएकाले पनि आन्तरिक पाहुनाको भीड लागेको हो,’ विष्टले भने, ‘लामो समयदेखि पर्यटक अभाव खेपेका व्यवसायीले यो पटक आन्तरिकबाट लाभ लिएका छन्।’साभार नागरीक


Facebook Comment


No ads found for this position