पूर्वमा पर्यटक आगमन बढ्न थालेसँगै स्तरीय होटेल खुल्ने क्रम बढे

गणेश लम्साल
केही वर्षयता पूर्वमा पर्यटक स्तरीय होटलको संख्या वृद्धि हुन थालेको छ । पर्यटकीय क्षेत्रमा पर्यटक आगमन बढ्न थालेसँगै पूर्वमा स्तरीय होटेल खुल्ने क्रम बढेको हो ।

hotel-660x330०७२-७३ मा १२० वटा होटेल खुले
राष्ट्र बैंक विराटनगरका अनुसार पूर्वमा आव ०७०-७१ मा पर्यटकीय स्तरका होटेल संख्या ९७ रहेकामा आव ०७२-७३ मा बढेर १ सय २० वटा पुगेको छ । आव ०७१-७२ मा त्यस्ता होटेलको संख्या ११४ थियो ।

राष्ट्र बैंक विराटनगरका निर्देशक रामु पौडेलले समस्या र चुनौती भए पनि पर्यटकीय स्तरीय होटेलको संख्या बढेपछि पूर्वको पर्यटकीय क्षेत्रको सेवाको गुणस्तरमा सुधार आउन थालेको जानकारी दिए ।

उनका अनुसार राष्ट्र बैंकले गरेको अध्ययनअनुसार मोरङ र इलाममा तारेस्तरका होटेल थपिने क्रम जारी छ ।  विराटनगर, धरान, धनकुटा, हिले, बिर्तामोड, काँकडभिट्टा, इलाम, ताप्लेजुङ, फिदिमलगायतका सहरमा पर्यटक स्तरका होटेल खुल्ने क्रम पछिल्लो समय बढ्न थालेको छ ।

बढ्दै पर्यटक
पर्यटन सेवामा सुधार हुन थालेसँगै पर्यटक आगमन संख्या पनि वृद्धि भएकाले आगामी वर्षमा पूर्वमा पर्यटकीय होटेल संख्यामा १० प्रतिशत वृद्धि हुने अनुमान राष्ट्र बैंकको छ ।

मनोरञ्जनात्मक प्राकृतिक सुन्दरता र धार्मिक दृष्टिले प्रसिद्ध पूर्वका पर्यटकीय क्षेत्र धनकुटा, इलाम, झापा, ताप्लेजुङ, सुनसरीलगायतका जिल्लामा पर्यटक आगमन वृद्धि भएपछि होटेल संख्या पनि बढिरहेको छ ।

यसैगरी, औद्योगिक र व्यापारिक नगर विराटनगर, इटहरी, धरानलगायतका सहरमा पनि स्तरीय होटेल खुलिरहेका छन् । पूर्वको प्रसिद्ध धार्मिक र प्राकृतिक स्थल पछिल्लो समय भारतीय पर्यटक आकर्षणमा पर्न थालेका छन् ।

पूर्वमा आव ०७२-७३ मा ५७ हजार ७ सय ५५ जना पर्यटक आएका थिए । आव ०७०-७१ मा पर्यटक आगमन संख्या ४९ हजार ३ सय ६० मात्र थियो ।

पूर्वाधार विकासमा जोड
पूर्वमा पर्यटनको सम्भावना बोकेका दुर्गम स्थानसम्म सडक, सञ्चार, विद्युत्जस्ता अतिआवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सकिए पर्यटक आगमनमा अझै वृद्धि हुने अनुमान राष्ट्र बैंकको छ ।

तेस्रो मुलुकबाट आउने पर्यटक संख्या बढाउन सीमा नाका जोगबनीमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने पर्यटन व्यवसायी बताउँछन् ।/नयाँ पत्रिका


Facebook Comment


No ads found for this position