छिन्नमस्ता मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग

सप्तरी, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ ।

सप्तरी जिल्लावासीका तर्फबाट छिन्नमस्ता गाविसका निर्वतमान अध्यक्ष सत्यनारायण यादवले मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र दिँदै सो माग गर्नुभएको हो ।
अनुरोधपत्रमा छिन्नमस्ता– राजविराज– रुपनी– गाईघाट सडक निर्माणमा पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने, राजविराज विमानस्थल नियमित रुपमा पुनःसञ्चालन गरिनुपर्ने, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको विकास गर्नुपर्ने, छिन्नमस्तामा रहेका गोविन्दपुर र बनैनियाँ छोटी भन्सार पुनःसञ्चालन गर्नुपर्ने, छिन्नमस्ता मन्दिरबाट ३० किमी दूरीमा रहेको निर्मली रेल्वे स्टेसन विस्तार गरी छिन्नमस्ता गाविसको सीमासँग जोड्नुपर्ने उल्लेख छ ।

त्यस्तै मन्दिर परिसरमा सुविधासम्पन धर्मशाला र अतिथि गृह, राजविराज सडकको सम्पूर्ण निर्माण, स्वास्थ्य चौकीमा चिकित्सकको दरबन्दी, एम्बुलेन्सको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
जिल्लाको एक मात्र संस्कृत विद्यालय प्लस टुमा परिणत गर्नुपर्ने, छिन्नमस्ता, बनैनियाँ र शम्भुनाथ सडक निर्माण गर्नुपर्ने, राजविराजस्थित राजरङ्गशाला पुनःनिर्माण गर्नुपर्ने र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल स्तरोन्नति गर्नुपर्ने लगायत माग पनि गरिएको छ ।


Facebook Comment


No ads found for this position